Logo

मेची नदीको पीडा : तटबन्ध अधुरो छाड्दा बस्ती नै जोखिममा



भद्रपुर, असार ३१ । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची नदी किनारको सुकुम्बासी बस्तीका ७० वर्षीय मजुबुल शेखको परिवार अहिले छिमेकीको शरणमा छ । नदीले जमिन कटान गर्दै घर नै बगाउने अवस्था आएपछि सबै लत्ताकपडा र सामान लिएर शेखको पाँच जनाको परिवार विस्थापित भएको हो ।

नदीमा पुन ः बाढी आए घर बगाउने अवस्था रहेको उनले सुनाए । उनी अहिले दिउँसो कटान गरेको स्थानमा पुग्छन् र नदीले बगाउन लागेको घर हेरेर फर्कन्छन् । भने, ‘तटबन्ध केही मिटर बढाएको भए यसरी हाम्रो बिचल्ली हुने थिएन ।’

बाढीका कारण नदी धार परिवर्तन गरी बग्न थालेपछि नेपालतर्फको जमिन कटान सुरु भएको छ । बस्ती नै बग्ने खतरा भएपछि २० भन्दा बढी परिवार एकैपटक विस्थापित बनेका हुन् । सूर्य एन्ड सन्स जेभीले तटबन्ध निर्माणलाई अधुरै छाडेपछि नदीले जमिन कटान गर्न थालेको पीडितको गुनासो छ । तटबन्ध बनेको स्थानमा क्षति नभए पनि अन्य स्थानमा नदीले कटान गर्न थालेको जनाइएको छ । मेची पुलको दक्षिणतर्फ रहेको सुकुम्बासी बस्तीका ४० परिवारमध्ये आधा विस्थापित भइसक्दा पनि स्थानीय सरकारले व्यवस्थापनमा सहयोग नगरेको स्थानीयको गुनासो छ ।

‘हामी नगरपालिकामा गयांै, मेयरलाई समस्याका विषयमा बतायौं तर केही सुनुवाइ भएन’, शेखले भने । मेयर जीवनकुमार श्रेष्ठले अहिले केही गर्न सक्ने अवस्था नरहेको बताएको पीडितको गुनासो छ । स्थानीय रजनी शेखले भनिन्, ‘अहिले मेची नदी बस्तीछेउ आइपुगेको छ । हाम्रो त उठिबास नै लागेको छ ।’

बर्सेनि डुबानको चपेटामा पर्दै आएका स्थानीयलाई यस पटक भने कटानको चिन्ता देखिएको छ । मेची पुलबाट दक्षिणतर्फको बस्ती जोगाउन १७० मिटर तटबन्ध बनाइएको र बाँकी काम नगर्दा समस्या आएको जनाइएको छ । थप ७० मिटर तटबन्ध निर्माणका लागि स्थानीयले भद्रपुर नगरपालिका, पुल निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीसमक्ष माग गरेका थिए । तर, कतैबाट सुनुवाइ नभएको स्थानीय अजय सिंहले बताए । भद्रपुर–५ नम्बर वडामा रहेको बस्तीका स्थानीयलाई बाढी आए नजिकै रहेको भद्रपुर माविमा बस्ने व्यवस्थाबाहेक अन्य केही काम नभएको उनको भनाइ छ । भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्कीले विस्थापित परिवारलाई सुरिक्षत स्थानमा सार्ने योजना रहेको सुनाए । भने, ‘त्यसबाहेक थप काम गर्न स्रोतको अभाव छ ।’

इन्जिनियर सहितको टोलीले तटबन्ध नबढाइए बस्ती पुन ः डुबानमा पर्ने निष्कर्ष निकालेको थियो । पूर्वतर्फ मेची नदी र पश्चिममा पैनीसहितको खोलाले बर्सेनि बस्ती डुबाउने र कटान गर्ने गरेको छ । पुल निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाले भने, ‘हुलाकी राजमार्ग आयोजनाले बजेट निकासा गर्नासाथ अधुरो तटबन्ध बनाउने योजना छ ।’

भद्रपुरका मेयर श्रेष्ठले सुकुम्बासी बस्तीसहित भैसाबारीका १ सय २४, मेचीपारिकै नेपाली बस्ती भाङबारीका १ सय १५ र हात्तीमाराका १ सय परिवार बाढी र कटानको जोखिममा रहेको बताए । भने, ‘अब तटबन्ध र सामूहिक आवासगृह निर्माण गर्ने नगरपालिकाको तयारी छ ।’

प्रतिक्रिया दिनुहोस्