Logo

न्यायालयमा देखिएको विवाद समाधानका लागि संसद्‍बाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय



काठमाडौं, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालयमा देखिएका विकृति, विसङ्गति तथा विभिन्न न्यायाधीशसँग जोडिएर सार्वजनिक भएका विवादबारे संसद्मार्फत प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले न्याय क्षेत्रमा देखिएका समस्याको निरूपण तथा समग्र न्यायालयको पुनर्संरचनाका लागि संसदीय प्रक्रिया अघि बढाउन पार्टीको संसदीय दललाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले बताए ।

पछिल्लो समय केही न्यायाधीशसँग जोडिएका विवाद सार्वजनिक भएपछि यस्ता विषयको निरूपण न्याय परिषद् वा सरकारबाट मात्रै सम्भव नहुने भन्दै संसद्मार्फत संवैधानिक प्रक्रिया अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको उनले बताए ।

उनले भने, “न्यायालयमा देखिएका विकृति र विसङ्गतिको समाधानका लागि संरचनागत सुधार आवश्यक छ । रास्वपाले आफ्नो वाचापत्र तथा घोषणापत्रमै न्यायालयको पुनर्संरचनाको आवश्यकता औँल्याएको छ । अहिलेको परिस्थितिमा त्यसलाई कार्यान्वयन गर्ने दिशामा अघि बढ्छौँ ।”

न्यायाधीशमाथि महाभियोग लगाउनेबारे अहिले कुनै निर्णय नभएको उनले प्रस्ट पारे ।

उनले भने, “पहिला यो विषय संसदीय प्रक्रियामा जानुपर्‍यो । संसदीय प्रक्रियामा गएपछि के हुन्छ भन्ने कुरा त पहिला प्रक्रियामा जान दिऊँ, त्यसपछि मात्रै संसदीय प्रक्रिया र त्यसपछिको परिणामले निर्धारण गर्छ ।”

प्रतिक्रिया दिनुहोस्