Logo

खर्च धान्न शरीर बेच्न बाध्य छन् इरानका युवायुवती



काठमाडौँ, ५ चैत । “मैले जे गरिरहेकी छु त्यसप्रति म लज्जित छु, तर मसँग के विकल्प छ र” ?  तेहरानकी एकल महिला नेदा भन्छिन् । दिनमा उनी केशविन्यासको काम गर्छिन् तर हातमुख जोड्ने मेलो गर्न राति उनी यौनकर्मीका रूपमा देहव्यापार गर्न बाध्य भएको बताउँछिन् ।

“म यस्तो देशमा छु जहाँ महिलालाई सम्मान गरिँदैन, अर्थतन्त्र खस्किँदो छ र सबै कुराको मूल्य दिनदिनै बढिरहेको छ”  उनी भन्छिन् । “म एकल आमा हुँ । मैले मेरो छोराको हेरचाह गर्नुपर्छ । यौनकर्मले राम्रो कमाइ हुन्छ । म अहिले सहरमा एउटा सानो घर किन्न खोज्दैछु । यो मेरो जीवनको दुःखद सत्य हो । म आफ्नो आत्मा बेचिरहेकी छु ।”

सन् २०१२ मा इरानले वेश्यावृत्तिलाई रोक्न राष्ट्रिय अभियान घोषणा गर्‍यो । तर गैरसरकारी संस्था र अध्ययनकर्ताहरूको प्रतिवेदनले वेश्यावृत्तिका लागेका मानिसहरूको सङ्ख्या लगातार वृद्धि भएको देखाउँछ ।

इरानको कट्टर धार्मिक शासनले लामो समयदेखि आधिकारिक रूपमा इरानमा यौनकर्मी रहेको अस्वीकार गर्छ । त्यहाँका निकायहरूले वेश्यावृत्तिलाई युवाहरूलाई बिगार्न बनाइएको पश्चिमा योजना भएको आरोप लगाउँछन्, बेइमान पुरुषका लागि पनि महिलालाई दोषी देखाउँछन् ।

अनौपचारिक तथ्याङ्कले इरानमा यौनकर्मीको उमेर घटिरहेको देखाउँछ । विभिन्न गैरसरकारी संस्थाका तथ्याङ्कले सन् २०१६ मा वेश्यावृत्तिमा १२ वर्षका बालिका पनि रहेको देखाउँछ ।

लागुपदार्थ दुर्व्यसनी महिलाहरूको उपचार गर्ने अफ्ताब सोसाइटीले सन् २०१९ मा तेहरानमा मात्रै १०,००० महिला यौनकर्मी रहेको हुनसक्ने र तीमध्ये ३५ प्रतिशत विवाहित भएको बताएको छ । तेहरान विश्वविद्यालयका प्राध्यापक अमिर मोहमद हारिचीले त्यो सङ्ख्या दोबर हुनसक्ने बताए ।

इरानमा महिलाका लागि जागिरको कम अवसर र लैङ्गिक असमानताका कारण गरिबीको रेखामुनि रहेका धेरै महिलाहरू पैसाका लागि शरीर बेच्न बाध्य भएका छन् तर यो काममा ठूला जोखिम छन् ।

पुरुषहरूलाई इरानमा वेश्यावृत्ति गैरकानुनी भएको थाहा छ र यसका लागि महिलाहरूलाई गम्भीर सजाय भएको कारण उनीहरूले फाइदा लिन्छन्, तेहरानको एक विश्वविद्यालमा अध्ययनरत छात्रा मेहनाज भन्छिन् । “म शरीर सुम्पिँदा पैसा नदिइएको घटना मसँग धेरै पटक भएको छ । म केही गर्न सक्दिनँ ।” कहिलेकाहीँ वेश्यावृत्तिमा संलग्न हुने मेहनाज अन्य काम गरेर तेहरानमा बाँच्न गाह्रो हुने बताउँछिन् ।

सुखभोग विवाह
सन् १९७९ को इस्लामिक क्रान्तिपछि नयाँ सत्ताले धेरै यौनकर्मीलाई मृत्युदण्ड दियो अनि वेश्यालयहरू बन्द भए । महिलालाई यौनका लागि प्रयोग गर्ने कुरालाई कानुनी बनाउने प्रयासमा “जावाज अल-मुता” भनिने निश्चित अवधिसम्म कायम हुने विवाह प्रचलनमा थियो । सुखभोग विवाह पनि भनिने अस्थायी विवाहमा श्रीमती रहने अवधि र उसलाई दिइने क्षतिपूर्ति पहिल्यै तोकिन्छ । इरानको शिया इस्लामिक प्रणालीमा मुता विवाह कानुनी हुन्छ र यसलाई वेश्यावृत्ति मानिँदैन ।

यसको अभ्यास विश्वभरिबाट शिया धर्मावलम्बी आउने धार्मिक सहरहरू मशाद र कोममा बढी प्रचलित छ । सामाजिक सञ्जालमा आएका भिडिओहरूमा इराकी मानिसहरूले मसादमा यौनसाथी खोजिरहेको र अधिकारीहरूले उनीहरू अस्थायी विवाह गरिरहेको बताएको देखिन्छ ।

अहिले इरानमा मुता विवाहको सेवा दिने असङ्ख्य अनलाइन सेवा प्रदायकहरू टेलिग्राम र ह्वाट्सएपमा सरकारी स्वीकृति प्राप्त भन्दै प्रचार गरिरहेका छन् ।

वेश्यावृत्ति वृद्धिको एक प्रमुख कारण रहेको महँगी बढ्नुमा अमेरिकाले इरानमाथि परमाणु कार्यक्रमका लागि लगाएको आर्थिक प्रतिबन्ध हो । गत वर्षयता इरानमा मुद्रास्फीति दर ४८.९ प्रतिशत छ । बेरोजगारी बढेको छ र जागिर खाने धेरैका लागि तलब अपुग्दो छ ।

यसबीचमा इरानका प्रमुख सहरहरूमा २० देखि ३५ वर्षका पुरुष यौनकर्मीको सङ्ख्या पनि बढेको छ । त्यस्ता एक पुरुष २८ वर्षे कामयार सुपरमार्केटमा क्याशिअर छन् । उनी गत वर्षसम्म बाबुआमासँग बस्थे र खर्चका लागि बुबाको भर पर्थे । अहिले उनको तेहरानमा अपार्टमेन्ट छ र उनी चाँडै नै बिदेसिने विचारमा छन् ।

“म सामाजिक सञ्जालमार्फत् आफ्ना ग्राहक भेट्छु, उनी भन्छन् । यी महिलाहरू सामान्यतया ३० देखि ५० वर्षका हुन्छन् । “मेरी एउटी ग्राहक ५४ वर्षकी थिइन् । उनीहरूले मलाई राम्रो व्यवहार गर्छन्, राम्रो पैसा दिन्छन् र म उनीहरूकै स्थानमा रात बिताउँछु । र म धेरै ग्राहक भेटिरहेको छु ।”

कामयार इन्जिनियर हुन् तर त्यो काममा आफ्नो भविष्य देख्दैनन् । “म सधैँ इन्जिनियर बन्न चाहन्थेँ । तर मलाई त्यो रूपमा यहाँ जागिर नै छैन, उनी भन्छन् । “राम्रो जागिर नभएकै कारण मैले प्रेमिकासँग बिहे गर्न पाइनँ ।”

“म अहिले जे गरिरहेको छु त्यसप्रति गर्व गर्न सक्दिनँ । हुर्किरहँदा मैले पैसाका लागि नचिनेको मान्छेसँग सुत्छु भनेर सपनामा पनि सोचेको थिइनँ । म लज्जित छु र यसले मेरो जीवन धान्छ । म यस्तो देशमा छु जहाँ भविष्य सोच्दा दुःख मात्रै देखिन्छ ।” स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्