Logo

झापा ३ः सिटौला र लिङ्देन यस्तो छ चुनावी रणनीत



झापा, ५ मंसिर । झापा क्षेत्र नम्बर ३ को चुनावी प्रतिस्पर्धा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपाका लागि जीवनमरणको सवाल बनेको छ । निर्वाचनमा बिजयी बन्न राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन र सिटौलाले फरक फरक नारा लिएर मतदाता समक्ष पुगेका छन् । रमाइलो त के छ भने सिटौलाको राजनीति मुद्धा लिङ्देनका लागि भारी भएको छ भने लिङ्देनले उठाउने बिकासको मुद्धा सिटौलाका लागि चुनौतीको पहाड बनेको छ ।
देशभर राप्रपासँग गठबन्धन गरेको नेपाली काँग्रेसले झापा ३ मा भने सिटौलाकै कारण तालमेल हुन सकेन । झापा ३ मा राप्रपाका प्रभावशाली नेता एवम् महामन्त्री लिङदेनलाई छाडेवापत मेचीमा राप्रपाले बाम गठबन्धनलाई सघाउने भएको हो । बाम गठबन्धनको मतका आधारमा लिङ्देनको जित सुनिश्चित हुनु पर्ने हो । तर, राप्रपाका नेता लिङ्देन विजयी बन्न कडा मेहनत गरिरहेका छन् । काँग्रेसका नेता सिटौला पनि निर्वाचन आफ्नो पक्षमा पार्न आक्रामक चुनावी प्रचारमा लागेका छन् ।
लिङ्देनको चुनावी नारा र रणनीति
राजेन्द्र लिङ्देन राप्रपामा अध्यक्ष कमल थापा पछिका प्रभावशाली नेता मानिन्छन् । गणितीय हिसावले राप्रपाले जित्ने ुनिश्चित जस्तै बनेको क्षेत्र हो झापा ३ । १७ हजार भन्दा बढी मतको फरक छ बाम–राप्रपा गठबन्धनको तरपनि लिङ्देन विजयी बन्नेमा ढुक्क हुन सकेका छैनन् । लिङ्देनलई लाग्ने राजनीतिक आरोपको उनी स्पष्टिकरण दिनु पर्ने अवस्थामा छन् । राजनीतिक मुद्धाका हिसावले लिङ्देन कमजोर देखिएका छन् ।
संविधान निर्माण हुनु अघिको हिन्दू राज्य र संवैधानिक राजतन्त्रको नारा प्रभावशाली हुन सकेको छैन । संविधान निर्माण भइसकेको अवस्थामा राप्रपाको यो नारा प्रति सामान्य मतदाता आकर्षित छैनन् । अर्कातर्फ बाममत पाउन यो नाराको कुनै अर्थ छैन । हिन्दू राज्य र राजतन्त्रको नारा लगाए बाम मतदाता भड्किएला भन्ने त्रासले उनले बिकासे नारा मात्र उठाउने गरेका छन् । लिङ्देनले कतिपय सभामा स्पष्टिकरण दिँदै भनेका छन् ‘मैले हिन्दू राज्य फर्काउने कुरा गरेको छैन, न त राजा फर्काउने नै कुरा गेको छु, म यो क्षेत्रको बिकास गर्न चाहान्छु, बिकासका लागि मत दिनुहोस, तपाईको मत खेर जाँदैन ।’
सिटौलाले यस क्षेत्रका लागि बिकास निर्माणको कार्य गर्न नसकेको आरोप लगाउने गरेका छन् । उनले सँधै बिकासको आश्वाशन दिएर काँग्रेसले जनतालाई उल्लु बनाएको आरोप लगाउँछन् । उनी हरेक सभा र भेलामा काँग्रेस र सिटौलाले पटक पटक निर्वाचन जितेपनि बिकासको सिन्को नभाँचेको आरोप लगाउँछन् ।
लिङ्देनलाई राम्ररी थाहा छ बाम मत नआएसम्म निर्वाचन जितिँदैन भनेर । यसका लागि एमाले र माओवादी नेता कार्यकर्तालाई सँगै लिएर हिँड्ने गर्दछन् । भेटघाट, सभा, सम्मेलनलाई तिब्रता दिएका छन् । शौचालय निर्माणदेखि कालोपत्र सडक निर्माण, कृषिको बिकास जस्ता नारा लिङ्देनको मुख्य एजेण्डा हुन् । ग्रामिण क्षेत्रका सर्वसाधारण यो नाराबाट आकर्षितपनि छन् । उनी बिकासे नाराले गाउँमा आक्रामक ढंगले चुनाव प्रचारमा लागेका छन् । उनको चुनावी रणनीति भनेकै बिकासे नारा हो । भारी खेप्नु परेको अवस्थामा उनको बिकासे नारामा मतदाताको आकर्षण कायम छ ।
लिङ्देनले मण्डले, राम थापाको हत्यामा संलग्नता, सुरज बिश्वास र राजन गिरीको हत्या, हिन्दू धर्म र राजतन्त्रवादीको आरोपको स्पष्टीकरण दिँदै आएका छन् । उनले मेची बहुमुखी क्याम्पसमा मारिएका राम थापाको हत्यामा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । उनले आफु यस्तो पर्वाग्रहबाट अघि नबढ्ने बताए । पञ्चायती व्यवस्थामा आफु राष्ट्रवादी विद्यार्थी मण्डलमा लागेको कुरा अस्वीकार गर्दैनन् । उनी भन्छन्, ‘त्यो एउटा समय थियो, जुन इतिहास भइसक्यो ।’ उनले भने, ‘क्याम्पस पढ्दा बामे भनेर साथीहरुलाई लात्तीले हानियो होला, हामीलाई पनि मण्डले भनेर भाटा हान्नु भो होला, तर यो इतिहास भइसक्यो ।’
लिङ्देन बिकास निर्माणमा आक्रामक छन् भने राजनीतिक मुद्धामा रक्षात्मक देखिएका छन् । उनका लागि बाम जनमत आफ्नो पक्षमा परिरहनु सबै भन्दा ठूलो चुनौती हो ।

सिटौलाको चुनावी नारा र रणनीति
काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र उनका कार्यकर्ता लिङ्देनप्रति आक्रामक ढंगले प्रस्तुत हुने गरेका छन् । उनले सबै सभा समारोह, भेलामा राजेन्द्र लिङ्देनलाई पञ्चायत कालको मण्डले भएको आरोप लगाउने गरेका छन् । उनले २०४६ सालको जनआन्दोलनमा मेची बहुमुखी क्यामपस भद्रपुरमा राम थापाको हत्यामा संलग्न भएको आरोप लगाउँछन् । राजा ज्ञानेन्द्रबाछ मनोनीत जिबिस झापाको सभापति हुँदा २०६२÷६३को जनआन्दोलनमा चन्द्रगढीमा भएको प्रदर्शनमा गोली हान्न आदेस दिएको आरोप लगाउन छुटाउँदैनन् । त्यस गाली काण्डमा उनकै कारण राजन गिरी र सुरज विश्वास हत्या भएको लगाउने गरेका छन् । लिङ्देन र उनको पार्टी प्रतिगामी, परिवर्तन बिरोधी मात्र होइन राजा फर्काएर गणतन्त्र र धर्मनिरपेक्ष राज्य उल्ट्उन लागेको आरोप लगाउने गरेका छन् ।
सिटौला १२ बुँदे सम्झौता, दोस्रो जनआन्दोलन, वृस्तृत शान्ति सम्झौता, गणतन्त्र र धमैनिरपैक्षता, संविधान निर्माणमा नेपाली काँग्रेस र आफुले खेलेको भूमिकाको स्मरण गर्न सबैलाई आग्रह गर्दछन् । ‘नेपालको शान्तिप्रक्रिया अझै पुरा भएको छैन, उनी भनछन् ‘संविधान कार्यान्वयनको चरणमा छौं यस्तो अवस्थामा अहिले नै प्रतिगामी शक्तिलाई च्यापेर हिँड्ने बेला भएको छैन ।’
सिटौला काँग्रेस र राप्रपा बीचको तालमेलको पनि आलोचना गर्न पछि पर्दैनन् । परिवर्तनका पक्षमा लडेका दलले राप्रपा जस्तो प्रतिगामी शक्तिलाई च्याप्ने बेला भइनसकेको बताउँछन् । गणतन्त्र र धर्मनिरपेक्षता नस्वीकारी तालमेल गर्ने काम गलत भएको टिपपणी गरेका छन् । उनले सभा सम्मेलनमा भन्ने गरेका छन् ‘नेता र पार्टीले गल्ती गरे कार्यकर्ताले सच्याउनु पर्छ ।’
काँग्रेसका नेता बाम सरकार बने अधिनायकवाद आउने, निरंकुशता लादिने जस्ता आरोप लगाएपनि झापा क्षेत्र नम्बर ३ मा सिटौला र उनका कार्यकर्ताका मुखबाट यस्ता टिप्पणी र आलोचना सुनिदैन । बाम मतदाता नचिढिउन भन्ने उदेश्यले सिटौलाले माओवादी र एमालेलाई गाली नगर्ने रणनीति बनाएका हुन् । उनी माओवादी र एमाले नेता कार्यकर्तालाई एक्ला एक्लै भेटघाट गर्ने, फोनबाट सहयोग माग्ने गरेका छन् । उनी राती २ बजेसम्म भेटघाटमा खटिने गरेका छन् । बिहान ५ बजे उठेका सिटौला ६ बजे देखि भेटघाट र कार्यक्रममा व्यस्त हुने गरेका छन् ।
सिटौला राजनीतिक मुद्धामा आक्रामक भएपनि बिकासका मुद्धामा रक्षात्मक अवस्थामा छन् । उनले आफुले साढे तीन अरवको बजेट ल्याएको बताउँछन् । अवको एक बर्षमा ३ नम्बर क्षेत्रको सबै सडक पिच हुने योजनामा पारेको बताउँछन् । तर स्थानीयले यि सबै कुरामा खासै विश्वास गरेका छैनन् । सिटौलासँग देखिने गरि भएको बिकास निर्माण कार्य एउटा पनि छैन ।
मेची राजमार्ग तीन बर्ष अघि नै बनिसक्नु पर्ने हो । तर, भर्खर निर्माण कार्य सुरु हुँदैछ । सडक बनाउन थाल्यो तर मतदाता धुलो खाएर बसाई हिाड्नु पर्ने अवस्थामा छन् । त्यसमा पनि केहि दिन अघि केपी ओलीले भद्रपुरको उक सार्वजनिक कार्यक्रममा मेची सडकको निर्माण कार्य आफु प्रधानमन्त्री भएका बेला योजनामा पारेको बताए । सिटौला आफुले बिकास गरेको भनेर जारी गरेको बिवरणमा मतदाताले खासै पत्याएका छैनन् । बिकास निर्माणको बिषयमा सिटौलाले स्पष्टिकरण दिँदै हिँड्नु परेको छ भने उनका राजनीतिक नारा प्रभावशाली छन् ।

यस्तो छ गणित
झापा क्षेत्र नम्बर ३ मा बाह्रदशी, हल्दीबारी र कचनकबल गाउँपालिका पर्छन् । भद्रपुर नगरपालिकाको वडा नम्बर १ देखि ८ नम्बर वडा र बिर्तामोडको वडा नं। १० पनि यहीँ समेटिएको छ । त्यसमध्ये हल्दीबारी र कचनकबल राप्रपाले जितेको छ भने बाह्रदशी गाउँपालिकामा कांग्रेस विजयी भएको थियो ।
यस निर्वाचन क्षेत्र अन्तरगत पर्ने स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले बाह्रदशी गाउँपालिकामा जित हात पारेको थियो । त्यस्तै भद्रपुर नगरपालिकाको वडा नम्बर ५ र ८ कांग्रेसले जितेको थियो । राप्रपाले यस क्षेत्रभित्र पर्ने नगरपालिकाका कुनै पनि वडा जितेको थिएन । एमालेले बिर्तामोड १० सहित भद्रपुरका २, ३, ६ र ७ नम्बर वडा जितेको थियो । माओवादीले भद्रपुरको ४ नम्बर वडा जितेको थियो ।
स्थानीय निर्वाचनमा प्रमुख पदहरुमा खसेको मतलाई आधार मानेर हेर्ने हो भने झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले २० हजार २२ मत पाएको देखिन्छ । राप्रपाले भने १३ हजार ७५० अर्थात कांगे्रस भन्दा झण्डै ७ हजार कम मत पाएको देखिन्छ ।
आगामी चुनावमा सिटौला र लिङदेन एक्लाएक्लै भिड्ने हो भने स्थानीय चुनावको आँकडाले उनीहरुवीच ७ हजार मत तलमाथि पर्ने अनुमान लगाउन सकिन्छ ।
स्थानीय चुनावमा यस क्षेत्रमा एमालेले १५ हजार ५६२ मत पाएको थियो भने माओवादीले ८९९१ मत पाएको थियो । एमाले र माओवादीको मत जोड्दा २४ हजार ५५३ पुग्छ । वामपन्थीको यो मत राजेन्द्र लिङदेनलाई थपिने हो भने उनले ३७ हजारको हाराहारीमा मत पाउन सक्छन् । यो भनेको कांग्रेसको भन्दा करिब १७ हजार बढी हो ।
दुबैको भर बाम मतदाता
झापा क्षेत्र नम्बर ३ मा राप्रपा र कांग्रेस एक्लाएक्लै लडेको स्थितिमा वाम गठबन्धनले जित्ने सम्भावना बलियो देखिन्छ । कांग्रेस र राप्रपा मिलेरै चुनाव लडेका भए पनि उनीहरुको मत र वाम गठबन्धनको मत लगभग बराबरै हुने देखिन्छ । तर, कांग्रेस एकातिर र वाम( राप्रपा गठबन्धन अर्कातिर हुनासाथ सिटौलाको भन्दा लिङदेनको पल्ला भारी हुने देखिन्छ ।
तरपनि पञ्चायत पृष्ठभूमीका लिङ्देनलाई बाम मतदाताले मतदान नगर्ने आंकलन काँग्रेसको छ । लिङ्देन निर्वाचित हुन बाम मतदाताले मतदान गर्नु पर्ने हुन्छ भने सिटौला विजयी बन्नपनि बाम मतदाताकै भर पर्नु पर्दछ । सिटौलाको राजनीतिक नारा र मुद्धा हावी भए काँग्रेसको पक्षमा परिणाम आउने र बिकासको मुद्धा हावी भए लिङ्देनको पक्षमा परिणाम आउने सम्भावना छ । बाम मतदाताको रुझान पार्टी निर्णय भन्दा फरक भए परिणाम सिटौलाको पक्षमा आउने काँग्रेसीजनको अपेक्षा छ ।

 

प्रतिक्रिया दिनुहोस्