Logo

सरकार जनताको अवस्था बदल्न प्रतिवद्ध छ: प्रधानमन्त्री



काठमाडौँ, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन् ।

बुधवार ६१ औं इन्जिनियर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तिव्रताकासाथ अघि बढाइरहेको उल्लेख गरेका थिए ।

उनले त्रुटी एउटाले गर्ने र आरोप अर्कोलाई लाग्नेस्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउने र बनेका पूर्वाधार संरचना पनि नटिक्ने र उचित सदुपयोग नहुने विकासको प्रविधिलाई बदल्नुपर्ने बताए ।

‘आन्तरिक श्रोत, साधन कम भएको हाम्रो देशमा विकास बजेट चालू खर्चको तुलनामा त्यसैपनि न्युन छ । त्यो बजेट पनि हामी समयमा खर्च गर्न सकिरहेका छैनौँ । विकास बजेटको ठूलो हिस्सा आषाढमा खर्च हुन्छ । आषाढमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउँछ, बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ श्रोतको पनि सदुपयोग नहुने यो विकासको प्रविधिलाई बदल्नैपर्छ। यसमा रहेका कानूनी, संरचनागत र प्रक्रियागत समस्या र त्रुटीमा सरकार सहजीकरण गर्न सरकार तत्पर छ। इन्जिनियर, प्राविधिक विषयसँग सम्बन्धित विषय, न्युनतम पारिश्रमीकसँग सम्बन्धित विषयमा गम्भीरतापूर्वक छलफल गरी छिटै एउटा महत्वपूर्ण निर्णयतर्फ जाँदैछौँ’, उनले भने, ‘वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध छ । सुशासनको लक्ष्य हाँसिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तिब्रताका साथ अघि बढाइरहेको छ। भ्रष्टाचारको कुरा गर्दैगर्दा त्रुटी एउटाले गर्ने र आरोप अर्कोलाई लाग्नेस्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, केही ऐनमा सुधार गर्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्