झापा, २२ असोज । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस)को १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सातवटा इकाइगत र छवटा उपइकाइगत साधारण सभा सम्पन्न गरेपछि छनोट भएका २६ जना प्रतिनिधि र सञ्चालक समितिले मूल माइन्युट प्रमाणीकरण गरेसँगै संस्थाको साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित माइन्युट प्रमाणीकरण सभामा कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले साधारण सभामा भएका निर्णयहरू बुँदागत रूपमा वाचन तथा व्याख्या गर्दै संस्थाको वित्तीय अवस्थाबारे जानकारी गराएका थिए ।
सभाका अवसरमा संस्थाको प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्याएको भन्दै शनिश्चरेरोड सेवा केन्द्रका प्रमुख दिवस गजुरेललाई नगद पाँच हजार रुपैयाँ र प्रशंसापत्रसहित विशेष उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो । नियमित जिम्मेवारी पूरा गरेपछि बाँकी समयमा समेत विभिन्न शैली र माध्यमबाट संस्थाको नाम उँचो बनाउन भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
त्यसैगरी, मानव उद्धार कार्यमा सक्रिय सामाजिक अभियन्ता महेन्द्र भट्टराईलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । संस्थाका संस्थापक सेयर सदस्यद्वय टंककुमार बस्नेत र पार्वता बस्नेत कार्कीलाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्वाञ्चल स्वास्थ्य सहकारीका कोषाध्यक्ष बुद्धिराम भट्टराईले मनमोहन अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाबारे जानकारी गराउँदै साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
संस्थाका सचिव इन्द्रबहादुर कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन विभागीय प्रमुख प्रेम बस्नेत (विजय)ले गरेका थिए ।
सभामा संस्थाका सल्लाहकार, सञ्चालक समितिका पदाधिकारी तथा सदस्य, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्य, ऋण र शिक्षा उपसमितिका प्रतिनिधि, व्यवस्थापन तहका कर्मचारी तथा सेयर सदस्यहरूको सहभागिता रहेको थियो ।






