Logo

धान सूपर जोनमा १२ हजारको ड्रम सिडरको कमाल



झापा, २४ बैसाख । आधुनिक धान खेतीका लागि लाखौँ मूल्यको मेशिन प्रयोग हुँदै आएकोमा धान सूपर जोन बनियानीमा १२ हाजरको औजारबाट धान खेतिमा हुने लागत घटाउन सकिने भएको छ ।
परम्परागत धान खेति गर्ने प्रविधिलाई विस्थापित गर्न इन्धनबाट धान रोप्ने आधुनिक प्रविधियुक्त मेशिनको अव ड्रम सिडरले लिने भएको छ । धान रोप्ने आधुनिक मेशिन पाँच लाख देखि ३५ लाख मूल्यसम्म पर्दछन् । तर, भियतनामबाट आयातित ड्रम सिडर नामको सामान्य औजार ठूला मेशिनको जत्तिकै काम गर्न सक्ने देखिएको छ । नेपालमै पहिलो पटक धान सूपर जोन बनियानीमा ड्रम सिडरको प्रयोग भएको बरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाले बताए ।
कसरी प्रगोग गर्ने ?
बरिष्ठ कृषि अधिकृत तिमल्सिनाका अनुसार धानको बिउलाई टुसाउनु पर्दछ । यसरी टुसाएको बिउलाई ड्रम सिडरमा हाल्ने र हिलो बनाएको बनाएको खेतमा ड्रम सिडरका माध्यमबाट छर्नु पर्दछ । एक जनाले ड्रम सिडरलाई बिस्तारै तान्ने, यसरी तान्दा ड्रम घुम्ने गर्दछ र ड्रमको प्वालबाट एक एक बटा टुसाएको धानको बिउ हिलो खेतमा झर्दछ । धानको बिउ सानो आकारको छ भने सानो प्वालबाट र ठूलो आकारको छ भने ठूलो आकारको प्वालबाट झार्न सकिन्छ । बिउ झर्दा लाइनमा झर्ने भएकाले धान हुर्कदा आधुनिक मेशिनले रोपे जस्तै लाईनबद्ध हुने गर्दछ । यसरी छरिएको धान २५ दिनपछि एस.आर.आई. उइडरबाट गोडमेल गर्नु पर्दछ । ड्रम सिडरबाट गरिने खेतिमा धानको बिउ गुणस्तरको हुनु पर्दछ । प्राङ्गारिक तथा रसायनिक मलको मात्रा मिलाएर प्रयोग गर्दा उत्पादन राम्रो हुन्छ ।
ड्रम सिडरबाट लागत घट्ने
पराम्परागत धान खेतिमा लागत र समय बढी लाग्ने गर्दथ्यो । आधुनिक मेशिनबाट धान खेति गर्न सजिलो भएपनि प्रविधिमा धेरै लगानी गर्नु पर्ने अवस्था थियो । तर, ड्रम सिडरको मूल्य जम्मा १२ हजार पर्दछ । त्यसमा पनि ६ हजार सरकारले अनुदान दिने गर्दछ । यसले धान खेतिमा हुने ४० प्रतिशत लागत घटाउने बरिष्ठ कृषि अधिकृत तिमल्सिनाले बताए । भियतनाम र थाइल्याण्डमा व्यापक प्रयोग भएको ड्रम सिडरको नेपालमा पहिलो प्रयोग भएको तिमल्सिनाले बताए । उनले भने, बनियानीका कृषकमा ड्रम सिडरको व्यापक माग भएको छ । कृषक ड्रम सिडरको प्रयोगबाट ५० बिगा भन्दा बढीमा धान खेति गर्न तयार भएका छन् । सूपर जोन संचालक समिति सचिव भगिरथा प्याकुरेलले ड्रम सिडरको कृषकमा राम्रो प्रभाव परेको बताइन् । उनले भनीन्, कृषकको लागत घटाउने औजार हो ड्रम सिडर ।
स्थानीय ठाउँमै बनाउन सकिने
भियतनामबाट भित्रिएको ड्रम सिडर स्थानीय गृल उद्योगले पनि निर्माण गर्न सक्ने खालको छ । यसमा कुनै जटिलता छैन । अति सरल भएकाले स्थानीय गृल उद्योगले एउटा नमूना हेरेर बनाउन सक्ने तिमल्सिनाले बताए । उनले यसका लागि विदेशबाटै आयात गर्नु पर्छ भन्ने छैन । ड्रम सिडरको व्यापक प्रगोग हुन सके धानमा लागत घटाउन बरदान सवित हुने तिमल्सिनाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्