Logo

जिसस प्रमुख छान्न झापा एमालेमा गुटगत चलखेल



झापा, २४ साउन । जिल्ला समन्वय समिति झापाको प्रमुख कसलाई बनाउने भन्ने बिषयमा नेकपा एमाले भित्र गुटगत चलखेल सुरु भएको छ । साउन ३१ गते हुने निर्वाचन प्रमुखको टुङ्गो लगाउन एमाले पार्टी अध्यक्ष केपी ओली समुह र माधव नेपाल समुह बीच चलखेल सुरु भएको हो । झापा जिससमा एमालेको बहुमत छ ।

स्थानीय निर्वाचन हुनु अघि नै १ नम्बर प्रदेस कमिटीमा कुन्दन भट्टराईलाई जिसस झापाको प्रमुख बनाउने सहमति भएकोमा अहिले उल्टाउन पार्टी अध्यक्ष ओली पक्षका नेताले चलखेल सुरु गरेका हुन् । ओली समुहका झापाका अध्यक्ष चिन्तन पाठक लगायतका नेताहरुले दलित नेता सोम पोर्तेलको नाम प्रस्ताव गरेका छन् । तर, समन्वय समितिका प्रमुख र उपप्रमुखको अन्तिम टुङ्गो एमाले स्थाइ समितिले लगाउने छ ।

जिल्ला पार्टी कार्यालय बिर्तामोडमा सोमबार बसेको बैठकमा एकाएक पोर्तेलको नाम आएपछि चर्को बहस भएको हो । भट्टराईलाई जिल्ला समन्वय समितिको प्रमुख बनाउन अर्जुनधारा नगरपालिका वडा नम्बर ५ को सदस्यमा एमालेले उम्मेद्वार बनाएको थियो । उनी निर्वाचित पनि भए । अर्जुनधार नगरपालिकाको प्रमुखमा हरि राना र भट्टराईको दावी रहेका बेला उनलाई समन्वय समितिको प्रमुख बनाउने सहमति भएको थियो । भट्टराई अर्जनधारा र राना शनिश्चरे गाबिसका पूर्व अध्यक्ष हुन् । यि दुबै गाबिस समेटिएर नगरपालिका बनेको थियो ।

पार्टीका पुराना र क्षमता भएका नेतालाई छाडेर गुटकै आधारमा पोर्तेलको नाम सिफारिस भएकोमा कार्यकर्ता बिच चर्को असन्तुष्टि बढेको छ । सोमबार बसेको बैठकमै पनि गुटगत रुपमा पोर्तेलको नाम आएको भन्दै आलोचना भएको थियो । बहुमत जिल्ला सदस्यले पार्तेलको नाम लिएपनि तत्काल माइनुट भने गरिएन । भट्टराई समर्थक अर्थात नेपाल समुहका सदस्यहरु कार्यालयबाट बाहिरिएपछि माइनुट गरिएको हुन सक्ने एक नेताले बताए । नेपाल समुहकाले भट्टराई र पोर्तेल दुवैको नाम सिफरिस गर्न आग्रह गरेपनि ओली समुहकाले एकजनाको मात्र सिफारिस गर्नु पर्ने धारणा राखेका थिए ।

को हुन् भट्टराई ?

बिक्रम सम्बत् २०१४ सालमा झापाको मेचीनगरमा जन्मिएका कुन्दन भट्टराईले धुलावारी माविबाट एसएसली उतिर्ण गरेका उनले सन् १९८४ मा सिलोङबाट कमर्समा स्नातक उतिर्ण गरेका हुन् । झापाको कोहेड कलेजबाट समाजशास्त्रमा डिग्री गरेका उनी अंग्रेजी, आसामी, वंगाली र हिन्दी भाषाको पनि ज्ञान राख्दछन् ।

झापा बिद्रोहबाट बाल्यकालमा प्रभावित भएका भट्टराई नेपालमा बस्न नसक्ने भएपछि भारतको सिलोङ अध्ययनका लागि गएका हुन् । सन् १९८१ साल पार्टी सम्पर्कमा पुगेका उनलाई सीपी मैनालीले नेकपा मालेको पार्टी सदस्यता दिएका हुन् । उनी सन् १९८४ मा तत्कालिन नेकपा मालेको विद्यार्थी संगठन अखिल भारत नेपाल स्वतन्त्र विद्यार्थी युनियनको महासचिव भएका थिए । त्यसबेला अध्यक्ष एमाले नेता शंकर पोखरेल थिए । झलनाथ खनाल, मदन भण्डारी, जिवराज आश्रित, प्रदिप नेपाल, बासु शाक्य लगायतका नेतासँग पार्टी कामको सिलशिलामा प्रवासमै उनको भेट भएको हो । २०४४ सालमा नेपाल आएका भट्टराई २०४६ चैतमा पार्टीको निर्देशनमा प्रवास गएका थिए । जनआन्दोलनको समयमा सीमाका प्रहरी कार्यालयमा आक्रमण गर्ने तयारीका लागि उनी प्रवास गएका हुन् ।

२०४६ सालको जनआन्दोलन पछि भट्टराई स्वाधिन सम्बाद साप्ताहिकको कार्यकारी सम्पादक भए । २०४९ बाट पार्टीको कार्यालय सचिव भएका भट्टराई एमालेको सरकार गठनपछि गुठी संस्थानको कार्यकारी प्रमुख भए । २०५४ सालमा उनी अर्जुनधारा गाबिसको अध्यक्ष भएका हुन् । उनी अहिलेसम्म एमाले झापाको सचिवालय सदस्य छन् । एमाले झापाका प्रभावशाली नेता हुन् भट्राई ।

भट्राईकी श्रीमती शिक्षिका हुन् । उनी पनि प्रवासमा लामो समय पार्टी काममा सक्रिय थिइन् । छोरीले एग्रिकल्चर इन्जिनियरिङमा पिएचडी गरी अमेरिका बस्दै आएकी छन् भने छोरा बायो साइन्समा डिग्री सकेर सुनसरी टेक्निकल स्कुलमा शिक्षक छन् ।

सोम पोर्तेल को हुन् ?

झापाको जलथलमा २०३५ सालमा जन्मिएका सोम पोर्तेल एमाले झापाका युवा नेता मानिन्छन् । उनी झापाको दलित आन्दोलनका प्रभावशाली नेता हुन् । पार्टी जिल्ला कमिटी सदस्य, अंचल कमिटी सहस्य हुँदै अहिले प्रदेस कमिटी सदस्य छन् । झापाको बिर्तामाड नगरपालिका वडा नम्बर ५ मा बसोवास गर्ने पोर्तेल नगरपालिकाको मानोनित वडा सदस्य हुन् । २०४८ सालमा अनेरास्ववियुमा संगठित भएका पोर्तेल आइकमसम्मको अध्ययन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्