Logo

अध्यक्ष ओलीको राजीनामा शब्द हटाउँदै एमाले सचिवालयद्वारा कार्यदलको प्रतिवेदन अनुमोदन



काठमाडौं, ३ असोज । नेकपा (एमाले) को दशाैं सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्दै उक्त निर्णय गरेको हो।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटी बैठकको तयारीका लागि बसेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउने निर्णय गरेको जानकारी दिए। साथै, बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनलाई समेत सर्वसम्मतिले अनुमोदन गरेको छ।

महासचिव शंकर पोखरेल र संयोजक बादलले तयार पारेका प्रतिवेदनहरूलाई संयोजन गरी एकीकृत प्रतिवेदन बनाइएको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार पूर्वउपमहासचिव प्रदीप ज्ञवालीसमेत बसेर अन्तिम रूप दिइएको उक्त प्रतिवेदनमा देशभरबाट आएका सुझावहरूलाई अनुसूचीका रूपमा राखिएको छ भने प्रतिवेदनबाट ‘अध्यक्ष ओलीको राजीनामा’ भन्ने शब्द हटाइएको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव लेखराज भट्टले चार महिना लामो अध्ययन र छलफलपछि कार्यदलले पेस गरेको प्रतिवेदनलाई सचिवालयले ग्रहण गरेको बताए। उनका अनुसार प्रतिवेदनमा नेतृत्वसँग सम्बन्धित उठेका विवादित विषयहरूलाई हटाइएको छ।

सचिवालय बैठकले कार्यदलको प्रतिवेदन अनुमोदन गर्नुका साथै भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकका लागि आवश्यक सम्पूर्ण एजेण्डाहरू तय गरेको छ। स्वीकृत प्रतिवेदनमाथि सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा विस्तृत छलफल गरी थप निर्णय लिइनेछ।

 

प्रतिक्रिया दिनुहोस्