काठमाडौं, २० वैशाख । सरकारले प्रमाणिकरणका लागि पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेका छन् ।
राष्ट्रपति पौडेलले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ लाई पुनर्विचारका लागि सरकारसमक्ष फिर्ता पठाएका हुन् ।
राष्ट्रपतिले यसअघिको नजिर उल्लेख गर्दै विधेयक फिर्ता पठाएको उल्लेख छ । यसअघि २०८२ असार २५ गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि पेस भएको थियो। त्यतिबेला राष्ट्रपतिले उक्त विधेयक सन्देशसहित फिर्ता पठाएका थिए ।
यसैगरी अघिल्लो अध्यादेश जारी नभएको अवस्थालाई पनि राष्ट्रपतिले फिर्ता पठाउनुको कारण उल्लेख गरेका छन् ।
तत्कालीन मन्त्रिपरिषद्को २०८२ मंसिर २ गतेको निर्णयबाट प्राप्त सोही विषयको पहिलो संशोधन अध्यादेश पनि जारी नभएको अवस्थालाई राष्ट्रपतिले स्मरण गराएका हुन् ।






