मुगु, असोज ४ गते । हिमाल जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले चाडपर्व लक्षित गरि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले बिहिवार एक कार्यक्रम आयोजना गर्दै कम्पनीको पत्रचार अनुसार चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज ७ गतेदेखि माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जानकारी गराएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख राज बहादुर राइका अनुसार चामलमा प्रती केजी पाँच रुपियाँका दरले अनुदान पाउने व्यवस्था छ ।
जिल्लाका उपभोक्ताको उच्च मागलाई ध्यान दिएर यस वर्ष चाडपर्व लक्षित गरि सुपथ मूल्य पसलका लागि दुई हजार क्विन्टल चामल वितरण गरिने छ । चार प्रकारका चामलसँगै तेल, घिउ र दाल बिक्री गरिने उहाँले बताउनुभयो । ‘‘केन्द्रीय र प्रदेश कार्यालयले दाल र तेलको हकमा कति रुपियाँ अनुदान दिनेभनि परिपत्र नआएको’’, उहाँले बताउनुभयो ।
यता नागरिक अभियान्ता रुपबहादुर मल्लका अनुसार जिल्लाका नागरिकको सहजताको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रीय र प्रदेश कार्यालयले यथासक्दो छिटो तेल र दालमा अनुदान तोकि बिक्री गर्न उहाँले सुझाव दिनुभएको छ ।