Logo

चामल उद्योगको अनुदान फिर्ता हुँदा झापाको धानले मूल्य पाएन



झापा, ६ असार । सरकारले झापाका चामल उद्योगका लागि पठाएको अनुदान फिर्ता हुँदा उद्योगले क्षमता बिस्तार हुनसकेकाले कृषकले उत्पादन गरेको धानले मूल्य पाउन सकेनन् ।
झापा नेपालको सबै भन्दा बढी धान उत्पादन हुने जिल्ला भएपनि चामल उद्योग सँगको समन्वयको अभावमा कृषकले उत्पादन गरेको चैते धानले मूल्य पाउन नसकेका हुन् ।

उद्योगलाई आएको अनुदान फिर्ता

झापाका चामल उद्योगका लागि आर्थिक वर्ष २०७२/०७३ मा आएको ३ करोड फिर्ता भएको छ । आब २०७३/०७४मा आएको ८२ लाख पनि फिर्त हुने अवस्थामा छ । उद्योग बिभागले ढिलो बजेट पठाउने तर प्रक्रिया लागि धेरै समय लाग्ने भएकाले चामल उद्योगका लागि आएको अनुदान हरेक वर्ष फिर्ता हुने गरेको जिल्ला कृषि बिकास कार्यालय झापाका बरिष्ठ कृषि बिकास अधिकृत प्रकास कुमार डाँगीले बताए ।
अनुदानका लागि चामल उद्योगसँग प्रस्ताव मागेपनि स्वीकृत हुन नसक्दा बजेट फिर्ता भएको गणेश एग्रोका संचालक श्रेष्ठले बताए । उनले असार भन्दा केहि महिना अघि मात्र बजेट आउने तर प्रक्रियाका लागि लामो समय लाग्ने भएकोले उद्योगीले अनुदान पाउन नसकेको बताए ।
सरकारले चामल उद्योगलाई कृषि उद्योगमा राखि सहयोग गरे झापामा उत्पादन भएको सबै चैते धान खरिद गर्न तयार रहेको झापाका चामल उद्योगीले बताए । सरकारले कृषियन्य उद्योगलाई सहयोग गर्ने नीति बनाए पनि व्यवहारमा लागु हुन नसक्दा चामल उद्योगले सहुलियत पाउन नसकेका हुन् । सहुलियतको अभावमा उद्योगले क्षमता बिस्तार गर्न नसक्दा कृषकको धान बिक्री हुँदैन र बिक्री भएको धानले पनि उचित मूल्य पाउन नसकेको उद्योगीको भनाई छ ।

धानको उत्पादन र उद्योगको क्षमता

झापामा पाँचवटा मात्र चिसो धान सुकाउने ड्रायर भएका चामल उद्योग छन् । ड्रायर नभएका लगभग १ सय ५० भन्दा बढी उद्योग छन् । ड्रायर बिनाका साना उद्योगले घाम लागेका समयमा मात्र धान खरिद गर्ने र चामल उत्पादन गर्ने गर्दछन् ।
झापामा सूर्य एग्रो, नूतन राइस मिल, गणेश एग्रो, मित्तल एग्रो र गोल्छा राइस मिलसँग मात्र ड्रायर रहेको छ । एक व्याज अर्थात ८ घण्टामा सूर्यको ६४ टन, नूतनको ६० टन, गणेशको ३० टन, मित्तलको ३२ टन र गोल्छाको ३२ टन धान प्रशोधन गर्ने क्षमता रहेको छ ।


मिलले चैते धान एक दिनमा बढीमा दुई पटक भन्दा बढी प्रसोधन नगर्ने गणेश एग्रो भद्रपुरका संचालक उज्वल श्रेष्ठले बताए । उनले लेवर, भण्डारण क्षमता, पुँजि लगायतका कारण पूर्ण क्षमतामा उद्योग संचालन नहुने बताए ।
झापामा यस वर्ष २० हजार ६ सय ५० हेक्टरमा चैते धान खेति भएको छ । प्रति हेक्टर ५.३ मेट्रिक टन उत्पादन हुने आंकडाले देखाएको जिल्ला कृषि बिकास कार्यालय झापाका बरिष्ठ कृषि बिकास अधिकृत प्रकासकुमार डाँगीले बताए । यस आधारमा यस वर्ष झापामा १ लाख ९ हजार ४ सय ४५ मेट्रिक टन उत्पादन हुने डाँगीले जानकारी दिए । उनले भने, वर्ष १.७ प्रतिशतले उत्पादन वृद्धि हुने अनुमान गरिएको छ ।
चैते धानको उत्पादन जेठ १५ देखि असार मसान्तसम्म हुने गर्दछ । धानको उत्पादन भन्दा मिलको क्षमता निकै कम देखिएको छ । उत्पादन भएका धान सुकाएर भण्डारण गर्ने ड्रायर मेशिन र भण्डार गृह नहुँदा कृषकले उत्पान गरेको धानले उचित मूल्य पाउन नसकेको हो ।

उद्योगीको गुनासो

सरकारले कृषिको बिकास गर्न नीतिगत सूधार गर्नु पर्ने झापाका चामल उद्योगीले बताएका छन् । उनीहरुले कृषकको उत्पादन क्षमता मात्र वृद्धि गरेर नुहुने बजारको क्षमतामा पनि बिकास गर्नुपर्ने बताए । चामल उद्योगलाई कृषि उद्योगमा राखेर सहुलियत दिनु पर्नेमा उद्योगीको माग छ । गणेश एग्रोका संचालक श्रेष्ठले उद्योगको क्षमता बिस्तारमा सरकारले सहुलियत व्याजमा ऋण, औजारमा खरिदमा अनुदान दिने हो भने झापाका चामल उद्योगले कृषकका सबै धान खरिद गर्न सक्ने बताए । उनले भने, हाम्रो क्षमता भन्दा बढी धान खरिद गर्न सकिँदैन ।
मित्तल एग्रोका संचालक दिपेन्द्र मित्तल पनि चाम उद्योगलाई कृषि उद्योगमा राख्नु पर्ने बताए । उनले सरकारले सहुलियत दिन्छ भने धानको सहमतिय मूल्य तोक्न तयार भएको बताए । उनले भने, सरकारले कृषिको उन्नती गर्छु भन्ने हो भने कृषि उद्योगलाई सहुलियत दिनु पर्छ ।
धान सूपर जोन बनियानीका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिमल्सिनाले उद्योगीसँगको सहकार्य बिना कृषकले धानको उचित मूल्य पाउन नसक्ने बताए । उनले भने, धान उत्पादन गरेर मात्र हुँदैन, कृषकले उचित मूल्य पाउनु पर्छ, त्यसका लागि सरकारले उद्योगलाई सहुलियत र अनुदान दिँदा राम्रो हुन्छ ।

रिपोर्टः तारामणि सापकोटा

प्रतिक्रिया दिनुहोस्