काठमाडौं, ४ जेठ । आईसीसी विश्वकप लिग–२ मा लगातार दुई फराकिलो जित दर्ता गर्दै नेपाल अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिका र स्कटल्यान्डलाई पराजित गरेको हो ।
आज भएको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो । यसअघि अमेरिकाविरुद्ध ९ विकेटको प्रभावशाली जित निकालेको थियो । लगातार दुई जितपछि नेपालको नेट रनरेटमा पनि उल्लेखनीय सुधार आएको छ ।
हालसम्म २७ खेल खेलेको नेपालले १० जितसहित २२ अंक जोडेको छ । समान २२ अंक भए पनि नेट रनरेटका आधारमा नेपालले नामिबियालाई पछि पार्दै पाँचौँ स्थान कब्जा गरेको हो ।
यसअघि सातौँ स्थानमा रहेको नेपाल पछिल्ला पाँच खेलमध्ये चारमा विजयी भएको छ । घरेलु मैदानमा यूएईलाई दुईपटक र ओमानलाई एकपटक हराएको नेपालले अहिले उत्कृष्ट लय समातेको देखिएको छ ।
३१ खेलबाट ३८ अंक जोडेको स्कटल्यान्ड शीर्ष स्थानमा छ भने अमेरिका ३६ अंकसहित दोस्रो स्थानमा रहेको छ । ओमान तेस्रो र नेदरल्याण्ड्स चौथो स्थानमा छन् ।
नेपालको यात्रा अझै चुनौतीपूर्ण:
लिग–२ को शीर्ष ६ भित्र रहने टोलीले एकदिवसीय मान्यता जोगाउने भएकाले नेपालको लक्ष्य सेफ जोनमा स्थान सुरक्षित गर्नु हो । शीर्ष ४ टोलीले भने सिधै २०२७ विश्वकप क्वालिफायरमा स्थान बनाउनेछन् ।
नेपालले अब ९ खेल खेल्न बाँकी छ । शीर्ष ४ मा पुग्न नेपालले बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अधिकांश जित निकाल्नुपर्नेछ । साथै अन्य टोलीको नतिजाले पनि नेपालको सम्भावनामा प्रभाव पार्नेछ ।
नेपाली टोलीको पछिल्लो प्रदर्शनले समर्थकमाझ नयाँ आशा जगाएको छ ।







