काठमाडौँ, ३० चैत । शेयर बजार बुधवार ३० अङ्कभन्दा धेरैले बढेको छ ।
मङ्गलवार ३४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव २४ अङ्कले बढेर दुई हजार चार सय १५ दशमलव २४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा, उत्पादन, विकास बैंक र होटल तथा पर्यटनको समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज शेयर बढे पनि कारोबार रकम भने घटेको छ । हिजो एक अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज दुई सय २९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ४७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।