इलाम सदरमुकाम खलंगा स्थापना भएको दुईसय बर्ष पुगेको सन्दर्भमा गर्न लागिएको महोत्सवले सदाबहार पहाडकी रानी इलाम दुलहीझैं सिंगारिएको छ । प्राकृतिक एवं साँस्कृतिक सौन्दर्यताले धपक्कै बलेको इलामलाई महोत्सवले छपक्कै छोपेको छ । आफ्नो मधुमासयुक्त प्रकृतिका छटाहरुले पाहुनाहरुको स्वागत गर्न इलाम पलपल आतुर बनेको छ ।
इतिहासविद्हरुका भनाइ र विभिन्न खोज तथा ऐतिहासिक सामग्रीहरुको अध्ययनबाट २०७५ साल इलाम राजनीतिक रुपमा स्थापना भएको दुईसय बर्ष पुगेको मानिन्छ । प्रकृतिक हिसाबले इलाम र यस आसपासको भूगोल कहिले स्थापना भयो त्यो अर्कै खोजको विषय होला तर राजनीतिक रुपमा वा कानुनी रुपले सुगौली सन्धि पछि वि.सं.१८७५ मा स्थापना भएको पाइन्छ । इलाम जिल्लाकै करफोकबाट नामसालिङ हुदै हालको इलाम सदरमुकाम खलंगामा इलामको सदरमुकाम स्थापना भएको मानिन्छ । यसै सन्दर्भमा इलाममा २०७५ सालभरि साना–ठूला कार्यक्रहरु जिल्लाका विभिन्न ठाउँमा गर्ने गरी पहिलो कार्यक्रम महोत्सवका रुपमा ‘इलाम हाम्रो गौरबः २०० बर्षमा हामी इलामेली’ भन्ने एउटै वाक्यका साथ बैशाख १ ,२ र ३ गते इलाम सदरमुकाम इलामबजार र आसपासका क्षेत्रहरुमा आयोजना हैँदै छ ।
जिल्लाका सबै निकायहरुको सकृय सहभागितामा हुन गइरहेको महोत्सवमा इलामका विशेषता र सम्भावनाहरुलाई नजिकबाट चिन्ने, बुझ्ने र हेर्ने मौका सबैलाई हुनेछ । बैशाख १ गते विभिन्न जातजातिका जातीय भेषभूषा तथा सांस्कृतिक पक्षहरु समेटिएका झाँकीहरु, बाजागाजाहरुसहित आम इलामबासी तथा आगन्तुकहरुको सहभागितामा शुरु हैँदै छ । बैशाख २ गते ‘विकासका सम्भावनाः चुनौती र अवसर’ विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ । सांस्कृतिक तथा साहित्यिक कार्यक्रम रहेको छ । वैशाख ३ गते इलाम तथा धरान नगरपालिकाबीचको भगिनी सम्बन्धको कार्यक्रम आदि रहेका छन् ।
के छ इलाममा ?
झापाबाट इलाम टेक्ने साथ रोङ गाउपालिकामा जोर–कलशले अतिथिको स्वागत् गर्दछ । त्यहाँ इलाम जिल्ला र पर्यटकीय क्षेत्रका बारेमा जानकारी लिन सकिने गरी सूचना कक्षको व्यवस्था छ । त्यसपछि केहीक्षणको मोटरबाटो तय गरेर इलाममा अवस्थित पाथीभरा धार्मिक क्षेत्रमा पुगिन्छ । समुद्र सतहबाट करिब १८ सय मिटरमा अवस्थित यस धार्मिक स्थललाई ताप्लेजुङकी पाथीभरा देवीको बहिनी अर्थात् सानी पाथीभराका रुपमा मान्ने तथा पुज्ने गरेको पाइन्छ । दैनिक सयौं श्रद्धालुहरुको घुइँचो लाग्ने यस क्षेत्रको मौसम केही चिसो, सदावहार सन्तुलित छ ।
रोङ गाउँपालिकाका विभिन्न भेगहरुमा गएर लेप्चाहरुको पूरानो बस्ती रहनसहन, भेषभूषा, भाषा–संस्कृति बुझ्न र धार्मिक गुम्बाहरुको अध्ययन अवलोकन गर्न सकिन्छ । यसै क्षेत्रमा पर्ने यस सलकपुरको सुन्तला, जिर्मलेको अलैचीं खेतीको पनि अध्ययन तथा अवलोकन गर्न सकिन्छ । रोङबाट सूर्योदय नपा लाग्दालाग्दै बाटोमै चियैचियाको हरित क्षेत्र कन्याम भेटिन्छ जहाँ दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटहरु आउने गरेका छन् ।
विगतका वर्षहरुमा वनभोज खाने सिजन र नयाँबर्ष जस्ता विशेष दिनहरुमा पर्यटकको घुइँचो हुने यस क्षेत्रमा हालका दिनमा सधै पर्यटहरु भरिभराउ हुन्छन् त्यसमा पनि हरेक शनिवार वनभोज खान आन्तरिक पर्यटकको ओइरो नै लाग्ने गर्दछ । यहाँ पर्यटकहरु प्राकृतिक वातावरणसँग रमाउनका साथसाथै घोडा चढेर घुम्न ज्यादै मनपराउँछन् । यसका लागि स्थानीयले सो क्षेत्रमा सयौंको संख्यामा घोडाहरुको व्यवस्था गरेका छन् । सिरसिर वतास चल्दा सल्लाको सुसाइमा रमाउदै पर्यटकहरुले स्वर्गीय आनन्द लिन सक्दछन् । पहाडको हावापानी महसुस गर्न र हिमाल अनि तराईलाई नजिकबाट नियाल्न सकिने यो क्षेत्र प्रेमजोडीको प्रेम–प्रणय साट्ने आकर्षक गन्तव्य पनि मानिन्छ ।
कन्यामलाई छोडेर केही माथि पुगेपछि सुन्दर फिक्कल बजार पुगिन्छ इलामका कोसेलीहरु पाउन सकिने यस क्षेत्रको रहनसहनमा दार्जिलिङको झल्को पाइन्छ । पञ्चकन्या देवीको मन्दिर, कर्फोक शैक्षिक क्षेत्र, कृषि तथा पशुपालन क्षेत्र, चिया फ्याक्ट्री, ललिपप उद्योगहरु, लेप्चा जातिका गुम्बाहरु, रहनसहन तथा अन्य जातजातिका गुम्वा, मन्दिरहरु पनि यस भेगको आसपासमा देख्न पाइन्छ ।
सूर्योदय दृष्यावलोकनका लागि विश्वकै प्रसिद्ध स्थान श्रीअन्तु इलामकै सूर्योदय नगरपालिका अन्तर्गत समालबुङमा पर्दछ जून सामुद्रसतहवाट २३ सय मिटर उचाइमा रहेको छ । स्वदशी तथा विदेशी पर्यटकको घुइँचो हुने यस क्षेत्रमा होम स्टे अवधारणवाट पाहुनाहरुको स्वागत्–सत्कार तथा बसोबासको व्यवस्था गरिएको छ । अन्तु पोखरी, चियाबगान, हिमालय पर्वत, भारतको दार्जिलिङ, सिक्कम, मिरिक, कर्साङ ,सिलिगुडी लगायत नेपाल तथा भारतका धेरै स्थानहरु यस क्षेत्रबाट अवलोकन गर्न सकिन्छ ।
भारतसँगको सीमावर्ती क्षेत्र पशुपतिनगर पर्यटहरु आवतजावत गरिरहने अर्को क्षेत्र हो । अन्यत्र घुम्न जाने र त्यहाँ निस्किएर किनमेल गर्न पर्यटकहरु रमाउने गर्दछन् । नेपाल, भारत तथा चीनका बजारहरुमा पाइने अधिकांश सरसामान पशुपतिनगर बजारमा पाइन्छ । नेपाल–भारतको सीमाना फाटक, पुराना गुम्बाहरु तथा पशुपतिनाथको मन्दिर तथा चिज फ्याक्ट्रीहरु त्यस क्षेत्रका पर्यटकीय तथा आर्थिक गन्तव्यहरु हुन् ।
इलाम जिल्ला सदरमुकाम इलामबजार आइपुगेपछि हरियो चियाबगानले सबै आगन्तुकहरुलाई मोहित बनाउँछ । नेपालमै पहिलो पटक इलाम जिल्लाबाट वि.सं. १९२० मा जंगवहादुर राणाका ज्वाई तत्कालिन लेफ्टिनेण्ट कर्नेल गजराजसिंह थापाले चियाबगान लगाउन शुरु गरेपछि क्रमिक रुपमा इलामका डाँडाँकाँडाहरुमा चियाबगानहरु बिस्तार भएको थियो । चियाबगान कै बीचमा रहेको नेपालकै पुरानो चिया फ्याक्ट्री कैयौँ हिउँद बर्खा अनि पटकपटकका भूकम्पसँग पौँठेजोरी खेलेर सतीसाल झैं सकुशल उभिएको छ । यो ऐतिहासिक महत्व बोकेको चियाबगान र चिया फ्याक्ट्री सबैको आकर्षणको केन्द्र रहेको छ ।
चियाबगानको किनारामा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पस, सो क्याम्पस अन्तर्गतको हटिकल्चर तथा फ्लोरीकल्चर अध्ययन केन्द्र, लभडाँडा, बिभिन्न पार्कहरु, विभिन्न उद्यमीहरुले शुरु गरेको पुष्पखेती, भ्यूटावरवाट इलामको चियावारी तथा इलामका छिमेकी जिल्लाहरुको अवलोकन गर्न सकिन्छ । ऐतिहासिक सरकारी भवनहरु, पुराना शैलीका घरहरु, तथा निशान घर यहाँका हेर्नैपर्ने ठाउँहरु हुन् । पछिल्लो समयमा भालुढुङ्गा पर्यटकीय क्षेत्रमा गएर गुफाको प्राकृतिक सौन्दर्य हेर्न सकिन्छ । सिंहवानी, नारानस्थान, माइस्थान, सेतीदेवी मन्दिर आदि धार्मिकस्थल शक्तिपीठहरु, गुम्वा तथा चर्चहरु पनि पर्यटकीय गन्तव्यहरु रहेकाछन् । बालनगाउँ होमस्टे तथा किरात रहनसहन पनि यस क्षेत्रमा पाइन्छ । घर–करेसा अनि बार्दलीभरि ढकमक्क फूल फुलाउने इलामबासीको जाँगर पनि अतिथिहरुका लागि हेर्न लायक छ ।
इलामको अर्को पर्यटकीय स्थल माइपोखरी हो । यो धार्मिक तथा साँस्कृतिक महत्व बोकेको जैविक विविधतायुक्त रमणीय स्थल हो । नौ कुने आकारमा १.८८ बर्ग कि.मि.क्षेत्रफलमा फैलिएको माइपोखरी सन् २००८ मा अन्तराष्ट्रिय रामसार सूचीमा समाबेश भएको छ । ठकठके तथा गलैंचे झ्याउका लागि यो स्थान विश्वप्रसिद्ध छ । यसका साथै विभिन्न प्रकारका गुराँस तथा पुतलीको अध्ययनका लागि महत्वपूर्ण यो पोखरी समुद्र सतहबाट करिब २१ सय २१ मिटरकोे उचाइमा रहेको छ ।
सन्दकपुर इलाम जिल्लाको उत्तरी भेगमाा पर्ने जिल्लाकै उच्च स्थानमा रहेको चुचुरो हो । यसको उचाइ समुद्र सतहबाट ३६ सय ३६ मिटर रहेको छ । यहाँबाट विश्वको सवोच्च शिखर सगरमाथाका साथै कञ्चनजङ्घा मकालु लगायतका हिमालहरु देख्न सकिन्छ । साथै यहाँबाट छिमेकी देशहरु भारत तथा भूटानका केही भागहरु समेत देख्न सकिन्छ । चौँरीगोठ समेत हेर्न पाइने यस क्षेत्र नेपाल भारतको सीमामा रहेको छ । पहिले भारततर्फबाटमात्र मोटर चल्ने यस क्षेत्रमा पछिल्लो समय नेपालतर्फबाट पनि यस क्षेत्रमा मोटर चल्न थालेका छन् । बहुरङ्गी गुराँस, लेकाली जडीबुटीहरु पाइने यो क्षेत्र जैविक विविधताका हिसाबले समेत आर्कषक गन्तव्य बन्दै गएको छ ।
कालपोखरी, माबुको गुम्बा तथा जिल्लाकै अग्लो टोड्के झरना हेर्न पनि यो क्षेत्रमा जानै पर्ने स्थान बनेको छ । छिन्टापु तथा दैलेढुङ्गा यसै भेगमा पर्छ भने जमुनाको ढापपोखरी पछिल्लो समय पर्यटकहरुको रोजाइको स्थान बन्दै गएको छ । पोखरीमा डुङ्गा सवार गर्न तथा हिन्दु, किरात, बौद्ध मन्दिर, गुम्बाहरु यस क्षेत्रमा पाउन सकिन्छ । यसै क्षेत्रमा पर्ने हाँगेथाम क्षेत्रमा विभिन्न प्रकारका पुतली चरा पाउनाका साथै संसारमै दुर्लभ रेडपाण्डा लगायत धेरै जंगली जनावरहरु पाइने गर्दछ । चोयाटार, जौवारीको आलु विकास क्षेत्र र यस आसपासका फाँटहरु पनि पर्यटहरुका लागि आकर्षक बनेका छन् ।
जिल्लाकै माइजोगमाई गाउँपालिका अन्तर्गतको नयाँबजारमा रहेको उत्तरेपोखरी पर्यटकको अर्को गन्तव्य हो । जुन पोखरीको वरिपरि कटुसको घना जङ्गल रहेको भएपनि यस पोखरीको पानीको सतहमा पातपतिङ्गर केहीे पाइदैन । यो यहाँको अनुसन्धानको विषय बनेको छ । यहाँ बौद्ध गुम्बा, बालागुरु धाम मन्दिर तथा पुरानो नयाँबजार हेर्न सकिन्छ । यस्तै, यही क्षेत्रको साविकको प्याङमा पर्ने प्याङ थुम्केडाँडा सूर्योदय दृष्यावलोकन गर्नका लागि उपयुक्त स्थान मानिन्छ । प्रचार–प्रसारको अभावमा यस क्षेत्रमा कम पर्यटक पुगेता पनि अन्य क्षेत्रको भन्दा सूर्योदय यस ठाउँवाट राम्रो देखिन्छ भन्ने पुगेका पर्यटकहरुको भनाइ रहेको छ । यस्तै प्याङको फेदीमा रहेको ओढारेमा अवस्थित श्री मःमः गुप्तेश्वर महादेव काली माईधाम गुफा जहाँ खोला पारि गएर गुफा छेउको ढुङ्गामा हेर्दा मान्छेको अनुहारको आकृति देखिन्छ । नक्सेढुङ्गामा रहेको जनावारहरुको आकृति देख्न सकिन्छ । यी स्थानहरु पछिल्लो समयमा मात्रै पत्ता लागेकोले उल्लेख्य मात्रमामा पर्यटकहरु पुग्न सकेका छैनन् ।
यस्तै सोयाङमा पर्ने साततले झरना जिल्लाकै अर्को छुटाउनै नहुने पर्यटकीय गन्तव्य हो । यहाँ प्राकृतिक चट्टानले बनेका सातवटा तलाहरुमा पानीले बेस्सरी हिर्काउँदा देखिने मनमोहम दृष्य साँच्चीकै लोभलाग्दो हुन्छ ।
देउमाइ नपामा पर्ने सिद्धिथुम्काचुली समुद्र सतहबाट करिब २१ सय मिटर उचाइमा रहेको छ । जहाँबाट सुनौलो सूर्योदय, सूर्यास्त तथा चुरे र महाभारत श्रृंखला तराईका फाँटको दृष्यावलोकान गर्न सकिन्छ । इलाम सदरमुकामबाट नजिकै रहेको क्षेत्र हो । साविक धुसेनी को सिंहलप्पामा रहेको जट्टेश्वर महादेवमा कोही पुग्न नसक्ने शीलाहरु, शिव–पार्वती तथा गणेशको आकृतिका शीलाहरु रहेका छन् । यस्तै देउमाई कै गुफाथुम्कीबाट इलाम जिल्लाका १० वटै स्थानीय तहका विभिन्न भागहरु तथा भारतका विभिन्न ठाउँहरु देख्न पाइन्छ जहाँ डाँडामा पोखरी रहेको छ । यहाँवाट विभिन्न हिमालचुलीहरु र सूर्योदयको मनमोहक दृष्यसमेत देख्न सकिन्छ ।
माङसेबुङ गाउँपालिका अन्तर्गत लारुम्बा किरात धर्मालम्वीहरुको पवित्र धार्मिक स्थल मानिन्छ । किरात धार्मिक विद्यालय समेत सञ्चालन भएको यस क्षेत्रमा सयौंको संख्यामा स्वदेश तथा विदेशबाट तीर्थयात्रीहरुकोे घुइँचो लाग्ने गरेको छ । यो क्षेत्र किरातबस्ती तथा रहनसहनलाई राम्ररी हेर्ने र बुझ्ने स्थान भएको छ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित धार्मिक विषयको खोज, अनुसन्धान तथा अन्वेशण गर्न समेत यो क्षेत्र पुग्नैपर्ने स्थान बनेको छ ।
समुद्र सतहबाट दुईहजार मिटरको उचाइमा अवस्थित माङमालुङ धार्मिक महत्व वोकेकोे किरात धर्मावलम्बीहरुको एक पवित्र धार्मिक तथा सांस्कृतिक स्थल हो । यस ठाउँलाई औतारीडाँडो पनि भन्ने गरेको पाइन्छ । यहाँ सिंह, सर्प, चिल आदि जीवजन्तुहरुको मूर्तिहरु तथा विभिन्न चित्रहरु प्रशस्त छन् । यसै क्षेत्रमा रतुवा नदीको शीर रहेको छ । त्यो खोलाको पानी रातो छ । त्यहाँ पोखरी पनि छ । ढुङ्गा माथि ढुङ्गा रहेको छ । यहाँ चक्रशीला छ जसलाई सामान्य हावाले पनि हल्लाउन सक्छ तर केही गरेपनि लडाउन भने नसकिने छ ।
गजुरमुखीधाम हजारौ स्वदेशी तथा विदेशका धर्मालम्वीहरुको आस्थाको केन्द्रको रुपमा मानिन्छ । मनोकांशा पुग्ने धार्मिक विश्वास बोकेको यो क्षेत्र देउमाई खोलाको किनारमा रहेको छ । यो मन्दिर समुद्र सतहबाट सातसय मिटरको उचाइमा रहेको छ । धार्मिक महत्व बोकेको गजुरमुखीमा कार्तिक पूर्णिमाका दिन ठूलो धार्मिक मेला लाग्ने गर्दछ ।
फाकफोकथुम गाउँपालिका अन्तर्गत लुम्दे माल्टेनीमा श्रीसिंहदेवी देबीस्थल रहेको छ । यो देवीस्थलामा ठूल्ठूला च्याप्टा चट्टानहरुले घेरिएर बनेका मनमोहक गुफाहरु रहेका छन् । इन्द्रायणी देवस्थलदेखि जलकन्या देवीस्थलसम्म जाने आश्चर्यजनक ढंगले निर्मित चट्टानबाट बनेको सुरुङमार्ग समेत देख्न सकिन्छ । आमचोकस्थित सन्त ज्ञानदिलदाश जन्मस्थल धार्मिक तथा साहित्यिक पर्यटकका लागि यो पुग्नैपर्ने क्षेत्र रहेको छ । जोस्मनी सम्प्रदायको धाम रहेको उक्त क्षेत्रमा हाल मन्दिर निर्माण गरिएको छ । फाकफोकथुमकै रवि राँके सडकको छेउमा पर्ने उत्तरे पोखरी जैविक विविधताका हिसावले पर्यटकीय क्षेत्र रहेको छ ।
राजनीतिक अध्येता तथा पर्यटकहरुलाई पुग्नका लागि माइपोखरीमा अवस्थित सात खाल्डे शहिद पार्क छ । यो स्थान २०१८ सालमा सातजना प्रजातन्त्र सेनानीलाई आफै खाल्डो खन्न लगाएर गोलीहानी मारेर पुरेको स्थान छ । रत्न चित्रे चमैतामा रहेको छ जुन शहिद रत्नकुमार वान्तवावाट २०३५ सालमा निर्मित सुरुङ हो । यस्तै, रत्नकुमार बान्तवालाई गोली हानेको इभाङको रत्नवस्ती, उहाँकै समाधिस्थल सिंहवाहिनी पर्यटकीय क्षेत्र रहेको छ ।
हाइडो पावर, विविध खेती तथा पशुपालन, होमस्टे ठूला होटल तथा सभा गृहहरुको पनि निर्माण, फुटबल खेल, हटिकल्चर तथा फ्लोरीकल्चर अध्ययन तथा अन्य प्राविधिक विषयका अध्ययनले पनि इलाम भ्रमणयोग्य जिल्ला बनेको छ । । ब्राह्मण, क्षेत्री, राई, लिम्बू, तामाङ, गुरुङ, शेर्पा, लेप्चा लगायतका जातजातिका धर्म, संस्कार, संस्कृति, भाषा भेषभूषाको अध्ययन गर्न पनि इलाम आउनैपर्ने हुन्छ । आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि उत्कृष्ट र अब्बल पर्यटकीय क्षेत्र रहेको छ । प्राकृतिक, सांस्कृतिक एवं संस्कारका हिसाबमा इलामले सबैबाट प्रशंसा पाएको छ ।
प्राकृतिक सुन्दरता, ऐतिहासिक स्थानहरु, सम्पदाहरु, पुरातात्विक खोज, राजनीतिक खोज अनुसन्धानका लागि इलाम सुगठित स्थान हो । माई, जोगमाई, पुवामाई तथा देउमाई गरी चारमाई तथा अन्य नदीहरु र यहाँबाट निकालिएका विद्युत् केन्द्रहरु, लोपोन्मुख वन्यजन्तु चराचुरुङ्गीहरु इलाममा हेर्न सकिन्छ ।
राजनीति, साहित्य तथा कला–संस्कृतिको हिसाबले इलाम अब्बल दहरिएको छ । दुर्लभ वन्यजन्तु, माइवेनी मेला, धाननाच, बालननाच, चण्डीनाच, गाईजात्रा, रोपाईँजात्रा आदि जिउँदो सांस्कृतिक सम्पदाहरु इलामका गहनाका रुपमा रहेका छन् । पछिल्लो समयमा व्यवस्थित होटल, होमस्टे, सभाकक्षहरुको विस्तारहरुका कारण विविध कार्यक्रम गर्नका लागि इलाम उपयुक्त स्थान बन्दै गएको छ ।
यस क्षेत्रको पर्यटकीय तथा औद्योगिक विकासबाट समृद्ध राष्ट्रनिर्माणमा ठूलो टेवा पुगेको छ । बिदेशी मुद्रा आर्जन र स्वदेशी रकम देशमा नै खपत गर्न यो क्षेत्र सफल भएको छ । मालवाहक गाडीहरु भरिएर आउने र भरिएरै जाने इलाम नगदेबालीले हराभरा जिल्ला हो ।
यसरी पर्यटकीय हिसावले हराभरा जिल्लामा हुन लागेको इलाम महोत्सवमा सबैवाट उपमा पाएको ग्रिनसिटी इलाम तपार्इंहरुलाई रेड कार्पेट राखेर स्वागत गरिरहेको छ । चियाका हरिया पाखाहरु लेकभरि फुलेका चाँप अनि गुराँसका थुँगाहरु तपाईंकै स्वागतमा फुलेका छन् । खोलानाला झरना र डाँडाकाँडाहरु, कवि–कलाकारहरु तपाईंकै स्वागत गान गाइरहेका छन् । अलैंचीको पहाड, संस्कारका घडाहरु, पूर्वको स्वर्ग, प्रकृतिहरुको रङ्गभूमी, सूर्योदयको डाँडा ,मठमन्दिर र गुम्वाहरु आज तपाईंलाई पर्खिरहेका छन् र पर्खिरहने छन् ।