Logo

पुरुष र महिला, समान काम असमान पारिश्रमिक



झापा, १३ भदौ । सडक, घर लगायतका निर्माण कार्यमा संलग्न महिलाले पूरुष सरह काम गरेपनि ज्यालामा विभेद हुने गरेको छ । निर्माणको काममा ढुंगा, गिटी, बालुवा बोक्ने काममा पुरुष भन्दा महिलाको संख्या बढी छ । अफ्ठ्यारो र गाह्रो काम भएपनि ज्याला भने महिला कामदारले अझ कम पाउने गरेका छन् ।

बिर्तामोड नगरपालिका ९ कोलाटोली की पुष्पा माझीले निर्माण क्षेत्रमा सहयोगीको रुपमा काम थालेको १० वर्षभन्दा बढी भयो । उनी पुरुषसरह नै बालुवा, गिटी, ईंटा बोक्छिन् । तर, ज्याला भने पुरुषसरह पाउँदिनन् । उनले ८ घण्टासम्म काम गर्दा दिनमा ५ सय रुपैयाँ मात्र पाउछिन् । जबकि उनकै बराबर काम गर्ने पुरुषले ७ सय देखि १५ सय रुपैयाँसम्म हात पार्छन् ।

‘दिनभर हामि सबै सगैँ बराबर काम गर्छौ तर पूरुष र महिलाको ज्याला फरक तोकेको छ यति मै चित्त बुझाउछौ’ उनले भनिन् , ‘पुरुषले अलिक वर्ष काम गरे पछि हेड मिस्त्रीसम्म बढूवा हुन्छन् तर हाम्रो जति वर्षको अनुभव भए पनि काम र ज्याला यति नै हो ।’

कोलाटोलीकै अनिता साह बिगत एक वर्ष देखी निर्माण क्षेत्रमै संलग्न छिन् । तर, अनुभव कम भएको बहानामा ठेकेदारले सरकारले तोकेभन्दा कम ज्याला दिन्छन् । सरकारले ८ घण्टाको दैनिक ज्याला न्युनतम् ५ सय रुपैयाँ तोकेको छ तर उनले दैनिक ४ सय रुपैयाँ मात्र पाउँछिन् ।

पुरुषसँगसँगै बेल्चा चलाउने, पिल्लर बुन्ने, ढलानका लागि आवश्यक गिट्टी, बालुवा घोल्ने, पिल्लर भर्ने र घरको गारोसमेत सँगै खटिएर लगाउँदा लगाउँदै बिर्तामोडकी हिनदा राजवंशीको ६ बर्ष बितिसक्यो । घर खर्च चलाउन, किस्ता तिर्नका लागि सहज हुने भएकाले यस कामलाई नै निरन्तरर्ता दिँदै आएको उनले बताईन् । कुनै सिजनमा पनि काम ठप्प नहुने, १५ दिनमै पैसा आउने भएकाले पुरुषलाई भन्दा कम दिए पनि काममा सन्तुष्ट रहेको उनको भनाई छ ।

हेर्दा सँगसँगै काम गरेको देखिए पनि महिलाले पुरुष भन्दा हलुका काम मात्र गर्ने भएकाले पारिश्रमिकमा अन्तर भएको बताँउछन्, विगत १५ वर्ष यता ठेक्का पट्टाको काम गर्दे आएका ठेकेदार कमल राजवंशी । उनले भने ‘महिलालाई गह्रौ काम लगाउने कुरा पनि भएन । अप्ठ्यारो, गाह्रोकाम सबै पुरुषले गर्छन् त्यसैले पुरुषले बढि पारिश्रमिक पाउँछन् ।’ सरकारले तोके जति किन दिनुहुन्न ? भन्ने प्रश्नमा, सबैतिर त्यतिनै पारिश्रमिक चलिआएकोले आफूले त्यस भन्द बढि दिन नसक्ने बताए ।

सरकारले तोकेभन्दा कम र पुरुषसरह काम गर्दा पनि ज्यालामा विभेद भोग्ने यी महिला प्रतिनिधिपात्र मात्र हुन् । संविधानले समान कामको, समान ज्याला हुनुपर्ने व्यवस्था गरे पनि महिला मजदुर चुप लागेर विभेद खेप्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्