तारामणि सापकोटा
बंगलादेश(ढाका), १५ माघ । बंगलादेशको ढाकामा जारी अन्तर्राष्ट्रिय व्यापार मेलाका सहभागी नेपाली व्यवसायीले निर्यात गर्ने संगठित संस्था नहुँदा निर्यात व्यापार कमजोर वनेको औल्याए ।
ढाकास्थित नेपाली राजदूतावासले नेपाली व्यवसायीसँग सोमवार साँझ गरेको छलफलका सहभागीले निर्यात प्रवद्र्धन गर्ने संगठित सँस्था नहुँदा नेपालको अन्तर्राष्ट्रिय बजार साँघुरो भएको बताएका हुन् ।
कार्यवाहक राजदूत धनबहादुर वलीले २४ औँ ढाका अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी हुन आएका नेपाली व्यावसायीलाई दूतावासमा स्वागत गर्दै सरकारले राजदूतावास मार्फत निर्यात प्रवद्र्धनमा जोड दिने नीति लिएको जनाए । उनले प्रधानमन्त्री, अर्थ मन्त्री, वाणिज्य मन्त्री लगायत सिंगो सरकार निर्यात प्रवद्र्धन बढाउने र व्यापार घाटा कम गर्ने कुरामा चिन्तित रहेको बताए । उनले नेपाली उत्पादन निर्यातका लागि बंगलादेश उत्कृष्ठ वजार रहेको बताए । ‘बंगलादेश सरकारले नेपाली उत्पादन ९३ वटा बस्तुको सूची मागे पनि हामीले दिन सकेनौ’, उनले थपे,‘नेपालमा निर्यात गर्ने संगठित संस्था नहुँदाको परिणाम हो यो ।’
नेपालमा आयात तथा उत्पादन कार्यमा संलग्न व्यवसायीका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल च्याम्बर अफ कमर्स जस्ता संस्था भए पनि निर्यात गर्ने अलग्गै संगठित संस्थाको अभाव खड्किएको नेपाली व्यवसायीको प्रतिक्रिया थियो । सहभागीको जोड थियो, नेपालको उत्पादन निर्यात प्रवद्र्धनका लागि अलग्गै संस्थाको आवश्यकतामा छ ।
रिलायन्स ग्रुपका पवन गोल्यानले निर्यात प्रवद्र्धन गर्न अलग्गै संस्था नभएसम्म निर्यात प्रवद्र्धन हुन नसक्ने बताए । सौरभ ग्रुपका अध्यक्ष विष्णु न्यौपानेले नेपालले कृषि र सेवा निर्यात गर्न सम्भावना भएको बताए । तर, त्यसका लागि संगगित संस्था नुहुँदा समस्या भएको भताए । उनले भने, अव आयात निर्यात एउटै संस्थाबाट सम्भव छैन ।
नेपाल बंगलादेश च्याम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले नेपालबाट निर्यात हुने मुख्य बस्तु कृषि उत्पादन र हस्तकला मुख्य रहेको बताए । उनले आयातित कच्चा पदार्थबाट उत्पादित समग्री निर्यात गरेर आयात प्रतिस्थापन नहुने बताए ।
नेपालको बंगलादेश राम्रो बजार भए पनि भन्सारको झमेलाले निर्यातमा कठिनाइ भएको संस्थापक अध्यक्ष जैनको धारणा थियो । नेपालमा उत्पादित ६ रुपैयाको एक केजी बन्दा कोपीको ६० टाका, २ सय २० डलरको एक टन अदुवा निर्यात गर्दा बंगलादेश भन्सारले ९ सय डलर मूल्यांकन गर्ने र ५७ प्रतिशत भन्सार असुल्ने गरेको जैनले बताए । उनले निर्यात प्रवद्र्धनका लागि संगठित संस्था आवश्यक भए पनि त्यो संस्था राजनीति गर्ने थलो बन्न नहुने बताए । उनले भने, ठूला निर्यातकर्ताले साना निर्यातकर्तालाई ओझेलमा पार्न सक्छन् ।
नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देवीका बुढाथोकीले बंगलादेश नेपाली उत्पादन निर्यात गर्न सकिने राम्रो बजार भए पनि भन्सार र भिषाको समस्या हुने गरेको बताइन् । उनले नेपाली हस्तकला उत्पादन निर्यात प्रवद्र्धन गर्न महिला महासंद्धले ठूलो संघर्ष गर्नु परेको अनुभव सुनाइन् । उनले महासंघले महिलालाई दक्ष बनाउँदै उत्पादनमा जोड दिएको बताइन् ।
नेपाल हस्तकला कालिगढ संघका अध्यक्ष हरी सेन्च्युरीले नेपाली युवा विदेशीने क्रम नरोकिएको अवस्था छ भने अर्को तर्फ दक्ष जनशक्तिको अभावमा हस्तकला उत्पादनमा समस्या भएको बताए । यार्चा गुम्बा लगायतका जडिबुटी निर्यात गर्दै आएका धनबहादुर लामाले जडिबुटी निर्यात गर्न भन्सारको समस्या हुने गरेको बताए । उनले निर्यातमा सहजिकरण हुनु पर्नेमा जोड दिए ।