Logo

लाञ्छना लगाउने प्रयास नगर्न काँग्रेसलाई ओलीको चुनौती



 

काठमाडौँ, २ जेठ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टि-स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाउनुभएको छ।

सरकारमा रहँदा टि-स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप काँग्रेसले लगाइरहेका बेला उहाँले सो आरोप लगाउनुभएको भएको हो।

बुधबार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको तत्कालीन सरकारले १९ विगाहा र ५१ विगाहा टि-स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानबिन गर्नुपर्ने मागसमेत गर्नुभयो।

उहाँले काँग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि बताउनुभयो। ओलीले तत्काल संसद बैठक सुचारु गराउन पनि काँग्रेसलाई दबाब दिनुभयो। काँग्रेसले गरिमामय संसद र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरुद्ध गर्न नहुने ओलीको जिकिर थियो।

उहाँले भन्नुभयो, ‘‘म भन्न चाहन्छु,५१ विगाहा र १९ विगाहा गरेर ७० विगाहा जमिन त्यही गिरीबन्धु टि-स्टेटको कमिसन खाएको बेच्न दिएको कुरामा छानबिन हुनुपर्छ। अब हामी नेपाली काँग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन। नेपाली काँग्रेसका गरेका बद्मासीको बारेमा हामी कुरा उठाउँछौं। हामीले सुनिरहनुपर्ने, काँग्रेस कराइरहनुपर्ने हुन्छ रु अब काँग्रेसका बकवास सुनिरहन हामी तयार छैनौं। यो देशको बहुमूल्य समय यस प्रकारले कुण्ठाग्रस्त भएर खेर फाल्नु हुँदैन।’

अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि काँग्रेसलाई चेतावनी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्