Logo

कँहिले बन्छ चारआली-केचना मार्ग ?



पार्थ मण्डल

भद्रपुर, ११ भदौ  । सहायक मेची राजमार्ग जोड्ने झापाको चाराआली, भद्रपुर हुदै केचना सम्मको कालोपत्रे सडक खण्ड निर्माण कार्यले तिव्रता नपाएपछि स्थानीय जनता फेरी निराश देखिएका छन् । झापाको उत्तर–दक्षिणी स्थानीय जनताको चार दशकदेखिको लामो संर्घष र आन्दोलन पश्चात नेपाल सरकारले गत २०७३ असोज दोस्रो साता पहिलो प्याकेजको ठेक्का लगाएको थियो । ठेक्का लागेको झण्डै एक बर्ष बित्न लाग्दा १० प्रतिशत मात्र काम सम्पन्न भएको छ । सरकारसंग गरेको ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले एक बर्षमा ३० प्रतिशत काम सक्नुपर्ने हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।

सडकको राजनितिक पृष्टभुमि

४३ बर्षअघि मेची लोकमार्ग जोडने भन्दै ताप्लेजुङदेखि झापाको केचना सम्मका सडक बनाउन पहल सुरु भयो । पहिलो पटक २०३१ सालमा झापाका तत्कालिन अञ्चालाधिश छिरिङतेन्जी लामाले चाराआली–केचना सडक निर्माणमा चासो देखाउदै शिलान्यास गरेका थिए । अञ्चालाधिशले लामाले सडकको शिलान्यस त गरे , तर, उनले गरेको शिलान्यासले गति लिएन र निर्माण कार्य अधुरै रह्यो ।

अञ्चालाधिश लामाले सडक बनाउन चासो देखाएपछि भद्रपुरका तत्कालिन केही प्रभावशाली नेताहरुमध्ये कसैले भद्रपुरबाट नभएर महेशपुरबाट र कसैले भद्रपुरबाटै सडक जोडनुपर्ने आआफनो अडान राखेका थिए । नेताहरुको अडान र राजनितिक खिचातानिका कारण चाराआली केचना सडक निर्माण कार्य अधुरै बनेको भद्रपुरका अग्रज पत्रकार नकुल काजी बताउछन् । देशमा बहुदल आएपछि स्थानीय जनताले सडकको मागलाई जोडतोडका साथ फेरी उठाउन थालेपछि नेपाल सरकारले पुनः सडक बनाउने चासो देखाए । नेपाल सरकारले भारतसंगको सम्झौतामा सडक निर्माणमा चासो देखाएका थिए ।

देशमा लोकतन्त्र र गणतन्त्र आएपछि नेपाल र भारत सरकार बिच सो सडक निर्माण गर्नका लागि लिखित सम्झौता भयो । तत्कालनि पूर्व प्रधानमन्त्री डा. बाबुराम भटटराईको पालामा भारतले आफ्नै लगानीमा चाराआली–केचना सडक निर्माण गर्न भारतमै सन् २०११ डिसेम्बरमा टेण्डर खोले र टेण्डर स्वीकृत भयो । ३० महिनामा निर्माण कार्य सम्पन्न गर्न भनि भारतीय कम्पनी राईट्स अफ लिमिटेडले ठेक्का लियो । ठेक्का लिएका भारतीय कम्पनीका इन्जिनियरसहितको टोली झापा आएपछि सडक बन्नेमा स्थानीय जनतामा पुनः आश जागियो । सो कम्पनीले दोस्रो पटक २०६८ सालमा झापा चोकमा सडकको शिलान्यस गरेर निर्माण कार्य सुरु गरे । झापाचोक र केचनाबाट निर्माण कार्य सुरु गरेका भारतीय कम्पनीका प्रतिनिधिलाई निर्माण कार्यमा असहज भएपछि एक बर्षपछि निर्माण कार्य अधुरै छाडेर उनीहरु भारत फर्किए । सो कम्पनीले भन्सार छुटमा ल्याएको उपकरण, सवारीसाधन नेपालमै छाडेर फर्किए । ज्ञानेचोकमा रहेको भन्सार छुटको उपकरण र सवारीसाधान कँहा गयो? स्थानीयमा चासोको बिषय बनेको छ ।

भारत फर्किएपछि सो कम्पनीले नेपालमा सडक निर्माण नगर्ने भनि भारत सरकारसंग गरेको सम्झौता तोडिदियो । फेरी सो सडक निर्माण कार्य अलपत्रमा परेपछि स्थानीय जनाता फेरी आक्रोसित बने । झापाको १ र ३ नम्बर निर्वाचन क्षेत्रमा पर्ने सडकलाई दलका नेताले भोट माग्ने माध्यम नै बनाए । नेताहरुले जितेर गए तर निर्माण कार्यमा पहल गरेनन् । सोही कारणले झापा ३ नम्बर क्षेत्र अन्य क्षेत्रको विकासको तुलनामा पछि परेको अग्रज पत्रकार काजीले बताए ।

भारतीय ठेकेदारले सडकको सम्झौता तोडेपछि फेरी सडक निर्माण अलपत्रमा परयो । सडक नबन्ने भएपछि स्थानीय जनताले यस क्षेत्रका राजनितिकदलका नेता देखि केन्द्रिय नेता सम्मलाई घच्घाउन थाले । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा भारतको भरमा नपरेर नेपाल सरकारले आफ्नै लगानीमा सो सडक निर्माण गर्न भनि प्रक्रिया सुरु गरे । कागजी प्रक्रिया सुरु भएसगै नेपालमा सरकार परिवर्तन भयो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को समयमा फेरी सडकको ठेक्का लगाइयो । तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ठेक्का लागेको सडकको भद्रपुरस्थित झापाचोकमा आएर एक भव्य समारोहका बिच २०७३ असोज १७ गते शिलान्यास गरे । उनले गरेको शिलान्यस तेस्रो पटक भएको छ । सो शिलान्यास कार्यक्रममा पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, नेपाली काग्रेसका वरिष्ठ नेता तथा यस क्षेत्रका सांसद कृष्णप्रसाद सिटौला, सांसद जितु गौतम, सडक विभागका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

शिलान्यस कार्यक्रममा बोल्दै तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सडकको बजेट सरकारले बेग्लै छुटाइसकेकोले ३० महिना भित्र सडक बन्ने दावी गर्नु भएको थियो । सरकारको नभएर यँहाको स्थानीय जनताको सडक भएकोले निर्माण कार्यमा ठेकेदार कम्पनीले कुनै ढिलासुस्ती गरेमा नियम अनुसार कार्वाही गरिने मन्त्रीले लेखकले ठोकुवा गरे । मन्त्री लेखकले स्थानीय जनतालाई ३० महिनामा सडक बन्ने भाषण मार्फत विश्वास दिलाएपनि ठेकेदार कम्पनीले त्यसको धज्जी उडाइ दिएका छन् । एक बर्ष वित्न लाग्दा समेत निर्माण कार्यले गति लिएको छैन । एक बर्षमा ३० प्रतिशत काम सक्नु पर्नेमा हाल १० प्रतिशत काम पनि सम्पन्न हुन सकेको छैन ।

दुई प्याकेजमा निमार्ण कार्य

चाराआलीदेखि भद्रपुर हुदै केचना सम्मको ४० किलोमिटर लामो कालोपत्रे सडकको ठेक्का दुई वटा निर्माण कम्पनीले लिएका छन् । निमार्ण कार्यमा अन्तरगत ० देखि २० किलोमिटर अर्थात चाराआलीदेखि सगरमाथाचोक सम्म सडक निर्माणको ठेक्का कालिका, कनकाई र याकथुमहाङ्ग जेभीले सरकारसंगको सम्झौता २०७३ साल असोज १४ गते गरेको आयोजनाले जनाएको छ । भ्याट सहित ४१ करोड ६१ लख ८४ हजार १ सय ४२ रुपैयामा कुल बजेट रहेको यस सडकको निर्माण कार्य अवधि ३० महिना रहेको छ । कालोपत्रे सडकसहित ६० वटा पाइप कल्भर्ट, दुई वटा स्लाब कल्भर्ट, एउटा वक्स कल्भर्ट, एउटा कज्वे र साढे पाँच किलोमिटर नाला रहेको छ । याकथुमहाङ्ग निर्माण कम्पनीका ठेकेदार तेजकुमार कुरुङ्गवाङ्गले सडक निर्माण कार्यको सम्पूर्ण जिम्मेबारी लिएका हुन । त्यस्तै २० देखि ४० किलोमिटर अर्थात सगरमाथाचोक देखि केचना सम्म सडकको ठेक्का लामा, डाँफे र कञ्चनजंघा जेभीले २०७३ फागुन १५ गते सरकारसंग सम्झौता गरेको आयोजनाले जनाएको छ । भ्याट सहित ४२ करोड ५३ लाख ६५ हजार ४ सय ९७ रुपैया कुल बजेट रहेको यस सडकको निर्माण कार्य पनि ३० महिनाको रहेको छ । कालोपत्रे सडकसहित दुवैतर्फ गरी साढे ५ किलोमिटर नाला, १९ वटा पाइप कल्भर्ट र ४ वटा स्लाव कल्भर्ट रहेको छ । कञ्चनजंघका निर्माण व्यवसायी टेण्डी शेर्पाले सडकको जिम्मेबारी हेर्न गरी सम्झौता गरेको छ ।

निर्माण कार्य कछुवा गतिमा

दुई चरणमा दुई वटा निर्माण कम्पनीले सडकमा काम गर्दै आइरहेका छन । तर दुवै प्याकेजको काम कछुवा गतिमा भइरहेको छ । चाराआली भद्रपुरहुदै सगरमाथा चोक सम्मको निर्माण कार्य २०७३ चैतदेखि सुरु भएको हो । भने सगरमाथाचोकदेखि बनियानी हुदै केचना सम्मको काम २०७४ असार दोस्रो साताबाट सुरु भएको हो । सव ग्रेड, सव बेस, वेस र कालोपत्रे गरी सात मिटर चौढाई रहेको सडक निर्माण कार्यमा ठेकेदार कम्पनीले चरण लापारबाही गर्दे आइरहेको स्थानीय जनताको आरोप छ । निर्माण कम्पनी सडक निर्माणमा खासै चासो देखाएको छैन । कालिका, कनकाई र याकथुमहाङ्ग जेभीले २० किलोमिटर सडक बनाउने ठेक्का लिएको बर्षदिन पुग्न लागेको छ । एकबर्षमा १० प्रतिशत काम पनि पुरा भएको छैन् । यसरी नै निर्माण कार्य गर्न हो, भने स्थानीय जनता कालोपत्रे सडकमा हिडन १० बर्ष पर्खिनु पर्ने हुन्छ । सो कम्पनीले चाराआलीदेखि चन्द्रगढी सम्मका सडकमा पाइप कल्भर्ट र नाला खन्ने काम मात्र सम्पन्न गरेको देखिन्छ । त्यो काम पनि गुणस्तरयुक्त नभएको स्थानीयको आरोप छ ।

सडक बनाउने कामतर्फ अहिले ५ किलोमिटर सव वेसको काम गरेको देखिन्छ । ठेकेदारले झापाचोकदेखि आपगाछी सम्म २ किलोमिटर सडकमा सव ग्रेड र सव वेसको काम गरेर छाडेका छन् । वेस बनाउनेदेखि कालोपत्रे सडक बनाउने काम अझै बाँकी छ । निर्माण कम्पनीले एउटा भन्दा धेरै ठेक्का लिने प्रावधनले सडकको निर्माण कार्य सुस्त बनेको पाइएको छ । कम्पनीसंग प्रयाप्त सामग्री र जनशक्ति अभावले निर्माण कार्यमा ढिलाई भएको स्वयम निर्माण कम्पनीका कर्मचारी बताउछन । अव एक दुई दिन भित्र काम सुरु गर्ने कालिका, कनकाई र याकथुमहाङ्गका फिल्ड इन्जिनियर प्रनिस वननेपालीले बताउनु भयो । उहाले सोचे अनुसारको प्रगति नभएको स्विकारर्दै ३० महिनामा निर्माण सम्पन्न हुनेमा आशंका व्यक्त गरेका छन् । त्यस्तै लामा, डाफे र कञ्चनजंघा जेभीले २० देखि ४० किलोमिटर सडकको निर्माण कार्य असारको दोस्रो साताबाट सुरु गरेको छ । सो कम्पनीले अहिले सगरमाथाचोकमा इटाको नाला बनाउने काम गर्दै आइरहेको छ । सडक बनाउने काममा अहिले सम्म हात हालेको देखिदैन ।

अहिले खोलाजन्य सामग्री उत्खन्न बन्द रहेकोले खोलाजन्य सामग्री पाउन साथ बाटो बनाउने काममा हात हाल्ने लामा, डाफे र कञ्चनजंघाका प्रविण शेर्पाले बताए । उनले भने– ‘निर्माण कार्यलाई तिव्रता दिएका छौ,कुनै अवरोध नआए ३० महिनामा काम सक्नछौ । तर, हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले निर्माण कार्यमा ढिलासुस्ती भएको स्वीका गरे । पहिलो प्याकेजको काम हेर्न हो, भने केही ढिलाई भएको नै हो । एक बर्षमा ३० प्रतिशत काम हुनुपर्नेमा अहिले १० प्रतिशत काम मात्र सम्पन्न भएको इन्जिनियर दासले बताउनु भयो । निर्माण कार्यमा ढिलासुस्ती भएपछि दुवै निर्माण कम्पनीलाई लिखित पत्र पनि काटि सकेका छौ । पत्र काटेपछि निर्माण कार्यलाई तिव्रता दिने प्रतिवद्धता दुवै कम्पनीले दिइसकेको उनको भनाई छ ।

कहिले सम्म जनतालाई सास्ती ?

झापाको दुवागडी, चन्द्रगढी, भद्रपुर, पृथ्वीनगर, बनियानी, केचना, पथरिया, पाठामारी, घेराबारीका स्थानीय जनताको बहुप्रतिक्षित चाराआली–केचना सडक कहिले बन्ला भन्नेमा त्यस क्षेत्रका स्थानीय जनता अन्यौलमा देखिएका छन । उनीहरुलाई सडक नबन्दाको सास्ती अहिले सम्म बेहोर्नु परेको छ । यहाँका स्थानीय जनताले सडक निर्माणका लागि पटक पटक नेपाली काग्रेस, नेकपा एमाले र माओबादी केन्द्रका उम्मेदवारलाई भोट हालेर जिताइसकेका छन् । विगत झापा क्षेत्र १ पर्ने यस क्षेत्रबाट २०४८ बैशाख २९ गते भएको सासदीय निर्वाचनमा एमालेका द्रोणचार्य आचार्य, २०५१ साल असार २७ गतेको संसदीय निर्वाचनमा एमालेका पुष्पराज पोखरेल, २०५६ सालको संसदीय निर्वाचनमा नेपाली काग्रेसका कृष्णप्रसाद सिटौलालाई सडक बनाउने बाचाका साथ भोट हालेर यहाका जनताले विजयी गरेको इतिहास छ ।

झापा क्षेत्र नम्बर ३ भएपछि २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रका पूर्णप्रसाद राजवंशी, २०७० सालको दोस्रो सविधानसभामा नेपाली काग्रेसका कृष्णप्रसाद सिटौलालाई यहाका जनताले जिताएका थिए । तरपनि, यहाँका जनताको सपना जितेका नेताहरुले अझै पुरा गरेनन् । निर्माण कार्य सुरु भएपनि यसले तिव्रता नलिएपछि स्थानीयमा सडक बन्नेमा विश्वास नै छैन, स्थानीय निलबहादुर भुजेलले बताउछन् । २०२२ सालदेखि नै सडक बनाउने हावा चलेको थियो । त्यो चलेको हावा अहिले सम्म चलिरहेको छ । अहिले आएर बाटो बनाउने काम सुरु भएको छ, तर बाटो बन्नेमा अझै विश्वास लागेको छैन, भुजेल बताउछन् ।

ठेक्का लागेको सडक निर्माण कार्यमा सरकारी पक्ष र ठेकेदार कम्पनीले चासो नदेखाएपछि अहिले बर्खामा सडकमा सवारीसाधन गुडाउने स्थिति छैन । बर्खामा पानी जम्नु र हिउदोमा धुलो उडने समस्याले सवारी चालक पनि पिडामा छन । अहिले बर्खामा त्यो सडकमा गाडी कुदाउदा, सिधै ग्यारेजमा बनाउने ल्याउने पिडा पोखिन् सवारी चालक सरोज भण्डारी । सडक निर्माण कार्य सुरु भएजस्तै देखिन्छ, ठेकेदारले सडकमा गिटीबालुवा थुपारेर राखेको तीन महिना भइसकियो, निर्माण कार्य सुरु भएको छैन, भण्डारी बताउछन् । यस सडक खण्ड अन्तरगत सिमेन्ट, चिया, ग्यास र प्लाइउड उद्योग र राईस मिलहरु पर्छ । कालोपत्रे सडक पनि ग्राभेलमा परिणत भइसकेको अवस्थाले उद्योगका लागि सामग्री बोकेर आउने ठूला सवारीसाधनलाई आउन कठिनाई उपत्पन्न भएको छ । यो सडक नबन्दा निजि क्षेत्रमा प्रत्यक्ष असर परेको झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले बताए । स्थानीय जनताको आर्थिक विकासको भविष्य जोडिएको चाराआली– केचना सडकमा गुणस्तरयुक्त काम हुनुका साथै छिटो भन्दा छिटो निर्माण कार्य सक्नुपर्ने अध्यक्ष ढकालको माग रहेको छ । सडक बनाउने ठेकेदार कम्पनीको काम प्रति कसैको चित्त बुझेको छैन, उनले भने– ‘सम्बन्धी निकायले ठेकेदारलाई कारबाही गरेर होस, वा दवाव दिएर होस, यो सडक निर्माण गराउने पक्ष जिम्मेबार भएमात्र झापाको विकास सम्भव हुन्छ ।’

सडक बन्द देखि ज्ञापनपत्र सम्म बुझाए

ठेक्का लागिसकेको सडक निर्माण कार्यमा निर्माण कम्पनीसहित सरकारी पक्षले चासो नदेखाएपछि भद्रपुरका युवाले सडक बन्द गराउन पनि पछि हटेनन । उनीहरुले तत्काल सडक निर्माण गर्नु पर्ने दवाव दिदै सडकमै बासे तेर्साएर बाटो अवरोध नै गरेको पनि ६ महिना भइसक्यो । त्ययअघि सवारीसाधन चालक आफैले पनि भद्रपुर बसपार्कमा गाडी नभित्राउने भनि आन्दोलन गरिसकेका थिए । युवाहरुले सडक बन्द गराएपछि सम्बन्धी पक्षसंगको सहमतिमा सडक खुलाइएको थियो । तर, अहिले फेरी सडकको अवस्था त्यस्तै बनेको छ । युवाले फेरी आन्दोलन गर्न बेला आइसकेको स्थानीयले बताउन थालेका छन । झापाको सदरमुकाम भद्रपुर जोडने यो सडक पर्छ । भद्रपुरमा मेची अस्पताल, विमानस्थल र सरकारी कार्यालयहरु रहेकोले दक्षिण र उत्तर दुवै तर्फका स्थानीय काम विशेषले दैनिक आवतजावत गर्न सडक पर्छ । अहिले सडकको अवस्था जिर्ण बनेको छ । सडक बनाउन यहाका राजनितिकदल देखि उद्योग, व्यवसायी र स्थानीय जनताले पटक पटक जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापनपत्र बुझाउदै ध्यानकार्षण गरेपनि कसैले चासो देखाएको छैन ।

प्रतिक्रिया दिनुहोस्