Logo
  बैशाख ८, २०८१ शनिबार

सौन्दर्य प्रतियोगिताको नाममा कमाउ धन्धामा ‘मिस टिन उर्लाबारी’



तेजन खड्का

मोरङ , १९ साउन। पूर्वमा हुने सौन्दर्य प्रतियोगिताहरु पछिल्लो समय विवादमा तानिदै गएका छन् । पछिल्लो समय भईरहेका यस्ता प्रतियोगिताहरु प्रतिभाको खोजी गर्ने माध्यम नभएर कमाई खाने भाडो भएको आरोप लाग्न थालेको छ । आयोजकहरुले राम्रो स्पोन्सर र प्रायोजक नखोजी स्वयम प्रतियोगिहरुसँग रकम असुल्दै आएको गुनासो बढ्न थालेको छ ।

सौन्दर्य प्रतियोगिताको खास अर्थ बौद्धिकतासँग र प्रतिभासँग जोडिएको हुन्छ । सौन्दर्य प्रतियोगिताले बौद्धिक सुन्दर र प्रतिभावान व्यक्तित्वलाई समाजमा स्थापित गर्ने र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्दछ । तर, आजभोलि विभिन्न बाहानामा महिनै पिच्छे हुने ‘सौन्दर्य प्रतियोगिता’ आयोजकको कमाइ खाने भाँडो बनेको तितो यथार्थ बाहिर आउन थालेको छ । ‘मिस’, ‘प्रिन्स’ जस्ता पदावली जोडिदिए पछि सुरु हुन्छ, आजभोलिको सौन्दर्य प्रतियोगिता । व्यक्तिको सर्वाङ्गिण विकासमा जोड दिइनु पर्ने यस्ता प्रतियोगिता अहिले आर्थिक चलखेलका कारण बदनाम हुँदै गइरहेका छन् ।

उर्लाबारीमा अहिले मिस टिन उर्लाबारी प्रतियोगिताको आयोजना भईरहेको छ । यतिवेला कार्यक्रममा सहभागि किशोरीहरु प्रशिक्षणमा ब्यस्त छन् । शंकर आर्ट फाउण्डेसन दमकको आयेजनामा भईरहेको उक्त प्रतियोगिता विवादमा तानिदै गएको छ । कार्यक्रममा सहभागी हुने बित्तिकै २३ जनालाई भोटिङ राउण्ड भन्दै भोट माग्न लगाइएको छ । उर्लाबारीका युवा किशोर श्रेष्ठ भन्छन्‘ प्रतियोगितामा प्रशिक्षण भईरहेको बेला के को भोट ? के आधारमा प्रतियोगिलाई भोट दिने उनले प्रश्न गरे । न त उनीहरुको प्रतिभा दर्शक सामु छर्लङ्ग हुने कुनै माध्यमबाट देखाइएको छ ।

सहभागीहरु भोट माग्न ब्यस्त 

आयोजकले भोट गर्न लगाएर भोटिङबाट कमाई गरिरहेको छ भने प्रतिस्पर्धामा भाग लिने किशोरीलाई प्रवेश शुल्क ५ सय सहित थप १० हजार लिइएको छ । त्यतिमात्र होईन ड्रेस,फोटो सुट भन्दै बिहिन्न बहानामा पैसा कुम्लीयाउने काम भईरहेको प्रतिस्पार्धामा सहभागी एक किशोरीले नाम उल्लेख नगर्ने सर्तमा भनिन् ।

उनले भनिन्,‘‘लगभग प्रतियोगितामा भाग लिईसक्दा २० हजार भन्दा बढि खर्च हुने रैछ , पुरस्कार पनि चित्तबुझ्दो छैन् ।’’पहिले नै यस्तो थाहा भएको भए भाग लिने थिईन,उनले भनिन् । आयोजकले फाईनल राउण्डको लागि जुन प्रतियोगीले बढि टिकट बिक्रि गर्छ उस्लाई टप १३ मा पुग्न लागि भोट प्राप्त हुन्छ भनि ३ सय पर्ने टिकट बेच्न लगाएको छ । ३ सय पर्ने टिकट बेच्दा १० भोट पाउने शंकर फाउण्डेसनका संयोजक लालबहादुर विश्वकर्माले बताए । उनले सहभागीहरुले आफ्नो क्षमताले टिकट बेच्न सके भने नम्बर दिनु स्वाभाबिक भएको बताए । टिकट बेच्न लगाएर भोट दिने प्रचलन यो सम्भवत पहिलो तथा अचम्मको कुरो हो ।

कार्यक्रममा सहभागीहरुलाई पुरस्कारको विषयमा चित्त नबुझेको स्रोत बताउछ । तर प्रतियोगिहरु बाहिरि रुपमा कार्यक्रममा बिजेता नभईने डरले बोल्न चाँहेका छैनन्। बिभिन्न वाहानामा आयोजकले पैसा मागेपछि पैसा नहुने अभिभावकहरुको ढाड सेकिएको छ । हुने खानेहरु पैसाकै बलमा उपाधि चुम्ने दाउमा छन् ।

पुरस्कारमा के छ ?

मिस टिन उर्लाबारीको विजेताले नगद २० हजार पुरस्कार पाउने भएका छन् । त्यस्तै, फष्ट रनरअपलाई १५ हजार र सेकेन्ड रनरअपलाई १० हजार नगद पुरस्कार दिने आयोजकले जनाएको छ । तर पुरस्कारको विषयमा चित्त नबुझेका उर्लाबारीकै एक युवा सुब्रत अधिकारीले यतिधेरै पैसा संकलन गरेर यति थोरै पुरस्कार दिनु कमाउ धन्धा नै भएको बताए । उनले भने,‘‘यो त गाउँघरमा हुने ‘भाले ग्याम’ फुटवलको पुरस्कार जस्तो भएन र ? पैसा संकलन गर्यो । नाफा राखेर अरु पुरस्कार दियो । ’’

यो लगत्तै दमकमा शंकर फाउण्डेसन मिस तिजको पनि आयोजना गर्दैछ । एक ठाउँमा सकिए लगत्तै अर्को ठाउँमा आयोजना हुने यस्ता प्रतियोगिताले प्रतिस्पर्धीको क्षमता बृद्धि भन्दा आयोजकले आर्थिक रुपमा नाफा कमाउने उदेश्य मात्र देखिन्छ । जिल्ला प्रशासनमा दर्ता भएका सामान्य संघसंस्थाले एउटा क्राउन शिरमा राखेर उपाधि दिदैंमा प्रतिस्पर्धीहरुको भबिष्य बन्नेमा जानकारहरु शंका प्रकट गर्छन् । नामकै मात्र उपाधिले आगामि दिनमा बिजेताहरुको भविष्य निर्माण हुने भन्दा पनि उपाधिको रक्षा कसरी भन्ने अन्यौलता छ । यस्ता प्रतियोगिताको दोस्रो संस्करण प्राय हुने गरेका छैनन् । अभिभावकलाई काबु बनाएर आफ्नो भेद नखुल्ने ठाउँमा प्रतियोगिता गर्न आयोजक लागि परेका छन् ।

‘अहिले भइरहेका कार्यक्रममा कमाउने धन्दा मात्र देख्छु”, भिजन फाउण्डेसन उर्लाबारीका अध्यक्ष राजु लामा भन्छन्, ‘सौन्दर्यको नाममा यस्तो बद्मासी रोकिनुपर्छ ।” प्रतिभा प्रस्फुटन गराउने कार्यक्रम गर्नु नराम्रो होइन तर अचेल यस्ता कार्यक्रमहरु फेसनको रुपमा प्रयोग भइरहेको उर्लाबारी गजल मञ्चका पूर्व अध्यक्ष कृष्ण उदासीको भनाई छ । उदासीका अनुसार यस्ता कार्यक्रम आयोजना गर्याे, स्पारो एसएमएस मार्फत पनि रकम असुल्यो अनि प्रतिस्पर्धिका अभिभावकलाई समेत मनोवैज्ञानिक दवाद सिर्जना गरेर त्यहाँबाट पनि पैसा असुल्ने गरेको पाईन्छ । सोही कार्य मिस टिन उर्लाबारीमा समेत दोहोरीएको उनले बताएका छन् ।

आयोजकले जनदवाब भएपछि पुरस्कार पनि कार्यक्रमको मध्यभागमा आएपछि मात्र घोषणा गरेको हो । फाउण्डेसनले २३ गते हुने फाईनल प्रतियोगिताको लागि आफ्नो कर्तुत लुकाउन समाजका प्रतिष्ठित व्यक्तिहरुलाई आसन ग्रहण गराएर तडक भडक देखाउन लारिहेको छ ।

प्रतिक्रिया दिनुहोस्