Logo

सूपर जोनको ७ सय बिगाहमा चैते धान 



झापा, १९ जेठ । झापा बनियानीको धान सूपर जोनमा सात सय बिगाहमा सिंचाई पुगेको छ । सिंचाई भएको क्षेत्रमा चैते धान बाली ललाइएको छ ।

सूपर जोन एक हजार हेक्टरमा परियोजना संचालन गर्ने योजना भएकोमा सोह्र सय हेक्टरमा परियोजना संचालन भएको छ । त्यसमध्ये यस वर्ष सात सय बिगाहमा चैते धान बाली लगाइएको सूपर जोनका प्रमुख तथा बरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सेनाले बताए ।

सूपर जोनमा गएको वर्ष परीक्षणका लागि जडान गरिएको एक र यस वर्ष जडान गरिएको थप १० वटा सौर्य पम्पबाट सय बिगाह सिंचित भएको छ । साना सिंचाई मोटर बोरिङबाट चार सय बिगाहमा सिंचाई भएको छ । यसैगरी कुलो, पैनी, खोलाको पानीबाट लगभग दुई सय बिगाह गरी सात सय बिगाह क्षेत्रफलमा सिंचाई सुबिदा पुगेको हो ।

साना सिंचाई मोटर बोरिङबाट गएको आर्थिक वर्षमा ३९ वटा पम्प गाडिएको थियो भने यस वर्ष १ सय ४० वटा पम्म गाडिएको सूपर जोन प्रमुख तिमिल्सेनाले बताए । ९३ वटा समुह र सहकारी मार्फत सिंचाईका लागि पम्प जडान गरिएको हो ।

सौर्य पम्प जडान गर्न चाहने कृषक समूह वा सहकारीले ८५ प्रतिशत अनुदान पाउने गरेका छन् । एउटा सौर्य पम्म जडान गर्न ४ लाख ५० हजार देखि ५ लाख ५० हजारसम्म खर्च हुने सूपर जोन संचालक समितिका सहसचिव कनैयालाल गणेशले बताए ।

सूपर जोनको स्थापनाले बनियानी क्षेत्रमा धान उत्पादनमा वृद्धि भएको छ । परम्परागत भन्दा आधुनिक औजार र प्रविधिको प्रयोगले उत्पादन बढेको सहसचिव गणेशले बताए । उनले भने, पहिला लागत पनि धेरै उत्पादन कम थियो, सूपर जोन आएपछि लागत घटेको छ र उत्पादन बढेको छ ।

फागुन चैतमा लगाइएको धान अहिले कृषकले काट्न थालेका छन् । गएको वर्ष भन्दा यस वर्ष कृषकको उत्पादन वृद्धि भएको छ । सूपर जोन प्रमुख तिमिल्सेनाले गत वर्ष चैते धान प्रतिहेक्टर ५ मन फलेकोमा यस वर्ष ५.२ प्रतिहेक्टर उत्पादन हुने बताए । उनले कृषकले माटो परीषण गर्ने र त्यस अनुसार चुन तथा रासायनिक मल, बिषादीको प्रयोगले उत्पादन बढेको बताए । उनले भने, कृषकले बिउको छनोट र औजारको प्रयोगले उत्पादन बढेको हो ।

प्रतिक्रिया दिनुहोस्