प्रदीपजीले भन्नु भो “खै त हौ मुक्तिचोक डट कम, लेख्नै छोड्नु भो ?” । सामान्यतया सम्पादकले नै चासो राखे पछि लेख्नु पर्ने हुन्छ । सम्पादक भन्दा तलकालाई त कहाँ टेरिन्छ र ? सामन्तवाद ढालेका मान्छे पो हौ त हामी । अब हामीलाई ढाल्न सक्ने कुनै नयाँ सामन्त जन्मन सक्छ र ? घुडासम्म टेक्न सकिएला । त्यो पनि चाडपर्वको अवसरमा मानपद्वीको लोभले । लरतरो हिसाबले यो विरासत ढल्नेवाला छैन, पत्रकारिताको जो खडा गरिएको छ । हो यसैलाई टिकाउन पनि लेख्नै पर्यो । तर लेख्नु चाही के ? बढो द्विविधामा छु यतिबेला म ।
फाट्ट फुट्ट विचार व्यक्त गर्न फेसबुक छदैछ । अलिक इलाइट र विद्वान देखिन ट्युटर छदैछ । केही आदर्श र दर्शन छाट्नु पर्ने भो, गोयवल्स जन्माउनु पर्ने भो भने अनलाईन छदैछ । अब यो अखबारमा कस्ले लेख्ने ? किन लेख्ने ? कसरी लेख्ने ? कतिले पढ्छन् ? म त यो अखबारी लेखनको जीवन पहाड देख्छु हौ । हेर्दा राम्रो, भोग्दा जटिल । ठ्याक्कै आजकै पहाड । तै पनि पहाडे जीवन जो सुरु गरियो भोगत्नु त पर्यो नै । फेरी सम्पादक जो छन् प्रदीपजीले चासो राखेका छन् । बिचरा म लेख्न बाध्य छु ।
अस्ती केही दिन अघि मैले फेसबुकमा दुई लाईन बौद्धिकता देखाएँ । यस्तो बौद्धिकताको प्रदर्शन अचेल खुब चल्छ । जसले जहाँ जे गर्यो सबै यसैमा प्रदर्शनका लागि राखिन्छन् । कसैलाई केही लाग्यो भने पनि यहीँ व्यक्त गर्ने हो कसैलाई केही लागेन भने पनि यहिँ पोख्ने हो । सबैका कुरा यहिँ प्रदर्शन हुन्छन् । बौद्धिकतादेखि नैतिकतासम्म । त्यसैले मैले फेसबुकलाई “पदर्शनी स्थल” भनेको हुँ । हो यहि स्थलमा मैले पनि केही दिन अघि आदर्शयुक्त लघुबौद्धिकता छाटेको थिए ।
दसैको मुखमा हुन पर्छ । मुखमै भएर होला फ्याट्ट आयो ह्यात्त भने । त्यसले दसैंलाई नै प्रभाव पार्यौ है भन्ने पनि प्रतिव्रिmया पाएँ । कुरा धेरै ठुलो थिएन । तर, त्यसको प्रभाव भने ठुलै थियो । कुनै बेला युरिया (रसायनिक मल) हालेर फसल उत्पादन गर्नु शानको कुरा हुन्थ्यो, आजभोली त्यही कुराको प्रभाव अनिकाल भएर आँगनमा उभिँएको छ । बस् कुरा यस्तै हो । मैले यस्तै नहोस् मेरो उत्पादन क्षेत्र भन्ने मनसाय राखेर धूर्तबौद्धिकता प्रदर्शन गरेँ । र, प्रदर्शनी स्थलमा यस्तो लेखेँ– “आदरणीय अगुवा पत्रकार तथा प्रिय सहकर्मी साथीहरु, केही दिन अघि झापाको एउटा प्रतिष्ठानले शुभकामना आदान प्रदानका नाममा पत्रकारहरुलाई नगद वितरण गरेको कुराले ध्यान खिचेँको छ । यो घटना भुसको आगो झै भएको छ । गत वर्षकै निरन्तरताका रुपमा यस पटक पनि यस्तो हरकत भएको भन्ने सुनियो । गत वर्ष भन्दा नगदमा वृद्धि गरी गोप्य वितरण भएको कुराले पत्रकारिताको आदर्श र मर्ममा प्रहार गर्छ ।
व्यवसायिक प्रयोजन बाहेक विना कारण नगद ग्रहण गर्नु आचारसंहिता विपरित देखिन्छ । यस्ता हरकत प्रति अग्रज पत्रकारहरुको ध्यान जान जरुरी छ । फेरि फेरि यस्तो नहोस्, पर्वहरुको शुभकामना छ ।” यत्ति लेखे पछि केही प्रतिव्रिmयाहरु प्राप्त भए । कतिले प्रदर्शनी स्थलमै प्रतिव्रिmयाहरु राख्नु भयो भने कत्तिले फोन सम्पर्क मार्फत धारणा व्यक्त गर्नु भयो । समग्रमा स्टाटसले आफ्नो चरित्र प्रदर्शन गर्यो । मैले यसो लेख्नुमा कुनै प्रतिष्ठान प्रतिको विरोध या व्यक्ति प्रतिको लान्छना थिएन र होइन । यो त प्रवृत्तिको कुरा हो । जसको विरोध हुन मैले आवश्यक ठाने । केहि साथीहरुले स्वीकार्नु भएको छ, केहीले आत्मसमीक्षा गर्दै हुुनुहुन्छ । सबैको उद्देश्य एउटै हो, समृद्ध पत्रकारिता ।
यस्तो लेखिएको केही दिन पछि अर्थात दर्सैको नवमीका दिन । विर्तामोडको अग्रसेन भवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना प्रदान कार्यव्रmम थियो (आदान थिएन) । सो कार्यव्रmममा सहभागि भई धन्यबन्न म पनि पुगेको थिए । पत्रकार साथीहरुको पनि उपस्थिति हुने नै भयो । लोकतन्त्र पोस्ट दैनिकले आफ्नो बार्षिक अंकको प्रबद्र्धनका लागि स्टल राखेको रहेछ । एक प्रति विशेष छुटमा खरिद पनि गरे तर फोटो चाही खिचाइन अर्थात खिच्न कसैले चाहेन । म्यागेजिन बोकेर भवनको चियापान स्थल तर्फ हान्निए । चिया भने पछि मलाई अरु के नै पो चाहियो र । यो सबै कर्म चियाकै लागि गरेको हो कि जस्तो लाग्छ कहिले काहीँ त ।
चिया पान गर्दै गर्दा रेडियो साथीका ज्ञानेन्द्र निरौलाजीसँगै हुनुहुन्थ्यो । पछि पूर्वाञ्चल दैनिकका सुरेन्द्र भण्डारी पनि थपिनु भयो । तीनजना भए पछि उज्यालो अनुहार पारेर चिया सुरुप्प पारियो । यहि मौकामा फेसबुक स्टाटसमा भनिएका प्रतिष्ठानका प्रमुख “शुभकामना दाता” आइपुग्नु भयो । हामी सबैले अभिवादन गर्यौं । अभिवादनका लागि हाम्रो संस्कार सारै राम्रो जो छ, सोही बमोजिम भयो । यत्तिकैमा प्रतिष्ठान प्रमुख शुभकामना दाताले मलाई इंकित गर्दै भने–“खै त तपाई त आउनु भएन, अस्ती त्यत्रो शुभकामना कार्यव्रmम भयो । आउनु भएको भए राम्रै हुन्थ्यो ।” उनको सद्भावपूर्ण जिसाज्ञालाई मैले धन्यवाद भने । फेरी उनले थपे–“आउनु भएको भए, एक जोर सुटको कपडा दिने थिए, आउनु भएन त ।” यस पछि भने मलाई उनको शैली मन परेन । हुन त उसबेला पैसा बाड्ने शैली पनि मन नपरेकै हो ।
त्यसैले फेसबुक मार्फत आफ्नो अभिमत जाहेर गरेको हँु । उनको यस्तो प्रस्तुती देखेर सँगै भएका पत्रकार साथीहरुको अनुहारतिर हेरेँ । यीनकै अघि ती प्रमुखले झापाली पत्रकारितालाई एक जोर सुट किनिदिन्छु भनेर सर्वाङ्गो बनाइदिए । खुस्किनै लागेको धोती सम्हाल्दै मैले सुट लगाउने गरेको छुइन भन्ने उत्तर दिए । उनले बुझे बुझेनन् थाहा छैन । तर यीनले खुलेआम पत्रकारिताको इजार तान्ने आँट कसरी गरे ? त्यस यता हाम्रा आङ्का कपडाहरु पनि कसैले शुभकामना बापत दया गरेका बस्तु पो रहेछन् भन्ने लाग्न थालेको छ ।
हामीले लगाएका नयाँ कोटहरु, हातमा भएका महंगा महंगा ग्याजेटहरु, दैनन्दिन आवश्यक वस्तुहरु पनि कसैले कुनै अवसरमा शुभकामना वापत नै दिएका हुन् त ? ताकि मौकामा पत्रकारिताको चीरहरण गर्न सकियोस् । यतिबेला मनमा प्रश्नै प्रश्न छ । यस्तो दारुण अवस्था हो भन्ने मलाई लाग्दैन । म यस्तो विश्वास पनि गर्न सक्दिन । तर झापाली पत्रकारितामा यो प्रश्नले खुल्ला चुनौति भने दिएको छ । यसको उत्तर हामीले दिनै पर्छ । हाम्रा व्यवहारहरुनै यसका सहि र सटिक उत्तर हुन सक्छन् । हिजो के भयो होइन अब के गर्ने भन्ने तर्फ सोच्नु पर्ने छ ।
बजारमा भएका जुनसुकै व्यवसायिक प्रतिष्ठानहरुले आफ्नो स्वार्थहित सोच्ने हुन् । सोही बमोजिम उनीहरुले व्यवहार गर्ने हुन् । हामीले पनि हाम्रो पेशागत मर्यदा, आदर्श र स्वार्थ रक्षाका लागि सोच्नु पर्ने हुन्छ । यसमा हामी जो पत्रकारिताको नेतृत्वमा छौं, अगुवा हौं, वा नेतृत्व गर्ने तयारीमा छौं हामीले यस विषयमा सोचेनौ भने हामीबाट सिक्ने पुस्ताले कस्तो शिक्षा प्राप्त गर्छ ? सामान्य स्वार्थ या लोभले असमान्य क्षति भएको देख्छु म । क्षतिन्युनिकरणमा सबैको योगदान होस् ।
कुनै बेला मादक पदार्थमा लठ्ठिएको आरोप लागेको झापाली पत्रकारिता यतिबेला गोप्य खाममा पल्किएको देखिन्छ । यसबाट जोगाउने दायित्व हामी सबैको हो । अभाव, दवाव र प्रभावबाट गुज्रिरहेको हाम्रो पत्रकारिता फेरी खाम, खदा र खानामा भुल्लिएको देखिन्छ । यसको असर विज्ञापन समाचार बनेका छन्, समाचार सक्दो लुकाउने प्रयास भएको छ
(२०७५ साल कात्तिक ११ गते इजलास दैनिकमा प्रकाशित विचार)