सुनिरा मैनाली,
झापा, १४ जेठ । समाजमा संस्कृत विद्या अध्ययन गर्नु भनेको अवैज्ञानिक बन्नु भन्ने मान्यता स्थापपित छ । अंग्रेजी भाषा अध्ययन गर्ने मात्र आधुनिक र वैज्ञानिक भन्ने बुझाई रहेको छ । संस्कृतलाई कर्मकाण्डि भाषाको रुपमा बुझिन्छ । तर, झापाका कतिपय विद्यार्थी अंग्रेजी स्कुल छाडेर संस्कृत स्कुलमा अध्ययन गर्न थालेका छन् ।
बिर्तामोड नगरपालिका २ स्थित चारपानेमा रहेको साङ्गबेद संस्कृत माध्यमिक विवेकाश्रममा संस्कृत पढ्न आउने विद्यार्थीको सङ्ख्या अन्य विद्यालयको तुलनामा उच्च रहेको विद्यालयले जनाएको छ ।
शैक्षिक शत्र २०७६ का लागि भर्ना अभियान चलिरहेका बेला ५ जना सामुदायिक विद्यालयबाट र ३० जना निजी विद्यालयमा पढ्ने विद्यार्थी गुरुकुलमा भर्ना भएको विवेकाश्रम साङ्गबेद संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदार न्यौपानेले बताए ।
विवेकाश्रममा संस्कृतसहित अन्य विषय पनि पठनपाठन हुने भएकाले गुरुकुल शिक्षाका लागि विवेकाश्रम विद्यार्थीको रोजाइमा परेको उनको भनाई छ । आवाससहित शिक्षा प्रदान गरिने भएपछि १ नं. प्रदेशका एक सय ६९ जना विद्यार्थीले विद्यालयमा गुरुकुलीय शिक्षा लिइरहेका छन् ।
विद्यार्थीको अभावमा विभिन्न स्थानका संस्कृत विद्यालय बन्द भइरहँदा यस विवेकाश्रममा विद्यार्थीको सङ्ख्या धेरै भएकाले उनीहरुलाई व्यवस्थापन गर्न सकस परेको प्रधानाध्यापक न्यौपानेले बताए । उनले भने ‘यहाँ पढ्न आउने विद्यार्थीको सङ्ख्या धेरै भयो, विद्यार्थीलाई निरास नपार्न हामीले अन्य गुरुकुल पठाउने गरेका छाँै, यसले गुरुकुलमा विद्यार्थीको सङ्ख्या बढ्ने र पढ्न पनि पाउछन् ।’
२०२८ सालमा स्थापना भएको विवेकाश्रम तथा साङ्गबेद संस्कृत माध्यमिक विद्यालयले २०३२ सालदेखि औपचारिक रुपमा पठनपाठन सुरु गरे पनि त्यसयता विवेकाश्रम दाताकै भरमा सञ्चालन हुँदै आएको प्रधानाध्यापक न्यौपानेले बताए ।
जिल्लाका विभिन्न स्थानमा रहेर २३ वटा संस्कृत विद्यलयहरु सञ्चालनमा रहेका छन् । झापामा गुरुकुलीय पद्धतिमा आधारित केहीले संस्कृत विद्यालयहरुले अन्य विद्यालय सरह नै कक्षा सञ्चालन गरिरहेका छन् ।
झापा गौरादह नगरपालिका ७ का पुरुषोत्तम दाहाल कक्षा ७ मा पढ्दापढ्दै विवेकाश्रम तथा साङ्गबेद संस्कृत माध्यमिक विद्यालय कक्षा ४ मा भर्ना भए । २०७१ सालदेखि संस्कृत अध्ययन गरिरहेका दाहाल आफ्नो इच्छा र अभिभावकको सल्लाहमा संस्कृत पढ्न विवेकाश्रम आएका हुन् । दाहालले भने, अंग्रेजी पढेको भए अमेरिका, अस्टेलिया जान्थे होला वा बैंकमा जागिर खाइन्थो होला तर, यहाँ बाट पढेर भोली यही विद्यालयमा आएर म जस्तै अरु विद्यार्थीलाई ज्ञान सिकाउने इच्छा छ ।’
दाहाल जस्ता संस्कृत पढेर भविष्यमा राम्रो भागवत बाचक पण्डित बन्ने सपना बोकेर पाँचथर जिल्लाको एकतीनबाट झापा झरेका सविन सुवेदी विवेकाश्रममा अहिले ४ कक्षामा अध्ययनरत छन् । उनले अहिलेदेखि नै धेरै मेहनत गरेर संस्कृत शिक्षालाई नै निरन्तरता दिँदै व्यासमा बसेर पुराण वाचन गर्ने अठोट राखेका छन् ।
बिर्तामोड नगरपालिका २ का गोपाल घिमिरे लामो टुप्पी, पहेलो कमिज र चन्दन लगाएर अहिले वेद, चण्डी, रुद्रीलगायत पढ्न सक्ने भएका छन् । उनी अहिले विवेकाश्रममा कक्षा १० मा अध्ययनरत छन् । उनको सपना पनि व्यासमा बसेर पुराण वाचन गर्ने नै हो ।
समाजमा पाइने इज्जत, रोजगारी र सुलभ शिक्षा प्रणालीका कारण पछिल्लो समय झापामा गुरुकुल शिक्षाप्रति विद्यार्थी र अभिभावककको आकर्षण बढ्दै गएको छ । विद्यार्थी अंग्रेजी शिक्षा त्यागेर संस्कृत विद्यालयमा धमाधम भर्ना हुन थालेका हुन् ।
सरकारले वैशाख महिनामा बिद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेका बेला झापामा रहेका गुरुकुल विद्यालयमा भने संस्कृत विषयमा विद्यार्थीको रुची बढेको देखिन्छ । संस्कृत अध्ययनपछि समाजमा कायम हुने इज्जत र आर्थिक उपार्जनका लागि सहज हुने भएपछि झापामा गुरुकुल शिक्षाप्रति बिद्यार्थीको आकर्षण बढेको जानकार बताउँछन् ।
अरु विषय पढेर जागिर पाउन मुस्कित छ, संस्कृत पढे गाउँ घरमै पुजापाठ गरेरपनि जीवन निर्वाह गर्न सकिने जलथल–७ हल्दिबारीका ख्यामनाथ पौडेलले बताए । साङ्गबेद संस्कृत माध्यमिक विद्यालयलबाट १० कक्षासम्मको अध्ययन गरेका पौडेल कर्मकाण्ड गरेर नै ७ जनाको परिवार गुजारिरेका छन् । ‘संस्कृत नै संस्कार भएकाले आफ्नो लाइनमा बसेर संस्कार चलाए पैसा कमाउन विदेश गइरहनु नपर्ने पौडेलको भनाई छ ।