Logo

मेची भन्सारको राजस्व सङ्कलनमा सुधार, एक वर्षमै १ अर्ब ७४ करोड वृद्धि



काठमाडौं, २२ साउन । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा निर्धारित राजस्व लक्ष्यको ९३.३० प्रतिशत हासिल गरेको छ । पछिल्ला चार आर्थिक वर्षको तथ्याङ्क हेर्दा भन्सार कार्यालयको लक्ष्य प्राप्ति दर निरन्तर उकालो लागेको देखिएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । सो अवधिमा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन भएको छ ।

यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब रु १ अर्ब ७४ करोड ६० लाख बढी हो ।

आर्थिक वर्ष २०८१/८२ मा मेची भन्सारलाई रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलनको लक्ष्य दिइएको थियो । त्यस वर्ष रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन गर्दै कार्यालयले लक्ष्यको ९१.८६ प्रतिशत हासिल गरेको थियो ।

त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व सङ्कलन भएको थियो । उक्त वर्ष लक्ष्य प्राप्ति दर ७८.४० प्रतिशत थियो ।

आर्थिक वर्ष २०७९/८० मा कार्यालयको राजस्व लक्ष्य रु २० अर्ब २४ करोड १८ लाख ३८ हजार थियो । सो वर्ष रु १४ अर्ब ४ करोड ५९ लाख २० हजार राजस्व सङ्कलन भएको थियो । लक्ष्यको तुलनामा यो ७०.२१ प्रतिशत हो ।

चार वर्षमा २३ प्रतिशतभन्दा बढी सुधार

चार आर्थिक वर्षको तथ्याङ्कले मेची भन्सारको लक्ष्य प्राप्ति दरमा उल्लेख्य सुधार भएको देखाउँछ । आर्थिक वर्ष २०७९/८० मा ७०.२१ प्रतिशत रहेको लक्ष्य प्राप्ति दर आर्थिक वर्ष २०८२/८३ मा बढेर ९३.३० प्रतिशत पुगेको छ ।

यस अवधिमा वार्षिक राजस्व लक्ष्यमा केही उतारचढाव देखिए पनि वास्तविक राजस्व सङ्कलन भने पछिल्ला वर्षमा बढ्दै गएको छ । आर्थिक वर्ष २०८२/८३ मा सङ्कलित राजस्व अघिल्लो वर्षको तुलनामा करिब रु १ अर्ब ७४ करोडले बढेको कार्यालयले जनाएको छ ।

विसं २०१३ मा स्थापना भएको मेची भन्सार कार्यालय नेपालका प्रमुख तथा रणनीतिक महत्वका भन्सार कार्यालयमध्ये एक हो ।

कार्यालयका सूचना अधिकारी मांकल राईका अनुसार मेची भन्सार कार्यालय मातहत विगतमा छ वटा छोटी भन्सार कार्यालय रहेकामा हाल गौरीगञ्ज छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा रहेको छ । अन्य छोटी भन्सार कार्यालय हाल सञ्चालनमा छैनन् ।

मेची भन्सार नाकाबाट भारतसँगै चीन, बङ्गलादेश, भुटानलगायत मुलुकसँग निकासी–पैठारी हुँदै आएको छ । व्यापारिक गतिविधिसँगै भन्सार राजस्व सङ्कलनमा समेत कार्यालयले पछिल्ला वर्षमा सुधार गर्दै आएको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्