Logo

बिर्तामोड नगरपालिका कृषिमा लगानी बढाउँदै



झापा, २ जेठ । बिर्तामोड नगरपालिकाले कृषि उत्पादन वृद्धि गर्न गएको आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्ष २०७५÷०७६ मा बढी रकम विनियोजन गरेको छ ।

कृषि उत्पादन वृद्धि गर्न तथा अग्र्यानिक उत्पादनका लागि नगरपालिका मेयर विषादी मुक्त कार्यक्रम, युवा लक्षित र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम संचालित छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा युवा लक्षित कार्यक्रम संचालन भएको नगरपालिका कृषि शाखाले जनाएको छ । बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत चार वटा पकेट क्षेत्र सञ्चालमा संचालनमा ल्याएको छ । तरकारीमा दुई, धान र च्याउका एक एक वटा पकेट क्षेत्र छन् ।

नगरपालिकाको ८५ र कृषकको १५ प्रतिशत लागतमा साझेदारी कार्यक्रम सञ्चालन भएको नगरपालिकाले जनाएको छ । कृषकले उत्पादन वृद्धि गर्न जोत्ने, धान काट्ने, सिचाईका लागि पाईप, पावर स्पे्रयर लगायतका सामग्री खरिद गरेका छन् ।

बिर्तामोड नगरपालिकाले नगरलाई बिसादी मुक्त नगर बनाउने घोषणा गरेको छ । नगरपालिकाले मेयर विषादी मुक्त कार्यक्रम संचालन गरे पछि किसान लाभान्वित भएका हुन् । मेयर विषादी मुक्त कार्यक्रम अन्तरगत कृषकले तालिम, माछा पोखरी निर्माण, फलफूलका बिरुवा तथा धानको बिउमा अनुदान पाउने गरेका छन् । नगरपालिकाले ८३ वटा कृषक समूह मार्फत विषादी मुक्त र बजार अनुगमन कार्यक्रम संचालन गर्दै आएको छ ।

नगरपालिकाले बढी आम्दानी हुने बाली लगाउन कृषकलाई प्रोत्साहित गरेको प्रमुख प्रसाशकीय अधिकृत पशुपति खतिवडाले बताए । उनले ५ वर्षमा नगरको सिचाई योग्य जमिनमा सिचाई पूर्याउने लक्ष्य लिएको जानकारी दिए । उनले भने, बेमौसमी तरकारीको मूल्य बढी हुने भएकाले कृषकलाई बढी फाइदा हुन्छ ।

अधिकृत खतिवडाले कृषक समूहलाई अनुदान दिएर कृषि पेशामा उत्प्रेरित गर्ने योजना रहेको बताए । उनले प्रत्येक कृषि समूहले आगामी दिनमा कृषि प्रविधि भित्रियाउन सक्ने बनाउने बताए ।

नगरपालिकाले गएको वर्ष एउटा पकेट क्षेत्रलाई ३ लाख ५० हजार अनुदान दिएको थियो भने यस वर्ष ५ लाख दिएको छ । पकेट क्षेत्र कार्यक्रमबाट नगरका १ सय १३ जना कृषक लाभान्वित भएका छन् । .

पेशाले शिक्षक रहेका बिर्तामोड–६ का पुष्पलाल राजवंशी युवा लक्षित कार्यक्रम मार्फत नै तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । राजवंशीले दुई वर्ष अघिबाट तरकारी खेती सुरु गरेका हुन् । उनले अग्र्यानिक तरकारी उत्पादन गर्ने लक्ष्य लिएको बताए ।

बिर्तामोड–४ का अर्का कृषक विदुर तिवारीले प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजनाको सहयोगमा च्याउ खेती गरेका छन् । तिवारीले गएको वर्ष च्याउ खेती पकेट कार्यक्रमबाट ३ लाख ५० हजार अनुदान पाएका थिए । उनले २२ वटा टनेलमा च्याउ खेती गर्दै आएका छन् । एक सिजन ७ वटा टनेलसम्म च्याउ लगाउने गरेको उनले बताए ।

बिर्तामोड नगरपालिकाको अगर्यानिक नगर बनाउने लक्ष्यले सकारात्मक सन्देश दिएको छ । कृषकमा उत्साह छाएको छ भने नगरको सम्वृद्धिको एउटा आधार हुन सक्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्