Logo

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, बैठक सञ्चालन हुन नदिने विपक्षीको अडान



काठमाडौं, २७ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर जारी राजनीतिक विवादका बीच संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर संसदबाट माफी नमागेसम्म बैठक सञ्चालन हुन नदिने अडान कायम राखेकाले आजको बैठक पनि प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

यसअघि पनि यही विषयलाई लिएर विपक्षी दलहरूले पटक–पटक संसद अवरुद्ध गर्दै आएका छन्, जसका कारण प्रतिनिधिसभाको नियमित कामकारबाही प्रभावित हुँदै आएको छ।

बैठक सुचारु भएमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। त्यसपछि राजस्व तथा व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ।

यस्तै, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूको मनोनयनबारे जानकारी गराउने तथा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ सम्बन्धी जानकारी सभालाई दिने कार्यक्रम छ।

त्यसैगरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभाबाट आएको ‘चलचित्र विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्