Logo

छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै



काठमाडौं, २९ कार्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।

छठ पर्व विशेष गरी नेपालको तराई–मधेश क्षेत्र तथा भारतको बिहार, झारखण्ड र उत्तर प्रदेशमा अत्यन्तै श्रद्धा, भक्ति र निष्ठाका साथ मनाइने एक प्रमुख लोकपर्व हो । पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यका लगायत देशका अन्य पहाडी भू–भागमा पनि यो पर्व निकै धुमधामका साथ मनाउन थालिएको छ ।

प्रकृति, जल र ऊर्जाको स्रोत सूर्यदेव तथा उनकी शक्ति छठी माता (षष्ठी देवी)को आराधना गरिने यो पर्वले पवित्रता, संयम, सद्भाव र पारिवारिक एकताको सन्देश दिन्छ ।

छठ पर्व मुख्यतया वर्षमा दुई पटक मनाइने गरिन्छ । शारदीय छठ (मुख्य छठ) कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ । यो सबैभन्दा भव्य र व्यापक रूपमा मनाइने छठ हो । र चैती छठ चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ, जुन तुलनात्मक रूपमा कम परिवारले मात्र मनाउँछन् ।

वैदिक कालदेखि नै सूर्यलाई प्रत्यक्ष देवताका रूपमा पूजा गरिँदै आएको छ । छठ पर्वमा उदाउँदो मात्र नभई अस्ताउँदो सूर्यलाई समेत अर्घ्य दिइन्छ, जसले जीवनको उत्थान र पतन दुवै अवस्थामा समान सम्मान भाव राख्नुपर्छ भन्ने दार्शनिक सन्देश दिन्छ ।

महाभारत कालमा द्रौपदी र पाण्डवहरूले गुमेको राज्य फिर्ता पाउन तथा संकटबाट मुक्त हुन छठ व्रत बसेको उल्लेख पाइन्छ ।

त्यस्तै, सूर्यपुत्र कर्णले नित्य नदीमा उभिएर सूर्यको आराधना गर्ने परम्पराबाट पनि यो पर्वको विकास भएको मानिन्छ । त्रेतायुगमा भगवान् राम र सीताले वनवासपछि अयोध्या फर्केर कार्तिक शुक्ल षष्ठीका दिन सूर्यको उपासना गरेको विश्वास गरिन्छ ।

छठी मातालाई सन्तानको रक्षा गर्ने, सुख–समृद्धि प्रदान गर्ने र रोगव्याधिबाट जोगाउने देवीका रूपमा पुजिन्छ । विशेष गरी सन्तान प्राप्ति, दीर्घायु र पारिवारिक कल्याणको कामना गर्दै यो व्रत लिइन्छ ।

छठ पर्व चार दिनसम्म विभिन्न विधिविधानका साथ मनाइन्छ । पहिलो दिन नहाय–खाय (कार्तिक शुक्ल चतुर्थी), यस दिन व्रतालुहरूले नदी, तलाउ वा घरमै पवित्र स्नान गरी चोखो र सात्विक भोजन (विशेष गरी लौकाको तरकारी र चामलको भात) ग्रहण गर्छन् । यस दिनदेखि घरमा लसुन, प्याज र मांसाहारी भोजन पूर्ण रूपमा वर्जित गरिन्छ ।

दोस्रो दिन अर्थात खरना (कार्तिक शुक्ल पञ्चमी), यस दिन व्रतालुहरू दिनभरि निर्जला (पानी समेत नपिई) उपवास बस्छन् । साँझपख माटोको नयाँ चुलोमा सख्खर, दूध र चामलको खीर (रसियाव) तथा गहुँको रोटी पकाएर छठी मातालाई चढाइन्छ । पूजापछि व्रतालुले प्रसाद ग्रहण गर्छन् र परिवारका अन्य सदस्यलाई बाँडिन्छ । यसपछि ३६ घण्टे कठोर निर्जला व्रत सुरु हुन्छ ।

तेस्रो दिन अर्थात सँझिया घाट अस्ताउँदो सूर्यलाई अर्घ्य (कार्तिक शुक्ल षष्ठी) यो छठको मुख्य दिन हो । यस दिन दिउँसो ठेकुवा, भुसुवा (कसार), केरा, उखु, नरिवल, अदुवा, सुन्तला, पान–सुपारी लगायतका सामग्री बाँसको ढकी वा नाङ्लो (सुपली) मा सजाइन्छ । साँझपख व्रतालु र परिवारका सदस्यहरू गीत गाउँदै नदी, पोखरी वा जलाशयको किनार (छठ घाट)मा जान्छन् । व्रतालुले कम्मरसम्म पानीमा पसेर अस्ताउँदो सूर्यलाई दूध र जलको अर्घ्य अर्पण गर्छन् । रातभरि घाटमै जाग्राम बसी छठी माताका लोकगीत गाउने चलन छ ।

चौथो दिन अर्थात भोरका घाट उदाउँदो सूर्यलाई अर्घ्य र पारण (कार्तिक शुक्ल सप्तमी) हाे । सप्तमीको बिहान सूर्योदय हुनुअघि नै व्रतालुहरू पुनः जलाशयमा पुगेर पानीमा उभिन्छन् । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि घाटमै छठी माताको कथा वाचन गरिन्छ । त्यसपछि व्रतालुले प्रसाद ग्रहण गरी ३६ घण्टे कठोर व्रत तोड्छन्, जसलाई ‘पारण’ भनिन्छ ।

छठ घाटमा धनी–गरिब, उच–निच वा कुनै जातजातिको भेदभाव हुँदैन । सबै समुदायका मानिस एउटै घाटमा उभिएर सूर्यको आराधना गर्छन् । पूजाका लागि आवश्यक बाँसका सामग्री (ढकी, नाङ्लो) डोम समुदायबाट, माटोका भाँडा कुम्हाले समुदायबाट र पूजा सामग्री अन्य समुदायबाट जुटाइने हुँदा यसले श्रमको सम्मान र सामाजिक अन्तरनिर्भरता झल्काउँछ ।

छठ पर्वले नदी, पोखरी र जलाशयको सरसफाइ गर्न प्रेरित गर्छ । पूजामा प्रयोग हुने सम्पूर्ण सामग्री (बाँस, माटो, फलफूल, पात) पूर्ण रूपमा प्राकृतिक र वातावरणमैत्री हुन्छन् । छठमा सरसफाइ र शुद्धताको अत्यन्तै कडा नियम पालना गरिन्छ । प्रसाद बनाउनेदेखि घाटसम्म पुर्‍याउने कार्यमा पूर्ण पवित्रता अपनाइन्छ ।

छठ पर्व धार्मिक आस्था मात्र नभएर प्रकृतिप्रतिको कृतज्ञता, स्वास्थ्य चेतना र सामाजिक एकताको अनुपम संगम हो ।

 

प्रतिक्रिया दिनुहोस्