Logo

झापामा ई-रिक्सा चालकलाई रोजीरोटीको चिन्ता



झापा, असार २ । छ वर्ष अघि देखि झापाको बिर्तामोड क्षेत्रमा रिक्सा कुदाउँदै आएका बुट्टाबारीका सुकुलाल राजबंशीले व्याट्रिबाट चल्ने ई–रिक्सा बजारमा आउनसाथ दई वर्ष अघिमात्र ऋण गरेरनै ई–रिक्सा किने । समय सापेक्ष खुट्टाले पेल्नुपर्ने रिक्सामा यात्रु चढ्न छाडेपछी ई–रिक्सा किन्नुपर्ने उनको बाध्यता थियो ।

करिब एक वर्ष त यसबाट राम्रै कमाई भयो । तर अहिले पुन बजारमा पेट्रोलबाट चल्ने अटो रिक्सा आएपछि उनको व्यवसाय संकटमा पर्न लागेको छ । अटो रिक्सा जति ई–रिक्सा दौडन नसक्ने, चार्ज कम भए ढिलो दौडने, उकालोमा नतान्ने जस्ता कारणले वातावरण मैत्री भनिएको ई–रिक्सालाई अटो रिक्साले बिस्थापन गर्न थालेको छ ।

‘अटो रिक्सा उकालो ओरालो जहाँ पनि छिटो दौडन सक्छ, प्रेटोल भए चलिहाल्छ ई–रिक्सा चालक सुकुलालले भने – अहिले सबैलाई छिटो चाहिएको छ, सबै त्यता चढ्दा हाम्रो व्यवसाय पुन संकटमा पर्न लाग्यो ।’ मिहिनेत अनुसारको प्रतिफल नपाएका कारण ई–रिक्सा चालकहरुमा निराशा अधिक मात्रामा रहेको उनले बताए ।

केही वर्ष अगाडिसम्म काम अनुसारको आर्थिक उपार्जन गरेका ई–रिक्सा चालकहरुको हाल आएर रोजी रोटी गुम्ने अवस्था रहेको अर्का चालक डम्बर अधिकारी बताउँछन् । ‘बढी मिहिनेत र परिश्रम गर्दा पनि आफ्नै दौनिकी चलाउन मुस्किल परेको छ, उनि भन्छन्– आर्थिक अभावकै कारण बालबालिकालाई पठाउन र घर खर्च टार्न पनि समस्या होला जस्तो छ ।’

दिनभरि ग्राहकको खोजीमा हिँड्दा पनि आफ्नो किस्ता र घरपरिवारको आवश्यकता पु¥याउन समस्या पर्ने गरेको धेरैजसो ई–रिक्सा चालक बताउछन् । धुलो धुँवा, वर्षात धामपानीको प्रवाह नगरी आफ्नो पेसामा लाग्दा पनि आफ्नो आधारभूत आवश्यकता पूरा नभएकाले ई–रिक्साको विकल्प सोच्नुपर्ने बाध्यता भएको उनीहरुको तर्क छ ।

‘पहिलेका पाईटलवाला रिक्सालाई ई–रिक्साले बिस्थापन ग¥यो अहिले अटो रिक्साको कारण हामि बिस्थापित हुँदैछौँ अब प्रतिस्प्रधा गर्न पनि पेट्रोलबाटनै चल्ने अटो किन्ने सुरमा छु,’ बिर्तामोड ५ पाथिभरा टोलका ई–रिक्सा चालक अमर सुनुवार भन्छन् । प्रतिस्प्रधाकै लागि अटो रिक्सा किन्नु पर्दा ऋण माथि ऋण थपिन लागेको सुनुवार गुनासो गर्छन ।

‘पहिले वातावरणमैत्री भन्दै ई–रिक्सा किनियो, त्यो किनेको ऋण तिरिनसकी अटो रिक्सा चल्न थाल्यो अब त्यो पनि किन्नुपर्ने हुँदा पुन ऋण लाग्ने भयो’ उनि भन्छन् । वातावरण मैत्री भनिएको ई–रिक्सा अर्थात सिटी सवारीलाई नै बिस्थापित गर्ने गरी सरकारी संयन्त्रबाट नै मापदण्डविपरीत अटो रिक्सा सञ्चालन गर्न दिएकाले आफ्नो पेसा संकटमा परेको उनीहरूको आरोप छ । अहिले झापाको बिर्तामोड, भद्रपुर, दमक, झिझिले, चारआली, सबै क्षेत्रमा पेटोलबाट चल्ने अटो रिक्साकै संख्या बढि छ । ई–रिक्सा भने फाट फुटमात्र चलेको भेटिन्छ । अधिकाँस चालु अबस्थामा रहेका ई–रिक्सापनि अटो सोरुममा साटेर अटो कुदाउनेको संख्या बढि छ ।

अटो रिक्सा भित्रीको केहि समय मात्र भएको र सबै नयाँ भएकाले प्रदुषण पनि नहुँदा सबैको ध्यान त्यसैमा गएको छ । तर पुरानो हुँदै जाँदा निस्कने धुवाले वातावरण प्रदुषण हुनेमा कसैको ध्यान नगएको बिर्तामोड भद्रपुर रोडका स्थानिय दिपा पौडेल बताउछिन् । ‘ई–रिक्सानै ठिकै थियो, टाढा जानुपरे बस, ट्याक्सि थिए, नजिकमा त्यसैले पु¥याउँथो धुवा पनि फाल्दैन, आवाज पनि आउँदैन, तर कसैले त्यो सोचेन, पौडेल भन्छिन्– भविश्यमा आउने समस्यालाई सम्बन्धित निकायले पनि ख्याल गरे हुनेथियो ।’

यता यातायात व्यवस्था कार्यालयले पनि ई–रिक्सा र अटो रिक्साको तथ्याङ्कलाई एकैठाउँ राख्ने गरेको छ । जसको कारण अहिले झापामा कति वातावरण मैत्रि ई–रिक्सा र कति पेट्रोलबाट चल्ने अटो रिक्सा छन् भन्ने तथ्याङ्क कार्यालय सँग छैन । हाल दुबैको संख्या पाँच हजारको हाराहारीमा पुगेको यातायात कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार तीन हजारको हाराहारीमानै नयाँ अटो झापामा दैडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्