Logo

एमाले सांसद थापाले मागे निर्वाचन आयुक्त थपलियाको राजीनामा



काठमाडौँ, २४ जेठ । नेकपा एमालेका सांसद लालबहादुर थापाले प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाको राजिनामा माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा एमाले सांसद थापाले प्रमुख आयुक्त थपलियासहित अन्य दुई आयुक्तको राजीनामा माग गरेका हुन्।

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउने निर्णय निर्वाचन आयोगकै छानबिन समितिको सुझाव विपरीत भएको भन्दै उनले मतगणना अघि बढाउन माग गरेका हुन्। उनले भने, ‘स्थानीय तहको निर्वाचनको सन्दर्भमा माननीय निर्वाचन आयुक्त सबुन शमशेर जबराको संयोजकत्वमा दुई सदस्यीय छानबिन समितिको प्रतिवेदन विपरित राजनीतिक जालझेल, षड्यन्त्र एवं प्रचलित कानुन विपरित जेठ १२ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरू रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौडेलले बहुमतका आधारमा पुनः मतदानको निर्णय गरि जनताको अभिमतमाथि अन्याय गरेकाले प्रमुख आयुक्त थपलिया लगायत आयुक्तको राजीनामाको माग गर्दछु।’

सांसद थापाले सत्तापक्षको कब्जाका बाबजुद बाजुरामा एमाले पहिलो दल बनिसकेको भन्दै बुढीगंगा नगरपालिकाको वडा नम्बर २, ३, ५ र ९ मा सत्तापक्षले योजना बद्धरुपमा पुनः मतदानको निर्णय गराएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्