Logo

विद्यार्थी अवरोधले मेची क्याम्पसको स्वायत्तता कार्यक्रम संकटमा



तारामणि सापकोटा
झापा, १७ साउन । विद्यार्थीको अवरोधले मेची बहुमुखी क्याम्पस भद्रपुरको स्वायत्तताको कार्यक्रम संकटमा परेको छ ।
स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसको स्वायत्तताको खारेजीको माग गर्दै आन्दोलन सुरु गरेपछि स्वायत्तताको कार्यक्रम संकटमा परेको हो । क्याम्पसले विद्यार्थीको सहमति बिना स्वायत्तता कार्यक्रम लागु गरेको भन्दै स्ववियूले खारेजीको माग गरेको छ । स्ववियूले स्वायत्तताको बिरोध गर्दै आज हस्ताक्षर अभियान संचालन गरेको छ । स्ववियू सभापति भुवन बुढाथोकीले स्वायत्तताले विद्यार्थीको शुल्क वृद्धि हुने भएकाले स्वायत्तताको खारेजीको माग गरेको बताए । उनले स्वायत्तताले विद्यार्थीको भविश्य अन्योलमा परेको आरोप लगाए ।
क्याम्पस प्रसाशनले भने विद्यार्थीको अरोप अस्वीकार गरेको छ । क्याम्पस प्रमुख कमल गुरागाईले गएको मंसिरमा सर्वपक्षीय बैठकमा विद्यार्थीले सहमति दिएको दावी गरे । उनले विद्यार्थीको सहमतिबाटै स्वायत्तताको प्रक्रिया अघि बढेकाले स्वायत्तताको कार्यक्रमबाट पछि हटन सक्ने अवस्था नभएको बताए ।
सम्झौतामा के छ ?
मेची बहुमुखी क्याम्पस भद्रपुर र त्रिवि अनुदान आयोग बीच जेठ १४ गते स्वायत्तता सम्बन्धि सम्झौता भइसकेको छ । सम्झौता भएकै दिन त्रिभुवन विश्वविद्यालयले मेची बहुमुखी क्याम्पसलाई दुई करोड अनुदान दिएको छ । दुई करोड खर्च भए लगत्तै त्रिविले थप दुई करोड दिने सम्झौतामा उल्लेख छ । चार करोड लगानी पछि निर्माण हुने योजनामा त्रिविले व्यवस्थापन खर्च व्यहोर्ने सम्झौतामा उल्लेख छ ।
स्वायत्ततामा गएपछि विद्यार्थीको शुल्क क्याम्पस सचालक समितिले निर्धारण गर्दछ । विद्यार्थीको शुल्क बढाउने वा घटाउने त्यो क्याम्पसलाई अधिकार हुन्छ । कुन विषय संचालन गर्ने वा नगर्ने, कुनै बिषयका लागि नयाँ पठ्यक्रम निर्माण गर्ने लगायतका कार्यमा पनि क्याम्पसलाई अधिकार हुने त्रिवि उपकुलपति प्राडा तिर्थराज खनियाँले बताए । उनले भने ‘गुणस्तरीय शिक्षाका लागि स्वायत्ततामा नगई उपाय छैन ।’
स्वायत्ततामा गएपछि क्याम्पसमा खाली भएका दरबन्दीमा कर्मचारी वा शिक्षक राख्ने वा नराख्ने अधिकार क्याम्पसलाई हुन्छ । कर्मचारी वा शिक्षक नियुक्त नगरेपनि खाली दरबन्दीको सम्झौता अनुसारको पैसा त्रिविले क्याम्पसलाई दिने सम्झौतामा उल्लेख छ । मेची बहुमुखी क्याम्पसमा हाल विद्यार्थी संख्या घटेकाले दरबन्दी अनुसारको रकम प्राप्त हुँदा बार्षिक एक करोड आम्दानी हुने क्याम्पस प्रमुख गुराईले बताए । मेची क्याम्पसमा ५० जना कर्मचारी र १ सय २३ जना शिक्षकको दरबन्दी कायम छ । त्रिविले विद्यार्थी संख्या वृद्धिभए दरबन्दी संख्या पनि थप गर्न सक्ने प्रावधान छ ।
क्याम्पसमा बर्षौदेखि हाँजिर गरेर तलव खाने शिक्षकलाई अन्यत्र सरुवा गराउन वा बिदा गर्नसक्ने अधिकार हुन्छ । करार सेवामा शिक्षक नियुक्त हुने तर विद्यार्थी नहुने समस्या छ । करार सेवाका शिक्षकलाई विद्यार्थी नहुँदा विदा गर्न सक्ने अधिकार क्याम्पसलाई हुन्छ । अहिलेको भन्दा स्वायत्ततामा जाँदा क्याम्पसलाई बढी अधिकार हुने विज्ञहरुको भनाई छ ।
संचालक समिति गठनमा अवरोध

स्ववियूले अवरोध गर्दा क्याम्पसको संचालक समिति गठन हुन सकेको छैन । संचालक समिति गठन नहुँदा योजना निर्माण र खर्च कार्यान्वयन हुन सकेको छैन । संचालक समितिमा स्ववियू सभापति पदेन सदस्य हुने प्रावधान रहेको छ । संचालक समितिले अध्यक्ष छनोटका लागि तीन सदस्य सहज समिति गर्नु पर्ने हुन्छ । तीन जनाको समितिले अध्यक्षका लागि पाँच जनाको नाम त्रिवि कार्यकारी परिषदमा सिफारिस गर्नु पर्छ । समितिले सिफारिस गरेका पाँच मध्येबाट एक जना संचालक समितिको अध्यक्ष छान्ने प्रावधान रहेको छ । सहज समिति गठनमा सहमति नहुँदा संचालक समिति र अध्यक्षको नाम प्रस्ताव हुन सकेको छैन । अध्यक्ष सहितको संचालक समिति नहुँदा क्याम्पसलाई प्राप्त अनुदान कार्यान्वयनमा समस्या भएको हो । त्रिविसँगको सम्झौता कार्यान्वयन हुन नसक्दा क्याम्पस आर्थिक संकटमा फस्न सक्ने अवस्था आउने भएकाले स्वायत्ततामा जानु अनिवार्य भएको क्याम्पस प्रमुख गुरागाईले बताए ।
मेची क्याम्पसको बाध्यता


मेची बहुमुखी क्याम्पसका अधिकांश संकाय निजी स्रोतबाट संचालित छन् । क्याम्पसको बिए, बिबिएस, बिएस्सी बाहेक सबै संकाय र बिषय निजी स्रोतबाट संचालित छन् । अंग्रेजी, नेपाली, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र बिषयका डिग्री निजी स्रोतबाट संचालित छन् । यसैगरी स्नातक तहमा चिया विज्ञान, वातावरण विज्ञान निजी स्रोतबाट संचालित छन् । यि बिषय र संकायमा त्रिविको शुल्क भन्दा बढी क्याम्पसले निर्धारण गरेको शुल्क विद्यार्थी तिर्दै आएका छन् । स्वायत्ततामा जाँदा यहि प्रकार शुल्क निर्धारण हुने क्याम्पस प्रमुख गुरागाईले बताए । विद्यार्थीले भने जस्तो धेरै शुल्क वृद्धि नहुने उनले दावी गरे । उनले भने‘ स्वायत्ततामा गएपछि शिक्षाको शुणस्तरमा वृद्धि हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्