Logo

बिर्तामोडको बडी ग्यारेजमा आगलागी, एक जनाको जलेर मृत्यु



झापा, ५ कार्तिक । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएको छ भने एक जनाको जलेर मृत्यु भएको छ ।

बिहीबार बिहान करिब ४ः१० बजे भएको आगलागीमा परी क्यान्टिनमा काम गर्ने ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार, बिर्तामोड नगरपालिका–४ निवासी रवि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको थियो ।

ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित क्यान्टिनमा आगलागी हुँदा गौरीगञ्ज गाउँपालिका–२ निवासी तामाङको ज्यान गएको हो ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी, ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्सको गोदाममा समेत सामान्य आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्