Logo

जनआवाज : तापाईँले कस्तो उम्मेरदवारलाई भोट दिएर जिताउने सोच बनाउनु भएको छ ?



मेचीनगर ।प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउन केही दिन बाँकी रहदा झापामा चुनावी माहोलले गाउँ सहरलाई तताएको छ । विभिन्न दल , दल तर्फका उम्मेरदवार , कार्यकर्ता भोट माग्न घरदैलो कार्यक्रममा व्यस्त छन् । यता , निर्वाचन आयोग पनि मतदाता शिक्षा , कर्मचारी व्यवस्थापन , मतपत्रको व्यवस्थापन लगायतको कार्यमा ब्यस्त छ ।

चुनाव जती नजिकिएको छ त्यतिनै दलहरुले चुनावी प्रचार प्रसारलाई तिव्र पारेका छन् । घरदैलो कार्यक्रममा व्यस्त भएका दलहरुले विकासका एजेण्डालाई प्राथामिकता दिएका छन् भने , नेताहरुले यसभन्दा अधिको चुनावमा गरेको प्रतिवद्धता सुनेका जनताहरु भने पर्ख र हेरको अवस्थामा रहेका छन् । यसै विषयमा झापाको बुद्धशान्ति गाउँपालीका पुगेर सजिलो खवरकर्मी रोमन आचार्यले बुद्धशान्ती गाउँपालिका वडा नम्बर ६ सुनुवार टोलका केही स्थानीय मानिसहरुलाई आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनबाट तपार्इँले कस्तो उम्मेरदवारलाई जिताएर पठाउने सोच बनाउनु भएको छ भनेर सोध्नु भएको छ । उनीहरुको प्रतिक्रिया यस्तो छ :–

दिल बहादुर सुनुवार (बुद्ध शान्ती ६)

हामि साधारण खेती किसानी गरेर जीविकोपार्जनगर्ने मानिसहरु हौँ । खेती किसानीको अलवा नाङ्गलो बुनेर घर व्यवहार चलाइरहेका छौ । म उमेरले ६३ वर्ष पुगे । मैले भोट हालेर धेरै नेतालाई जिताइसकेको छु । यो चुनावमा पनि मतदान गर्दैछु ।

विगतको भन्दा केहि फरक उमंग जागेको छ यो चुनावमा मतदान गर्न । केहि नेताहरु भोट माग्न आइसके , केहि नेता आउँदै होलान् । सवैको कुरा सुन्छु उस्तै लाग्छ । यहाँ हामी १२ घर मिलेर सुनुवरा टोल नै बनेको छ । अधिल्लो चुनावहरुमा पनि नेताहरु यसरी नै भोट माग्न आउँथे । उनीहरुले पहिले पनि हामिलाई आश्वसन बाडेकै हुन् । यो चुनावमा पनि बाटो बनाइदिन्छु , खानेपानी ल्याइदिन्छु भन्दै नेताहरु आइपुगेका छन् । यहाँ हामि नाङ्गलो बुनेर आम्दानीको बैकल्पीक स्रोत पनि खोजेका छौ । तर नेताहरुले यो विषयलाई कहिल्यै ध्यान दिएनन् । यो पेशालाई पनि व्यवसायिक गर्न सकिन्छ भनेर सोचेनन् । हामिले पार्टीगत मुख धेरै हेर्यौ । एउटा भएको बालशिक्षा केन्द्रको पनि हालत दिन प्रतिदिन बिग्रदो छ , त्यसकारण यो चुनावमा म व्यक्ति हेरेर भोट हाल्ने छु । हामिलाई विकास छिट्टै भित्राउने नेता चाहिएको छ , जितेर केन्द्रमा हात बाधेर बस्ने नेता अब आवश्यक छैन ।

कमला मुखिया–(बुद्धशान्ति ६ )

यो निर्वाचनमा भोट त विकास गर्नेलाई दिने हो । यो क्षेत्रबाट हामि आश देखाउँने र विकास गर्ने उम्मेरदवारलाई जिताउ छौ । गाउँमा समस्याहरु धेरै छन् , विकासको पुर्वाधारमा सडक सञ्जाल , बाटो , खानेपानी , शिक्षा लगायतका विषयहरु पर्छन् । जसले यि विषयमा दिर्घकालीन योजना ल्याउँछन् , मेरो भोट उसैलाई जान्छ । म एक महिला पनि हुँ , अव हामी महिलाकालागि पनि कार्यक्रम ल्याउँने , यो क्षेत्रमा नाङ्गलो व्यवसाय छ यो घरेलु उद्घोगलाई प्रोत्साहान गर्ने कार्यक्रम ल्याउँनेलाई भोट दिने हो ।

रुद्रमणि कोइराला–(बुद्धशान्ति ६)

देशमा अस्थिर सरकार र अस्थिर राजनीति भएर विकासको बाटोमा अघि बढ्न सकेको छैन । यो निर्वाचनमा बहुमत ल्याउँने दललाई भोट हाल्नु पर्दछ र यहाँबाट जिताएर पठाउनु पर्ने जरुरी छ । म मात्र होइन क्षेत्र नम्बर १ र समग्र देश बासीले पार्टीगत रुपमा जुन पार्टीलाई भोट हाले पनि बहुमतको सरकार बन्ने गरेर भोट हाल्नु भयो भने देश विकास हुन्छ । त्यसकारण यो चुनावमा बहुमत ल्याउँने दललाई मेरो भोट जान्छ ।

चन्द्रमाया सुनुवार–(बुद्धशान्ति ६)

म उमेरले ६८ वर्ष पुगे । मैले पनि धेरै वटा चुनावमा भोट हाले । तर अहिँले मलाई कुन दललाई जिताउनु पर्दछ त्यो बारेमा शिक्षा छैन । दलहरु बिहान बेलुकै भोट माग्न आउँछन् । सवैलाई हुन्छ नानी भनेर पठाएको छु । अव त बुढापाका पनि भइएछ । मलाई यो चुनावको बारेमा राम्ररी ज्ञान पनि छैन । भोट त नानी हाल्नु पर्दछ तर कसलाई हाल्ने ,कसरी हाल्ने त्यसको बारेमा जानकारी छैन । अरुले विकास निर्माण गर्नेलाई दिने कुरा गर्छन् , अव त्यस्तै मान्छेलाई भोट दिनु पर्ला ।

दुर्गा देवी सुनुवार –(बुद्ध शान्ति ६ )

जसले विकास गर्छ उसैलाई भोट दिने हो । बाटो बनाउने , पुल बनाउने , घर मास्तिर कलपट बनाइदिनेलाई भोट दिने हो । धेरै जानेको बुझेको छैन । सवैले विकास गर्ने भोट दिनु पर्छ भन्छन् , अव उनीहरुलाई नै दिनु पर्ला । आस्वसन बाढ्दै भोट माग्दै आउछन् । बाटो खानेपानी ल्याइदिन्छु , कलपट बनाइदिन्छु भनेर गएका छन् । उनीहरुलाई नै भोट दिनुपर्ला ।

प्रस्तुती ः रोमन आचार्य

प्रतिक्रिया दिनुहोस्