Logo

राजनीतिले टाँट फर्किए राजवंशी नेता



इन्द्रसिंह राजवंशी
राजनीतिलाई पेशाको रुपमा लिनेहरुले भन्ने गर्छन्– कसैले पनि जोगी हुन राजनीति गर्दैन । तर, झापाका अधिकांश राजवंशी समुदायका नेतृत्वकर्ताहरुले राजनीतिमा लागेर आफ्नो जायजेथा गुमाएका छन् ।
राजनीति गरेर आर्थिक फलिफाप हुनुको साटो आफ्नो पैतृक सम्पति सकेर कङ्गाल बनेका उदाहरणहरु धेरै छन् । सांसददेखि मन्त्री बनेका राजवंशी नेतृत्वकर्ता सबैको बेहाल उस्तै छ । त्यसो त झापाका मूलबासी राजवंशीहरुले मुस्किलले राजनीतिक अवसर पाउँछन् । यहाँको पुरानो जाति र बहुसंख्यक भएकाले दलहरुले जातिगत सन्तुलन मिलाउनका लागि भएपनि ठाउँ दिन्छन् । तर, सोझासीधा राजवंशी नेतृत्व कसैले पनि कमाउन सकेनन् । उनीहरुको लागि राजनीति अफापसिद्ध भएको छ ।

झापा र मोरङमा बसोबास भएको राजवंशीहरुको जनसंख्या डेढ लाखको हाराहारीमा छ । झापामा जनसंख्याको हिसाबले खस आर्यपछि राजवंशी जाति दोस्रो स्थानमा आउँछ । विगतमा आर्थिक रुपले सम्पन्न राजवंशी जाति राजनीतिका कारणले पनि सकिएको हो ।

२०२८ सालदेखि राजनीतिमा लागेका पूर्वसहायक मन्त्री टेकनारायण राजवंशीले सात बिघा जग्गा बेचिसके । ऋण धेरै भएकाले अझै पाँच बिघा बेच्नुपर्ने उनलाई खाँचो छ । बाह्रदशी गाउँपालिकाको भाकुडुब्बामा रहेको पुरानो घरमा जीवनको उतरार्ध बिताइरहेका टेकनारायणले अब बचेको दुई अढाई बिघा जग्गाले गुजारा गर्नुपर्ने हुन्छ ।

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको संस्थापक मानिने टेकनारायण पञ्चायतकालमा जिल्ला पञ्चायतको सभापति र त्यसपछि शाहीकालमा सहायक मन्त्री भएका थिए । ‘इज्जतकासाथ राजनीति गर्दा मैले सम्पत्ति गुमाउनुप¥यो’, उनले भने, ‘पैसा मागेर राजनीति गर्नेहरुले नै प्रगति गरे ।’ राप्रपा नेपालको केन्द्रीय सदस्यबाट राजीनामा दिएर अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकमा लागेका टेकनारायणले आफूले पार्टीलाई डोनेशन दिएर राजनीति गरेको तीतो अनुभव सुनाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै बसेर लामो समयदेखि राजनीति गरेका जिल्ला विकास समिति झापाका पूर्व उपसभापति र साविक महेशपुर गाविसका पूर्व अध्यक्ष रोहित राजवंशीको हालत पनि त्यस्तै छ । खानदानी राजनीतिबाट आएका रोहितका पिता गोपालचन्द्रसिंह राजवंशी पञ्चायती कालमा राष्ट्रिय पञ्चायतको उपाध्यक्ष थिए ।

जिविसको उपसभापति र गाविस अध्यक्ष हुँदा समेत रोहितले सुको आना जोड्न सकेनन् । बरु आफ्नो बाउबाजेको पुख्र्यौली सम्पत्ति सकाए । ‘राजनीतिलाई पेशाको रुपमा लिन सकिएन’, उनले भने, ‘समाजसेवा गर्दागर्दै यो हालत भयो ।’ बिगतमा सयौँ बिघा जग्गा भएका जमिन्दार परिवारका रोहितले अब आफूसँग १५–२० बिघा मात्र जग्गा बाँकी रहेको यथार्थ सुनाए ।
विगतमा केही नहुनेहरुले राजनीतिबाटै दिन दुगुणा रात चौगुणाका हिसाबले सम्पत्ति कमाएको प्रशस्त उदाहरणहरु छन् । तर, श्रीमान श्रीमती दुवैजना सांसद बनेका नारायण राजवंशी र उनकी श्रीमती अम्बिका खवास राजवंशीलाई परिवार धान्नै गाहे भयो । उनीहरुले राजनीति गरेर धन कमाउन त सकेनन्, उल्टै आफ्नो पैतृक सम्पत्ति समेत सके ।
सम्पत्तिको नाममा अहिले उनीहरुको डेढ कठ्ठा ऐलानी जग्गामा टिनको छानो भएको तीनकोठे घर मात्र छ । काकाले दिएको गौरादहको दुई बिघा जग्गा राजनीतिमै लागेर उनीहरुले बेच्नुप¥यो । ‘सँगैका साथी भाइहरुले कमाए’, एमालेबाट सांसद बनेकी अम्बिकाले भनिन्, इमान्दार भएर हामीले कमाउन सकेनौँ ।’

त्यसैगरी, दुई पटक नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका अमृतलाल राजवंशीले पनि राजनीतिबाट आर्थिक उपलब्धि हासिल गर्न सकेनन् । बिगतमा आर्थिकरुपमा सम्पन्न रहेका अमृतलालको अवस्था अहिले गिर्दो रहेको उनका भाइ जगतबन्धुले बताए । ‘थोरबहुत तरिका थाहा छ तर कमाउने ठाउँ नै दिँदैनन्’, कांग्रेसका क्षेत्रीय सदस्य समेत रहेका जगतबन्धुले समस्या सुनाए ।

त्यसो त पहिलो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित माओवादी सांसद पूर्णसिंह राजवंशीले पनि सम्पत्ति जोड्न सकेनन् । ‘सांसदको भत्ताले खान मात्र पुग्थ्यो, कमिसन र भ्रष्टाचार गरेको भए कमाउन सकिन्थ्यो होला’, उनले भने, ‘कमाउने लाईन समाउन सकिएन ।’ उत्पादनमा जोड नदिएसम्म राजनीतिले मात्र राजवंशीहरुमा आर्थिक रुपान्तरण नहुने उनको सुझाव छ ।

त्यस्तै, झापामा स्थानीय तहको प्रमुखमा निर्वाचित हुने राजवंशी जातिका एकमात्र नेतृत्वकर्ता खड्ग राजवंशीले पनि राजनीतिलाई पेशाको रुपमा लिन सकेनन् । विगतमा जिविसको उपसभापति र राजगढ गाविसको अध्यक्ष भइसकेर हाल बाह्रदशी गाउँपालिकाको प्रमुख रहेका खड्गले राजनीतिमै लागेर ६–७ बिघा जग्गा मासिसके । ‘अलि धेरै जग्गा भएर अप्ठ्यारो नपरेको हो, त्यति मात्र जग्गा भएको भए म यतिबेला सुकुम्बासी भइसक्थेँ’, उनले कुरा नलुकाई भने ।

नेपाली कांग्रेसमा आबद्ध भएर २०४६ सालदेखि राजनीति थालेका खड्ग जिल्ला सदस्य, क्षेत्रीय सभापति हँुदै हाल महाधिवेशन प्रतिनिधि छन् । उनले कसैको कामको लागि एक लिटर पेट्रोल नलिएको बताउँदै यस्तै इमान्दारिताले राजवंशीहरुले केही गर्न नसकेको प्रष्ट्याए ।

यही आदर्शको राजनीति राजवंशीहरुको लागि अभिशाप बनेको छ  । अब धेरै दिन आफूहरु राजनीतिमा टिक्न नसक्ने राजवंशी नेतृत्वहरुले आशंका गरेका छन् । अहिलेको पुनःसंरचनालाई हेर्दा संसदीय निर्वाचनमा चाहेर पनि अब राजवंशीहरुले उठ्न र जित्न हिम्मत गर्न नसक्ने खड्गले बताए । अब एक÷दुई ठाउँभन्दा बढी स्थानीय तहमा पनि राजवंशीहरु नपर्ने राजवंशी अगुवाहरुको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्