Logo

पत्रकार महासंघको कार्यालयमा चौतारी र फोनिजले लगाएको तालाप्रति सेन्टरको आपत्ति



झापा, १५ फागुन । प्रेस सेन्टर झापाले प्रेस चौतारी र फोनिज झापाले नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालयमा गरेको तालाबन्दी प्रति आपत्ति प्रकट गर्दै तत्काल ताला खोल्न आग्रह गरेको छ ।

सेन्टर झापाको आज बसेको बैठक पछि जारी विज्ञप्तिमा प्रेस चौतारी झापा शाखा र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले नेपाल पत्रकार महासंघ झापा शाखाको बिर्तामोड स्थित कार्यालयमा माघ २९ गते लगाएको तालाप्रति आपत्ति प्रकट गरेको छ । अध्यक्ष टीकाराम उप्रेती र सचिव लीलाराज झापालीले आज जारी गरेको विज्ञप्तिमा तालाबन्दी नेपाल पत्रकार महासंघ झापा शाखाले सुरु गरेको शुद्धिकरण अभियानका विरुद्ध भएको ठहर गरेको उललेख छ ।

तालाबन्दी पत्रकार आचारसंहिता, नेपाल पत्रकार महासंघको विधान, महासंघ केन्द्रीय समितिको धुलिखेल बैठक, प्रदेस समितिको बैठक, महासंघको पुस ४ र ५ गते बिराटनगरमा भएको राष्ट्रिय सम्मेलन र महासंघ झापा शाखाको निर्णय विरुद्ध भएको सेन्टरले निस्कर्ष निकालेको छ ।

विज्ञप्तिमा महासंघ झापा शाखाले पत्रकार आचार संहिता कार्यान्वयन र सदस्यता शुद्धिकरणका लागि गरेको निर्णय प्रति प्रेस सेन्टर झापाले समर्थन गरेको छ । विधान तथा सदस्यता नवीकरण निर्देशिका अनुसार पत्रकारितामा क्रियाशील भएको प्रमाण पेस गर्नु पर्ने प्रावधान विपरित सदस्यता नवीकरण नगर्न महासंघ झापा शाखालाई प्रेस सेन्टरले आग्रह गरेको छ ।
विज्ञप्तिमा प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल वीच सांगठानिक एकता भइ प्रेस संगठन नेपाल गठन भइसकेको अवस्थामा केन्द्रीय निर्देशन बिपरित प्रेस चौतारी झापाले एकल निर्णय गरी महासंघको कार्यालयमा लगाएको ताला संगठनको निर्णय विपरित भएको ठहर गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्