Logo

दरबारमार्गको यसरी फेरिँदैछ स्वरुप



काठमाडौँ, २३ मंसिर । काठमाडौं महानगरपालिकाले दरबारमार्गलाई ठाउँअनुसारको पहिचान दिनेगरी सौन्दर्यीकरण गर्ने भएको छ । संघीय राजधानीका मुख्य क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा कामपाले दरबारमार्गको सौन्दर्यीकरण गर्न लागेको हो ।

त्यसको निम्ति बुधबार दरबारमार्गमा कामपा सार्वजनिक निर्माण विभाग निर्देशक रामबहादुर थापासहित वडा कार्यालयसहितको बैठक बसेको थियो । बैठकमा नामअनुसारको क्षेत्रको परिचान गर्न सौन्दर्यीकरण अपरिहार्य रहेकोले आवश्यकताको आधारमा बजेट व्यवस्थापन गर्ने गरी सौन्दर्यीकरण गरिने सम्बन्धमा छलफल भएको थियो ।

सार्वजनिक निर्माण विभागका निर्देशक थापाका अनुसार दरबारमार्गमा प्रविधिमैत्री फुटपाथ निर्माण, ढल व्यवस्थापन, पार्किङ व्यवस्थापन डिस्प्ले बोर्ड राखने, वृक्षरोपण गर्नेलगायतका योजना बनेको छ ।

उनले भने, रेलिङ निर्माण गर्नेछौं, सवारी साधनको व्यवस्थापन गर्न भूमिगत तलामा अनिवार्य पार्किङ गर्ने व्यवस्था मिलाउन लागेका छौं । यसअघि कामपाले न्युरोड क्षेत्रमा कुमारी र काण्ठमण्डपको आकृति सहितको रेलिङ राखेको थियो ।

दरबारमार्गमा नारायणहिटी दरबारको झल्को आउनेगरी रेलिङ राख्ने तयारी गरेको छ । राजधानीको सबैभन्दा व्यस्त बजारको रूपमा रहेको दरबारमार्गको विकास गर्न स्थानीय सुधार समिति, कामपा र वडा कार्यालयको सहभागिता रहनेछ ।

कामपाले हाल सो क्षेत्रको डिजाइन तयार गरिरहेको छ । थापाले सो क्षेत्रको नक्साङ्कन गर्ने र सुझाव लिने काम भइरहेको जानकारी दिए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्