झापा, १ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको बिर्तामोड स्थित कार्यालयमा प्रेस चौतारी र फोनिज झापाले मंगलवार साँझ लगाएको तालाका कारण महासंघ झापा शाखाको साधारण सभा स्थगित भएको छ ।
महासंघ झापा शाखाको आज बसेको बैठकले फागुन ३ गते बिर्तामोडमा हुने साधारण सभा स्गगित गर्ने निर्णय अध्यक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सदस्यता नवीकरणको विषयलाई लिएर प्रेस युनियन झापा शाखाले बुधवार दिउँसो ध्यानाकर्षण पत्र बुझाएको थियो भने चौतारी र फोनिजले आकस्मिक रुपमा तालाबन्दी गरेका थिए ।
प्रेस युनियन, चौतारी र फोनजसँग आज भएको वार्तामा सहमति हुन नसके पछि असहज परिस्थिति उत्पन्न भएकाले साधारण सभा स्थगन गर्नु परेको उल्लेख छ । महासंघको बैठकले अर्को निर्णय नभएसम्मका लागि नवीकरणका सबै प्रक्रिया स्थगन गरिएको विज्ञप्तिमा उल्लेख छ । महासंघ कार्यालयमा लगाइएको ताला खोली वार्ता र सम्वादको माध्यमबाट समस्याको हल गर्न आह्वान गरेको छ ।
विज्ञप्तिमा प्रहरीको गोली लागि घाइते भएकी पत्रकार सुनिरा मैनालीको स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानविन गर्न प्रसाशनसँग माग गरेको छ ।