Logo

किन चौथो भयो झापामा माओवादी केन्द्र ?



 डण्डिराज घिमिरे
“यदि तिमीले सबैकुरा गुमाएका छौ भने पनि तिम्रो साथमा तिम्रो भविष्य बाँकी रहने छ ।”– माओ
नेकपा माओवादी केन्द्र झापा संग अब बाँकी छ भने त्यही भविष्य बाँकी छ । भुत र बर्तमानमा प्रसस्त अवसर पाएर पनि त्यसलाई सदुपयोग गर्न र आफुलाई चिन्न नसक्नाले झापामा अब माओवादी केन्द्र आफ्नो बलियो उपस्थिति र अस्तित्व भविष्य संग निर्भर भएर खोज्दै छ । भविष्यको गर्भमा रहेको माओवादी केन्द्र झापाको अस्तित्वको भ्रुण पनि कति सुरक्षित होला ? भुत र बर्तमानको दर्विलो अस्तित्व समेत बचाउन जोगाउन नसक्नेहरुको संरक्षकत्वमा यो भ्रुणको विकास र स्वस्थ भविश्यको जन्म सम्भव होला ?
तत्कालिन नेकपा माओवादी झापा जिल्ला पार्टी दश बर्षे महान जनयुद्धको पेचिलो उत्कर्षमा पुग्दै गर्दा पनि घात–अन्तर्घतको सिकार भएर अघोषित विगठनको अवस्थामा समेत पुगेको तितो इतिहाँस साँची छ । त्यस बखत पनि झापा पार्टीले बाहिरि कारणबाट नभएर आफेनै भित्रको कारणले ठूलो नोक्सानी बेहोरेको थियो । होनाहार नेतृत्वहरु झापाली जनताले गुमाउनु परेको थियो ।
शान्ति प्रक्रिया पछि पहिलो संविधान सभाको निर्बाचनबाट झापाको पहिलो पार्टी बनेको नेकपा माओवादी केन्द्र किन सुन्निएर मोटाएझैं क्षणिक बन्यो ? दोस्रो संविधान सभा र भखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा किन लज्जास्पद चौथो बन्न पुग्यो ? घात अन्तरघातको पुनराबृत्तिले माओवादी केन्द्र झापा अहिले क्षतविक्षत छ । निर्वाचनको लज्जास्पद पराजय पछि समिक्षा बैठक समेत बस्न सकेको छैन किनभने जोगी देखि भैंसी डर र भैंसी देखि जोगी डरको अवस्था छ । मतदाता जनता तथा अन्य कारणबाट होइन आँफै भित्रको असक्षमता र आत्मघाती प्रबृत्तिको कारण झापा पार्टी अहिले अस्तित्व रक्षाको सिथिल अवस्थामा पुगेको हो ।
यो सत्य हो, यदि संगठनात्मक संरचना र कार्यशैलीमा कार्यदिशाको माग अनुसार क्रन्तिकारी रुपान्तरण हन सकेन भने अन्ततः गलत संगठनात्मक संरचना र कार्यशैलीले कार्यदिशाको क्रन्तिकारी आत्मालाई निलेर अवसरवादी कार्यदिशाको विकास गराउँछ । झापामा भएको यही हो । पार्टीको कार्यदिशा, कार्यशैली झापा आइपुग्दा निर्जिव कागजी नारा मात्र बन्न पुग्यो भने नेतृत्वहरु चरम गुटबन्दी गर्दै ब्याक्तिवादी, अवसरवादी र आत्माघाती बन्न पुगे । पार्टी र क्रन्तिको रत्तिम ओजलाई बिक्रि गर्दै आस्था र बिचार बाट स्खलित हुनपुगे ।

झापा जिल्ला नेतृत्वले शन्ति प्रकृया देखि यताको १२ बर्षमा कहिल्यैपनि आफ्नो बिशिष्टतामा आन्तरिका सिर्जनशिल योजना उत्पादन गर्दै पार्टीलाई चलायमान बनाएन । संगठन नै पार्टीको मेरुदण्ड हो भन्ने मर्मलाई कहिल्यै बुझेन नेतृत्वले ।
नेतृत्व कार्य हो पद होइन । झापामा नेतृत्व भनेको कार्य भन्दा पनि पद हो भन्ने निम्न चेतनाले ग्रसितहरुको ठेलामठेल भिड छ माओवादी केन्द्रमा । पद ओगटे पुग्छ झापामा नेता बन्न काम गरेर परिणाम दिनु पर्दैन । पदको बाँडफाँड गरिन्छ अनि बकितम शैलीको नेता बनेर पार्टी बेचेर जिविको पार्जन गरिन्छ । कहिल्यै पनि जिम्मेवारी अनुसार कार्य सम्पादन के कति भयो परिणाम सहितको लिखित प्रतिवेदन पेश गर्ने थीति छैन पार्टी भित्र । पार्टी कामका प्रथमिकिकरण कहिल्यै भएनन् । नाजाएज मुद्धा खोजिखोजि हिड्ने र त्यसलाई पार्टीकामको परिभाषा गर्ने नेताहरुबाट जनताले के आस गर्न सकिन्छ र जनताले पत्याउन् ।
उत्पिडित सर्बहारा जनताको आफ्नो पहँुचको प्रचण्ड भनेको वार्ड, गाउँ, नगर क्षेत्र तथा जिल्लाकै नेता हो न कि पुष्पकमल दहाल मात्र । प्रचण्ड त जनयुद्धले बिकास गरेको परिवर्तनको बिम्ब हो । जनयुद्धले जन्माएका झापाका टोल, गाउँ, नगर, क्षेत्र तथा जिल्लाका प्रचण्डहरु खोई कहाँ छन् ? हरेक नेतृत्व भित्रको मस्तिष्क हो प्रचण्ड । झापामा यदि त्यो प्रचण्ड जिवित छ भने किन झापामा पार्टी अस्तित्वको संकटमा चौथो स्थानमा छ ?
राष्ट्रिय राजनीतिमा मओवादी केन्द्र तेस्रो पार्टी हुँदा पनि प्रचण्डको भूमिका निर्णयक तथा निरन्तर पहिलो छ । तर अन्य जिम्मेवारी र पदका प्रचण्डहरुको भूमिका खोई ? झापाका धर्मशिला, शन्देश, अग्नी, विजय लगाएत थुप्रै नेताहरु झापाका प्रचण्ड बन्न लाएक नभएकै हुन् त ? गम्भिर प्रश्नको उत्तर सहितको ठोस निणर्यमा माओवादी केन्द झापा पुग्नु पर्छ । जनयुद्धको जगमा उभिएका तथा प्रचण्ड भूमिकाको आस गरिेएका यी झापाली नेतृत्व किन असफल, असक्षम प्रमाणित हुँदैछन् ? कारण खोजि गर्न र प्रचण्ड बन्ने संभावनाका अन्य नेतृत्वहरुलाई त्यो रोग लाग्न नदिनु पर्छ । प्रचण्ड भूमिका पटक पटक पाउँदा पनि कार्यसम्पादन गर्न असफल सावित भएपछि पनि उनीहरुलाई नै जबरजस्ति प्रचण्ड बनाइरहँदा के झापा पर्टी बलियो बन्ला ?
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको दश बर्ष भित्रमा समाजवादी क्रान्ति देख्न पाउनुहुन्छ र त्यो सम्भव छ भन्दै गर्दा झापामा त्यो कार्यदिशाको कार्यभार सम्हाल्ने झापाको प्रचण्डमा इतिहासले कसलाई स्थापित गर्ला ? झापाली जनता तथा माओवादी केन्द्रका कार्यकर्ता त्यो स्वर्णीम दिन तथा सफल झापाली प्रचण्डको खोजिमा छन् ।
सन्दर्भ स्थानीयको चुनावको समिक्षाको
१, झापामा स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र किन, कसरी र कसको कारण यतिधेरै कमजोर भयो निर्मम समिक्षा गरि तत्काल भाव सम्प्रेषण तल्लो कमिटी सम्म किन आउन सकेको छैन ? देश भरिनै हार भएको हो झापामा मात्र होइन भनेर छुट हुनुहुदैन् ।
२, चुनाव जित्ने के कस्तो ठोस कुशल योजना जिल्ला पार्टीले जिल्ला स्तरमा तयार गरेको थियो त्यस्मा कति प्रतिशत सफलता मिल्यो ?
३, प्रत्येक सम्बन्धित स्थानीय तहको सापेक्षतामा सन्चालन हुनुपर्ने प्रभावकारी चुनावी अभियानको लगाम जिल्ला पार्टी सग नहुनुको पछाडि के कारण छ ?
४, पार्टीले पत्याएर केन्द्रीय कमिटी, पोलिटब्युरो तथा स्थाइ समितिमा रहनुहुने र पूर्ब मन्त्री तथा पूर्ब सभासद झापाका नेतागणहरु तपाईंहरुको आफ्नो जनमत र गुरुत्वआकर्षण प्रभाव रहेको कुन कुन गाउपालिका र नगरपालिका जित्यो माओवादी केन्द्रले ?
५, हिजोको योगदानको ब्याज खाएर नेतृत्व ओगटेर मात्र बस्नेकि बर्तमनमा पनि रचनात्मक र मार्कसवादको सापेक्ष सिर्जनशिल प्रयोग गर्दै निर्वाचनमा कृयाशिल बन्ने नेतागणहरुले ?
६, झापा पार्टी लेनिनवादी संगठनात्मक पद्धतिमा चलेको छ ? संगठन बिस्तारमा के ले रोको ?
७, झापा पार्टीका पूर्णकालीन संगठक कमरेडहरु को को हुन ? संगठन बिकास बिस्तारमा चुनावको समय भन्दा अघिपछि वहाँहरु किन कहिल्यै सक्रिय हुनुन्न ?
८, पूर्ब जनमुक्ति सेना, पूर्ब पूर्णकालिन कार्यकर्ता , घाइते अपांग , सहिद , बेपत्ता परिवार , सेल्टरदाता परिवार समक्ष झापा पार्टी बिशिस्ट योजना बोकेर किन पुग्न सक्दैन ? कि तपाइँहरुले वहाँहरु समक्ष पुग्ने नैतिक हैसियत नै गुमाइसक्नु भयो ?
९, नैतिकताको राजनीतिक थीतिको बिकास झापा पार्टीमा कहिले हुन्छ ?
१०, यो हारलाई भोलिको जितको लागि बलियो आधारमा रुपान्तरण गर्न माओवादी केन्द्र झापा पार्टी सग के कस्तो योजना छ ?
११, आर्थिक ,सामाजिक नैतिक लगाएतका अनुशासन गुमाएका कार्यकर्ता काखिच्यापेर पार्टी संगठन बलियो हुन्छ ?
१२, माओवादी पार्टीका तमाम असल निष्ठावान कार्यकर्ता मतदातालाई कसरी आस्वस्त पार्नुहुन्छ कि माओवादी केन्द्र झापा बिग्रेको छैन र कमजोर होइन भनेर ?
“त्यो मानिस मानिस नै होइन, जसले गल्ती गर्दैन । त्यो मानिस पनि मानिस हाइन जसले गल्ती महसुस गरेर पनि सच्याउदैन । ” – लेनिन

प्रतिक्रिया दिनुहोस्