काठमाडौँ, २२ असार । सरकारले प्रतिनिधिसभामा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने तयारी थालेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा दर्ता भएको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएर नयाँ ल्याउने निर्णय गरेको हो । प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएसँगै नयाँ विधेयक दर्ताको तयारी भएको छ, एक मन्त्रीले भने ।
संसद्मा दर्ता भएको नागरिकता विधेयकका लगभग सबै विषय टुंगिए पनि वैवाहिक अङ्गीकृत नागरिकता पाउने अवधिबारे कांग्रेस र मधेसवादी दलबीच फरक धारणा छ । एमाले स्थायी कमिटी सदस्य एवं सांसद विजय सुब्बाले नागरिकता विधेयकमा बुहारीले नागरिकता पाउने प्रावधानको विषयमा मतभिन्नता रहेकाले सरकारले विधेयक फिर्ता लिएको आशंका गरे ।
वैवाहिक अंगीकृत नागरिकताको विषयमा ७ वर्षे प्रावधान राखिएको छ । त्यो विषयमा भारत रिसाउँछ कि भन्ने डर कांग्रेसलाई छ, त्यही डर हटाउन सो प्रावधान झिकेर नयाँ विधेयक पेस गर्न अहिलेको विधेयक फिर्ता गरेको हुनसक्छ, सुब्बाले भने । आजको नागरिक दैनिकमा समाचार छ ।







