Logo

उम्मेदवार छनोट गर्न काँग्रेसमा संसदीय समितिमा गठनमा ढिलाइ



काठमाडौँ, १० चैत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आकाङ्क्षी उम्मेदवारहरू पनि बढ्दै गएका छन् । अझ प्रमुख सत्ताघटक दल नेपाली काँग्रेसभित्र त एक पदका लागि दर्जनौँ नेता आकाङ्क्षी देखिएका छन् । देशभरबाट प्राप्त समाचार हेर्ने हो भने ७ सय ५३ स्थानीय तहको प्रमुखको मात्र आकाङ्क्षी नेता ७ हजारभन्दा बढी हुने अनुमान छ । त्यस्तै, आकाङ्क्षी उपप्रमुख र वडा अध्यक्षको सङ्ख्या त आवश्यकभन्दा २० औँ गुणा बढी छ ।

नेपाली काँग्रेसका उम्मेदवारबारे अन्तिम निर्णय र घोषणा गर्ने निकाय संसदीय समिति हो । काँग्रेसमा प्रतिनिधिसभा संसदीय समिति, जिल्ला संसदीय समिति, प्रदेश संसदीय समिति र केन्द्रीय संसदीय समिति गरी चार तहको संसदीय समितिहरू छन् ।

प्रतिनिधिसभा संसदीय समितिले स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यको उम्मेदवारको घोषणा गई भने जिल्ला संसदीय समितिले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवार अनुमोदन गर्छ । प्रदेश संसदीय समितिलाई नगरपालिका र उप–महानगरपालिकाको प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको अनुमोदन गर्ने अधिकार दिइएको छ ।

महानगरपालिकाको प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको अनुमोदन गर्ने अधिकार भने केन्द्रीय संसदीय समितिमा छ । काँग्रेसको चार तहको संसदीय समिति गठन गर्न बाँकी छ । यही चैत्र ११ गते आह्वान गरिएको केन्द्रीय समिति बैठकको प्रमुख एजेन्डा केन्द्रीय संसदीय समिति गठन रहेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्