Logo

भारतीय र चिनियाँ राजदूतसँग प्रधानमन्त्री बालेनको छुट्टाछुट्टै भेटवार्ता हुँदै



काठमाडौं, २४ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग सोमबार छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी, सोमबार दिउँसो ३ बजे चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्ने तय भएको छ ।

प्रधानमन्त्री नियुक्त भएपछि शाहले यसअघि विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक रूपमा भेटवार्ता गरेका थिए । गत चैत २५ गते भएको सामूहिक भेटमा राजदूत तथा नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रधानमन्त्री शाहले सुरुवाती चरणमा विदेशी कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेटवार्ता नगर्ने नीति लिएको बताइएको थियो । तर, पछिल्लो समय उहाँले विदेशी उच्च अधिकारीसँग एक्लाएक्लै भेटवार्ता सुरु गर्नुभएको छ ।

गत असार २३ गते प्रधानमन्त्री शाहले एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नुभएको थियो ।

उक्त भेटमा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार तथा पूर्वाधार विकासका विषयमा छलफल भएको थियो ।

त्यसपछि प्रधानमन्त्री शाहले नेपालका दुई प्रमुख छिमेकी मुलुक भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लाग्नुभएको हो । भेटवार्तामा द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्