Logo

७४ वर्षसम्म दिशा पुछ्न झारपातको साहारा



रोमन आचार्य
मेचीनगर १९ मंसिर । उमेरले ७४ वर्ष पुगेका राजेन्द्र यादवले आजसम्म शौच गर्न चर्पीको ढोका खोलेका छैनन् । उनले खुल्ला ठाउँमा दिशा , पिसाब गरेको दशक बितिसकेको छ ।

यादवको शरिर बुढो भइसक्यो । तर पनि अझै उनको बुढो शरिर दिशा पुस्न गोजीमा कागज वा हरियो घाँस बोकेर बिहान , बेलुका परिस्थिती अनुसार रातको समयमा समेत दिशा गर्न मेची खोलाको किनारमा धाउने गर्दछ ।
‘‘ म जन्मेर यहीँ हुर्केको हुँ , म बाहिरबाट आएको मानिस होइन’’, यादव प्रतिप्रश्न गर्छन् –‘‘न त मेरा बाहु बाजेले चर्पी बनाए , न त गाउँमा कसैमा चर्पी छ , मैले मात्र किन बनाउँने ?’’
यस्तो प्रतिप्रश्न यादवको मात्र होइन साविक ज्यामिरगढी गाविस वडा नम्बर २ तथा हालको मेचीनगर नगरपालिका वडा नम्बर १५ ग्वाल बस्तीका सवै मानिसहरुको छ । मेची पारी गाउँले चिनिने ग्वाल बस्ती , झारु बस्ती र शिशुडाँगी बस्तीमा बस्ने मानिसहरुको कसैको घरमा चर्पी छैन , न त उनीहरु बनाउने पक्षमै छन् ।
‘‘आजसम्म चलेको छ , कसैले किन बनाइनस् भनेर सोधेका छैनन्’’,यादव थप्छन्–‘‘हामिसँग चर्पी बनाउन सक्ने क्षमता छैन , त्यसैले कागज गोजीमा हालेर खोला धाउछौ ।’’ विरामी अवस्थामा समेत दिशा गर्न घिस्रिदै खोला पुग्नु पर्ने तितो सत्य उनीहरुको छ ।
अर्का ६० वर्षिय महिला विमला राजवंशी पनि आफु जन्मेर यो उमेर पार गरिसक्दा समेत चर्पीमा शौच नगरेको बताउँछिन् । चर्पी भए दिशा पिसाब गर्नकालागि सहज हुने उनको बुझाई छ । ‘‘चर्पी नभएर कत्ति समस्या छ हाम्रो , कसैले बुझदैनन्’’, उनी भन्छिन्–‘‘ आफुलाई बनाउन आउँदैन , छोराहरु आफ्नै घर व्यवहारमा छन् , कसले बनाइदेला र हजुर ।’’
यो बस्तीमा ४१ घरधुरी छ । यहाँ २ सय ५० जना भन्दा बढी मानिसहरुको बसोबास छ । खेती किसानी र पशुपालन गर्दै आएका यहाँका मानिसहरुको दैनिकि नेपाल भन्दा पनि भारतको रहनसहनले प्रभाव पारेको छ । स–साना झुपडि बनाएर बसेका बस्तीका मानिसहरु जीवन निर्वाहकालागि खेती कृषि बाहेक मजदुरीकालागि भारत र नेपालका विभिन्न स्थान जाने गरेका छन् ।
‘‘पाहुना आउँदा पनि सँगै खोलातिर लिएर जानु पर्दछ , लाज हुन्छ ’’, सोही ठाउँकी ४२ वर्षिय शतीमाया यादव भन्छिन्–‘‘हामि महिलाहरुलाई अझ समस्या हुन्छ , दिउँसो दिशा लाग्यो भने कहिल्यै त जानै पाइदैन ।’’ सामाजीक प्रतिष्ठा र व्यक्तिगत स्वास्थसँग जोडिएको यो विषयमा गम्भिर भए पनि परिस्थिती र परम्पराले गर्दा चर्पी बनाउन नसकिएको उनी बताउँछिन् ।

चर्पी बनाउन दिएको सामाग्रीको चरम दुरुपयोग

चरम गरिवी र भौतीक सेवा सुविधाले पछि परेको यो बस्तीमा साविक ज्यामिरगढी गाविसले केही वर्षअघि चर्पी बनाउने रिङ्ग र प्यान वितरण नगरेको भने होइन । तर , चर्पी बनाउन वितरण गरिएको सामाग्रीहरुको चरम दुरुपयोग भएको छ । चर्पी बनाउने रिङ्ग गाईलाई घास खुवाउने ढुडमा परिणत भएको छ भने कयौँ रिङ्गहरु फुटेर गएका छन् । ‘‘ हामिलाई चर्पी बनाउने सामाग्री दिएर उनीहरु भागे ’’, स्थानीय मोतीलाल यादव भन्छन्–‘‘उनीहरु जुन दिन आएर चर्पी बनाइदिन्छन् , हामि त्यहीँ दिनबाट चर्पीमा दिशा गर्छौ ।’’

गाविससँग तथ्यांक छैन ।

साविक ज्यामिरगढी गाविससँग साविक वडा नम्बर २ मा कसले कति लागतमा चर्पी बनाउने सामाग्री बितरण गरेको हो तथ्यांक छैन । साविक गाविस सचिव तथा हालका वडा सचिव रुद्र तिम्सिना आफु पहिलो पटक २०७० सालमा ज्यामिरगढी गाविसको सचिव भएर आउँदै उक्त क्षेत्रमा सामाग्री वितरण गरिएको र पछि गाविसहरु नगरपालिकामा समायोजन हुदाँ तथ्यांकहरु कतै परेको हुन सक्ने बताउँछन् ।

चेतनाको अभावमा चर्पी बनेन

‘‘चर्पी बनाउन नसक्ने परिस्थिती भन्दा पनि , कसैले बनाइदेला भन्ने आशमा बसेर यो समस्या आएको हो ’’ यो क्षेत्रमा सहकर्ताको रुपमा कार्य गरिरहेकी जानुका भट्टराई लामिछाने भन्छिन्–‘‘सामाग्री वितरण भएपश्चात् अनुगमन हुन सकेन , सहजकीरण र चेतना फैलाउने काम भएन र अभियानले सफलता लिन सकेन।’’
वडास्तरीय खानेपानी , सरसफाइ तथा स्वच्छता समन्वय समिति मेनपाको तथ्यांक अनुसार २ सय ७८ घरधुरी रहेको साविक ज्यामिरगढी गाविस वडा नम्बर २ मा १ सय ८९ चर्पी बन्न बाँकी छ । जसमध्धे ४१ बटा चर्पी मेची पारीको गाउँमा निर्माण गर्नु पर्ने अवस्था छ । यहाँ १ सय ७७ परिवार खुल्लामा शौच गर्दछन् भने १८ परिवारले कच्ची चर्पी बनाएका छन् । यस्तै ८३ बटा मापदण्ड पुगेका चर्पी छन् । अभियान लागु भएपश्चात् ६ बटा चर्पी बनेको छ ।
स–साना माटाका घर बनाएर बसेका यहाँका समुदायका मानिसहरु चर्पीमा दिशा पिसाब गर्नु पर्दछ भन्ने चेतनाको स्तर एकदमै न्यून छ । छिमेकी देश भारतमा सरकारले आफ्ना नागरिकलाई निशुल्क चर्पी बनाइदिएका कारण पनि यहाँका मानिसहरु सरकारले बनाइदियोस् भन्ने चाहान्छन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सरसफाइ फोकल पर्सन रुद्रबहादुर न्यौपाने सहजीकरणको अभवामा चर्पी बन्न नसकेको बताउँछन् । मानिसहरुमा चर्पी बनाउनु पर्दछ भन्ने ज्ञान भएपनि अनुदान र कसैले आएर बनाइदिन्छ भन्ने आशका कारण यस्तो चर्पी बन्न नसकेको उनको तर्क छ ।
यस्तै वडा नम्वर १५ का वडाध्यक्ष राजन भट्टराई पनि चेतनाका कारण यो अवस्था आएको बताउँछन् । ‘‘राज्यको मात्र दायित्व होइन , यो जनसरोकारको विषय हो र चर्पी म आफै बनाउछु भन्ने सोच नआएसम्म समस्या समाधान हुदैन’’,उनी भन्छन्–‘‘हामि अनुगमनमा पनि चुक्यौँ , त्यहाँका सर्वसाधारण जनताले सामाजीक प्रतिष्ठा र व्यक्तिगत स्वास्थलाई समेत ख्याल नगर्दा यो अवस्था आएको हो ।’’

समाधान उपाय के हुन सक्छ ?

‘‘प्रभावकारी अनुगमन र सहजीकरण हुन सके यहाँका मानिसहरुले चर्पी बनाउँछन्’’, फोकल पर्सन न्यौपाने भन्छन् –‘‘मानिसहरुलाई बुझाउन पर्दछ , चर्पी मैले बनाउनु पर्दछ भन्ने सोचको विकास गर्न जनचेतना फैलाउनै पर्दछ ।’’
२ हजार ३ सय ११ घरघुरी रहेको साविक ज्यामिरगढी गाविसमा अझै ९ सय १९ घरपरिवार खुल्ला स्थानमा शौच गर्दछन् । यहाँ १ सय ५७ परिवारद्धारा कच्ची चर्पीको प्रयोग र अभियानबाट १ सय ८ बटा चर्पी मात्र बनेको छ । तथ्यांकलाई आधार मान्ने हो भने अभियान कर्ताहरु पनि चुकेको देखिन्छ । ‘‘अभियान अगाडिबाटै सुरु भएपनि हामिले बनाएका समितिहरुले प्रभावकारी कार्य नगर्दा , हाम्रो अनुगमन फितलो हुदा जनमानसले नबुझदा अभियान फितलो हुन खोजेकै हो’’–साविक ज्यामिरगढी गाविसका सचिव रुद्र तिम्सिना भन्छन् ।
चर्पी मेरो स्वास्थकालागि हो र मैले नै निर्माण गर्नु पर्दछ भन्ने सोचँ जवसम्म सर्वसाधारण मानिसहरुमा आउँदैन तवसम्म खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न चुनौतीको विषय हो । वडा नम्बर १५ का वडाध्यक्ष राजन भट्टराई भन्छन् ‘‘निर्वाचन पश्चात् हामि अभियानलाई प्रभावकारी सफल पार्न भएका समिति चलायामान बनाउने , र यसलाई सार्थक तुल्याउन अभियानको रुपमा लिएर जाने सोचँमा छौ ।’’
सर्वसाधारण मानिसहरुले पनि सरकारको मुख नताकी चर्पी मेरो स्वास्थकालागि हो , खाएँ पछि मलाई दिशा आउँछ र त्यसलाई चर्पीमा मात्र लुकाउनु पर्दछ भन्ने सोचँ आउने हो भने मात्र अभियान सफल हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्