Logo

घर घरमा किन हुन्छ महिला हिंसा ?



निर्मला पन्त जस्ता धेरै छोरीहरु सामूहिक बलात्कारको शिकार भए । मुस्कान खातुन जो एसिड आक्रमणमा परिन् । भोजपुरमा एक महिलाको दुवै स्तन काटियो । दाईजो नल्याएको भन्दै महिलामाथि कुटपिटका घटना दिनहुँ हुन्छन् । कयौँ महिलालाई बोक्सीको आरोपमा मलमूत्र ख्वाइन्छ । बालिका बलात्कार दैनिक आउने समाचारले मुटु चिरिन्छ । नेपाल मात्र होइन, संसारका विकसित देशमा पनि महिलामाथि हुने हिंसा निरन्तर बढ्दो छ ।

अझ दिनहुँजसो पत्रपत्रिका, रेडियो, टिभी र सामाजिक सञ्जालमा महिलामाथि हुने हिंसाका खबर तारन्तार आउने गर्दछन् । यसले हाम्रो समाजमा महिला कति असुरक्षित छन् भन्ने कुरा पुष्टि हुन्छ । महिला भएकै कारणले कति बेला कहाँ ? कुन हिंसाको काल कोठरीमा पुगिने हो भन्ने त्रासमा बाँच्नु पर्ने अवस्थामा छन् महिलाहरू । महिलामाथि हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष ख्वाउने, एसिड खन्याएर कुरूप बनाउने जस्ता अपराध दैनिक घर–घरमा हुने गरेका छन् । महिला भेदभाव र दुरव्यवहारका शिकार हुन बाध्य छन् । घर र समाजमा संस्कार, संस्कृति र परम्पराका नाममा महिलाको आत्म सम्मानमा चोट पूर्याउने र अधिकारबाट वञ्चित गर्ने काम हुँदै आएको छ ।

समाजमा हुने यस्ता घटना केही उदाहरण मात्र हुन् । समाजमा महिला सिंसाका हजारौं घटना भइरहेका छन् । महिलामाथि हुने हिंसाका १० प्रतिशत घटनामात्र बाहिर आउने अनुमान गरिएको छ । हिंसाका ९० प्रतिशत घटना सामाजिक इज्जत, प्रतिष्ठा र घरपरिवारको डरका कारण बाहिर आउँदैनन् । पीडित महिला इज्जत जाने त्रासले हिंसाका घटना सार्वजनिक गर्न चाहँदैनन् । यद्धपी, बिगतको तुलनामा महिला हिंसाका घटनामा उजुरी गर्ने क्रममा वृद्धि भएको छ ।

नेपालमा ठूल ठूला राजनीतिक परिवर्तन भए । तर, महिला हिंसाको सवालमा मानिसहरुको सोँचमा परिवर्तन आउन सकेको छैन । समाजका परम्परागत सोचले राजनीतिक परिवर्तनलाई बदल्न सकेको छैन । महिला हिंसा समाजको एउटा त्यस्तो रूप हो, जसले महिलाका सामान्यभन्दा सामान्य अधिकार पनि लुट्ने गर्दछ ।
यतिबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदाय महिला हिंसा विरुद्ध सडकमा छन् । महिला हिंसा एउटा प्रत्यक्ष सरोकारको विषय बन्न पुगेको छ । नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू अहिलेसम्म पनि विभेद, असमानता, अन्याय र विभिन्न खालका हिंसाको शिकार भैरहेका छन् ।

संसारका हरेक महिला जीवनको कुनै कालखण्डमा कुनै न कुनै प्रकारको शारीरिक, मानशिक र यौनजन्य हिंसाको शिकार भएका छन् । अर्कातर्फ धेरै पुरुष महिलाको संवेदनामा ठेस पुग्ने कार्यमा संलग्न हुने गर्दछन् । महिला र पुरुष बीच विद्यमान सामाजिक विभेद नै हिंसाको जड हो ।

महिला हिंसा गर्नेलाई हुने गरेको फितलो कारबाहीको कारण महिला हिंसाले प्रश्रय पाइरहेको छ । महिला हिंसामा संलग्न जो कोही कानुनी सजायको भागिदार हुनु पर्दछ । कानुनी कारवाहीका कारण महिला हिंसा गर्ने कुरा सोच्न पनि नसकोस् ।
महिलाको नेतृत्व धेरै ठाउँमा सफल हुँदै गएको छ । स्कुल, कलेज, अस्पताल, प्रशासन, राजनीति, व्यवसाय आदिमा महिलाले आफ्नो कुशलता देखाउन थालेका छन् । तर, समाजमा अझै केही कुरीति छन्, जसले महिलालाई अघि बढ्न रोकिरहेको छ ।

दाइजो प्रथा, छाउपडी, उच्च शिक्षामा बाधा, अर्काको घर जाने जात भनि गरिने हेला, नारी विरोधी परिपाटी र सोँचलाई धक्का दिँदै आफू सशक्त हुन जरुरी छ । भनिन्छ, एउटा बाबु शिक्षित भए ऊ मात्र शिक्षित हुन्छ, तर एउटी आमा शिक्षित भए परिवार नै शिक्षित हुन्छ । नारीको महत्व बुझाउने यो भन्दा अर्को भनाइ खोजिरहनै पर्दैन । यो घर, परिवारको कुरा मात्र होइन । यो त विम्ब हो, नारीले समाजलाई परिवर्तन गर्न सक्छिन् भन्ने कुराको ।

विपरित लिङ्गि प्रति आकर्षित हुनु स्वभाविक हो तर, आकर्षणको अर्थ हिंसा हैन । मायामा कर, बल, तर्क अनि शरीर होइन, मन जित्न सक्ने पुस्ताको खाँचो छ । नयाँ पुस्तामा लैङ्गिक समानताका धारणाको विजारोपण गर्न आवश्यक छ । शरीर हैन, मन जित्ने कला सिकाउन जरुरी छ । अनि यो सिक्न जरुरी छ कि, नारी पुरुषसँगै हिंड्ने समान समाज आजको आवश्यक्ता हो ।

जसरी पार्वती विनाका शिवको अस्तित्व गौण छ, लक्ष्मी विनाका विष्णु आधी छन्, राधा विनाका कृष्णको कथा रोमाञ्चक हुन्न, त्यसै गरि नारीको प्रेम र आत्मियता विना पुरुष र पुरुषको साथ र सम्मान विना महिला पूर्ण हुदैनन् ।

प्रतिक्रिया दिनुहोस्