Logo

खोलाको बगर धितो, बैंक अफ काठमाडैँको ४ करोड ६० लाख डुब्यो



झापा, २१ कात्तिक । नक्कली कागजात तयार गरी बैंक अफ काठमाडौँबाट चार करोड ६० लाख ऋण निकाली ठगी गर्ने छ जना कारागार चलान भएका छन् ।

बैंकिङ कसुर र सरकारी छाप किर्तेमा सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनीयर भेषराज खत्री, मोरङ बेलबारी–३ का इञ्जिनीयर कर्ण चामलिङ, मकवानपुर हेटौँडा–४ घर भई काठमाडौँ–३१ नयाँ बानेश्वरमा बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौँ–३ महराजगञ्ज चक्रपथका भुपेन्द्र श्रेष्ठ, चितवन भण्डारा–९ घर भई हाल काठमाडौँ नयाँ बानेश्वरमा बस्दै आएका ऋषिश्वर थपलिया, उदयपुर गाईघाट घर बताउने हाल काठमाडौँ–७ चाबहिलमा बस्दै आएका कृष्ण कार्की पक्राउ परेका हुन् ।

उनीहरुले झापा स्थित बिरिङ खोलाको बगरमा रहेको जग्गालाई राजमार्गसँग जोडिएको नक्कली नक्सा बनाएर बैंकबाट ऋण लिई ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो९सिआईबी०ले पिशेष अदालतमा बैंकिङ कसुरमा मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालत काठमाडौँले सुरेन्द्र श्रेष्ठ, भुपेन्द्र श्रेष्ठ, ऋषिश्वर थपलिया र कृष्ण कार्कीलाई कारागार चलान गर्ने अदेश दिएको थियो । झापामा किर्ते मुद्दा दर्ता भएकाले अनुसन्धानका लागि उनीहरुलाई बिहिवार झापा जिल्ला कारागारमा चलान गरिएको हो । विशेष अदालतले मागेको डेढ करोड धरौटीमा छुटेका इञ्जिनीयर भेषराज खत्रीलाई प्रहरीले तत्काल पक्राउ गरी झापा ल्याएको छ । खत्रीपनि किर्ते मुद्दामा जिल्ला प्रहरी कार्यालय झापाको हिरसतमा छन् भने अर्का इन्जिनियर कर्ण चामलिङ्ग बिएण्डसी हस्पिटलमा छन् । चामलिङ्ग कारागार चलान भएका व्यक्ति हुन् ।

नक्कली कागजात बनाएर काठमाडौँ–३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि बैंकबाट रु चार करोड ६० लाख कर्जा निकालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

“बैंकिङ कसुर र सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गरेको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो”, प्रवक्ता श्रेष्ठले भने, “राजमार्गसँगै जोडिएको जग्गाको नक्कली नक्सा बनाएर खोलाको बगर धितो राखेको पाइयो ।”

उनीहरुले झापा कनकाई–९ स्थित कित्ता नं ३५९६ को ०–२–१० बिघा र कित्ता नं ३२७१ को ०–२–० बिघाको जग्गाको कीर्ते नक्सा तयार गरी खोला बगरको जग्गालाई राजमार्गमा जोडिएको जग्गा देखाएर ठगी गरेको उनले बताए ।

उनीहरुविरुद्ध गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय झापामा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्