Logo

प्रेस विरोधी विद्युतीय कारोबार ऐनको खारेजीको माग गर्दै पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा



काठमाडौँ, ४ वैसाख । नेपाल पत्रकार महासंघले प्रेस विरोधी विद्युतीय कारोबार ऐनको दफ ४७ र ४८ खारेजीको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ का आधारमा पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै महासंघले आन्दोलन घोषणा गरेको हो ।

पत्रकारलाई विद्युतीय कारोबार ऐनको उक्त दर्फा अन्तर्गत पटकपटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि आन्दोलन गर्न बाध्य भएको महासंघको महासचिव रमेश विष्टले बताए ।

महासंघले अघि सारेका आन्दोलनका कार्यक्रम अन्तर्गत ४ वैशाखमा विद्युतीय कारोबार ऐनको दर्फा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिना शर्त रिहाईको माग गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्ने कार्यक्रम रहेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै भोलि वैशाख ५ गते विहान साढे ९ बजेदेखि साढे १० बजेसम्म पत्रकार महासंघका जिल्ला शाखामार्फत देशका सबै जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम रहेको छ ।

यसपछिका थप कार्यक्रम महासंघको ५ वैशाखमा बस्ने केन्द्रीय समिति बैठकले तय गर्ने महासंघका महासचिव विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्