Logo

पत्रकार किशोर श्रेष्ठ पक्राउमा उपसभामुख रुवि कुमारीको अशाेभनीय स्टाटस, आलोचनापछि मध्यराति हटाइन्



काठमाडौं, २८ साउन । वरिष्ठ पत्रकार एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेलगत्तै सामाजिक सञ्जालमार्फत अशोभनीय टिप्पणी गरेकी प्रतिनिधिसभाकी उपसभामुख रुवि कुमारी ठाकुरले उक्त स्टाटस मध्यराति हटाएकी छन्।

बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। गोपनीयता भङ्ग हुने गरी र व्यक्तिगत चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पत्रकार श्रेष्ठ पक्राउ परेलगत्तै उपसभामुख ठाकुरले सामाजिक सञ्जालमा श्रेष्ठले महिलाहरूको चरित्र हत्या गरी आत्महत्यासम्म गर्न बाध्य पारेको भन्दै पक्राउको समर्थनमा कडा टिप्पणी गरेकी थिइन्।

उनले स्टाटसमा लेखेकी थिइन्, “यो श्रीसा कार्कीलाई आत्महत्या गराउने र कयौँ युवतीलाई आत्महत्या दुरुत्साहन गर्ने पत्रकारको भेषमा राक्षस नै हो। यसले कयौँ महिला दिदीबहिनीको चरित्र हत्या गरेको छ। यसको जनआस्था पत्रकार आचारसंहिताविपरीत रहेको छ। यो राक्षसलाई के भन्ने ?????”

संसद्को उपसभामुखजस्तो गरिमामय र तटस्थ पदमा रहेको व्यक्तिले अनुसन्धानकै क्रममा रहेको विषयमा सामाजिक सञ्जालमार्फत यस्तो अशोभनीय र उत्तेजक टिप्पणी गरेपछि चौतर्फी आलोचना भएको थियो। सर्वत्र आलोचना र विरोध भएपछि उनले मध्यराति आफ्नो फेसबुकबाट उक्त विवादित स्टाटस हटाएकी हुन्।

 

प्रतिक्रिया दिनुहोस्