काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले प्राप्त जनमतको सम्मान गर्दै संविधानको परिधिभित्र रहेर काम गर्न तथा लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउन नेतृत्वलाई सुझाव दिएका छन्।
शुभकामना मन्तव्यका क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले छोटो समयमै प्रविधिको प्रभावकारी प्रयोग र जनविश्वास हासिल गरेर रास्वपाले प्राप्त गरेको सफलतालाई नेपाली राजनीतिक इतिहासको नयाँ परिवर्तनका रूपमा व्याख्या गर्नुभयो। उहाँले रास्वपालाई वैकल्पिक राजनीतिक अभियानको महत्वपूर्ण उपलब्धि भन्दै सत्य र न्यायको पक्षमा दृढ रहन आग्रह गर्नुभयो।
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले सरकार गठन भएको सय दिन नपुग्दै रास्वपा नेतृत्वका केही निर्णय र गतिविधिमाथि प्रश्न उठ्न थालेको उल्लेख गर्नुभयो। उहाँले न्यायपालिका, संसद् र राष्ट्रपतिजस्ता लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रयास भए जनताबाट प्राप्त समर्थन दीर्घकालीन रूपमा कायम नरहन सक्ने चेतावनी दिनुभयो।
नेकपाका नेता वर्षमान पुनले भ्रष्टाचार नियन्त्रण र सुशासनका विषयमा रास्वपासँग समान सोच रहेको बताउँदै सरकारका कदमहरू विधिसम्मत र संविधानसम्मत हुनुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपालाई प्राप्त जनमतभित्र राजसंस्थाको पक्षमा रहेका मतदाताको समेत समर्थन रहेको दाबी गर्दै जनताको अपेक्षालाई निराशामा परिणत हुन नदिन आग्रह गर्नुभयो।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानका कमजोरी र अपूर्णतालाई सुधार गर्दै विभेदमा परेका समुदायका अधिकार सुनिश्चित गर्न संविधान संशोधनको जिम्मेवारी पूरा गर्न रास्वपालाई सुझाव दिनुभयो।
जनमत पार्टीका अध्यक्ष सीके राउतले जेन–जी आन्दोलनको भावना र शहीदहरूको सपना कहिल्यै नबिर्सन तथा जनमतबाट विचलित नहुन आग्रह गर्नुभयो।
प्रथम महाधिवेशनमार्फत नीति र नेतृत्वको नयाँ दिशा तय गर्न जुटेको रास्वपालाई अन्य प्रमुख राजनीतिक दलहरूले जनभावना, सुशासन र लोकतान्त्रिक मूल्य-मान्यतालाई केन्द्रमा राखेर अघि बढ्न सामूहिक सन्देश दिएका छन्।








