Logo

मोदीको भ्रमणमा ओलीमाथि आक्रमण



अहिले सर्वत्र चर्चाको विषय बनेको छ , भारतीय प्रधानमन्त्री नरेन्द मोदीको नेपाल भ्रमण । मोदीको नेपाल भ्रमणको विषयलाई लिएर भइरहेको प्रायोजित विरोधको अन्तरकुन्तर बेग्लै छ । यो भ्रमणलाई आधारमा राखेर एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीमाथि तिब्र आलोचना गर्ने काम भइरहेको छ । निर्वाचनपछि एमालेले प्राप्त गरेको उचाई र प्रधानमन्त्री ओलीको लोकप्रियतालाई गिराउने अनेक प्रयास भइरहेको बेला मोदीको भ्रमणलाई हतियार बनाउने काम भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण गरेर फर्किए । छिमेकी मित्र राष्ट्रको नाताले मोदीलाई पनि निम्तो गर्नु स्वभाविक छ । सोहि अनुसार मोदीको भ्रमण तय भयो । यो भ्रमणलाई नाकाबन्दीसँग जोडेर विरोध गर्ने काम भएको छ । नाकाबन्दी सहित विभिन्न विषयलाई जोडेर प्रधानमन्त्री ओलीको विरोध यो तहसम्म हुनु सरकारलाई असफल बनाउनु मात्र होइन, सुध्रिएको नेपाल भारत सम्बन्धलाई थप प्रभावित गराउने प्रयास हो ।

नाकाबन्दीको सवाल मोदीसँग मात्र जोडेर चित्त बुझाउने ठाँउ छैन । नाकाबन्दीको समयमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र मधेसमा सिमामा पाल टाँगेर नाकाबन्दीलाई सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्ने मधेशवादी दलको कुनै सम्झना गरिएको छैन । तर, केपी ओलीले भारतसँग शिर नझुकाई नेपालीको स्वभिमान बचाएको धेरैलाई चित्त बुझेको छैन । भारतसँग झुकेको भए, चुनावमा कमजोर परिणाम आएको भए अहिलेको अवस्था आउने थिएन । विरोधका लागि नाकाबन्दी,जनकपुर आगमन र सरसफाईकको विषयलाई प्राथमिकताका साथ उठाइएको छ ।

यस्तो विरोध भइरहेको छ कि, नाकाबन्दी केपी ओलीले गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदीको विरोध पनि हदै भएको छ । सरकारको नेतृत्व गरिरहेका ओलीमाथि प्रश्न गर्ने गरी भइरहेको विरोध सामान्य छैन । सामाजिक सञ्जालका भित्ताहरु ओली र मोदीको विरोधमा रंगिएका छन् । मोदी भ्रमणलाई लिएर भईरहेको विरोधले आम नेपालीको प्रवृत्ति छर्लग भएको छ ।

शक्ति राष्ट्र भारतका प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नु राम्रो हो । त्यसका लागि आम नेपाली स्वागतका गर्न तयार हुनुपर्छ । नाकाबन्दी गरेर नेपालीलाई दिएको सास्ती लेखाजोखा गर्न नसकिने अवस्था छ । भारतले नाकाबन्दी गरेर नेपालीको दैनिक जीवनमा अपराध नै गरेको हो । त्यो समय नाकाबन्दीको विरोध गर्ने केपी ओली अहिले चौतर्फी आलोचनाको घेरामा छन् । उनले मोदीसँग युद्ध घोषणा गर्नुपर्ने ? अथवा,भारतसँग कांग्रेसकै लिगेसी प्रयोग गर्नुपर्ने ? ओलीले राष्ट्रवाद देखाएको कसैलाई मन परेन ? के झुक्नुपर्ने हो ?

पहिलो पटक ओली प्रधानमन्त्री हुँदै गर्दा नाकाबन्दी थियो । तत्कालिन प्रधानमन्त्री शुशिल कोईराला र उनको पार्टीले नाकाबन्दी भन्न समेत डरायो । अहिले कांग्रेसीजन नै मोदीको भ्रमणलाई लिएर विरोधमा उत्रेका छन् । यो विरोधको कथा नाकाबन्दीको विरोध होइन,ओली सरकारलाई कमजोर बनाउने हतकण्डा मात्र हो । जनताको प्रिय सरकारलाई आलोचना गरेर जनमत तान्न खोज्नु प्रतिपक्षको धर्म पनि हो ।

अर्को जनकपुरमा लेण्ड गर्ने विषयलाई उठाइएको छ । यो हाम्रो लागि खुसीको कुरा हो । किनभने,जनकपुरधाम नेपालीको सम्पत्ति हो । जनकपुरधाम आम नेपालीको गरिमा हो । त्यहाँबाट मोदीको भ्रमण शुरु हुनु आम नेपालीको सम्मान हो । तर,उनको भ्रमणलाई कारण बनाएर नेपालीले आफ्नो हविगत देखाइरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्रीले स्वागत गर्नु लम्पसारवाद भनिदैछ । त्यसो भए,प्रधानमन्त्री ओलीलाई भारतले राजकीय सम्मान गर्नु नेपालप्रति भारतको महालम्पसारबाद हो ? यस्ता विषयको विरोध गर्नु बाँदरे स्वभाव हो । जसले केहि गर्दैन र गर्न पनि दिदैन ।

मोदीलाई नेपालमा उच्च तहको सम्मान गर्नुपर्छ । किनभने,उनले अघिल्लो वर्ष लगाएको नाकाबन्दीको पश्चाताप होस । तर,अहिले प्रतिपक्षले प्रायोजन गरेको विरोध कार्यक्रमले मोदी फर्केर फेरि नाकाबन्दी गरुन् र सरकारलाई कमजोर बनाउन पाउँ भन्ने तपस्या हो । कुकुरले खुट्टा टोक्यो भनेर कुकुरको पनि खुट्टा टोक्ने प्रबृत्ति हो नेपालीको ?

जनकपुरमा मोदी आउने भएपछि सरसफाई भव्य भयो । जनकपुरलाई बेहुली झै सिगारिएको छ , के सरसफाई गरेकोमा विरोध गर्नुको तुक छ ? सरसफाई नहुदाँ पनि विरोध र हुँदा पनि विरोध अचम्म छ । नेपाल भारतको सम्वन्धलाई विगार्ने खेल अझै भइरहेको छ । त्यसका लागि यो समयको उपयोग गरियो । विरोधको सिमा पनि एउटा स्टान्डरमा हुनुपर्छ । तर,अहिले जुन प्रकारले विरोध गर्ने काम भइरहेको छ, असभ्य र कचिलो छ । ६५ वर्ष पछि किम जोङले शत्रुराष्ट्रसँग सम्वन्ध सुधार गरे । यसबाट नेपालीले पाठ सिक्न जरुरी छ ।

नरेन्द्र मोदीले नेपालमा कसको सहारा लिएर नाकाबन्दी गरे सबैलाई थाहा छ । हिजो नाकाबन्दी गर्दा थाहा नपाए झै गर्नेहरु अहिले बुरुक–बुरुक गरिरहेका छन् । एमालेलाई कमजोर बनाउन,वाम गठबन्धनको एकतालाई प्रभावित बनाउन र हारको पीडालाई भूल्न विरोधको फण्डा बनाइएको छ । ओली लम्पसार भए,भारतमुखी भए भन्नेहरुलाई प्रश्न छ,कांग्रेसको इतिहास केहो फेर्केर हेरेको छ ? नाकाबन्दीमा कांग्रेसले के ग¥या? सायद त्यो राष्ट्रवाद होला ।

हो,केहि गल्ती भएका छन् । मोदीको भ्रमणमा भारतीय सुरक्षाकर्मी ल्याउने कुरा गलत हो । नेपाली जनताको दैनिकीलाई प्रभावित बनाउने गरी नागरिकको आवत–जावत नै बन्द गर्ने कुरा गलत छ । तर,यो प्रधानमन्त्री ओलीको लम्पसारबाद होइन । ओलीको अडान मोदीले बदल्न सक्दैनन् । यो प्रायोजित विरोधको कुनै अर्थ छैन । नाकाबन्दी गर्ने मोदीलाई सम्मान गरेर लज्जित बनाइदिउँ ।

प्रतिक्रिया दिनुहोस्