Logo

रणनीतिक तेल भण्डारणबाट १० लाख ब्यारेल तेल निकाल्ने वाइडेनको घोषणा



अमेरिका, १८ चैत । अमेरिकी राष्ट्रपति जो वाइडेनले भण्डारणबाट दैनिक १० लाख ब्यारेल पेट्रोलियम निकालेर बिक्री गर्ने घोषणा गरेका छन् ।

रुसबाट पेट्रोलियम आपूर्ति बन्द गरेपछि अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य बढीरहेको छ, मूल्य नियन्त्रण गर्न र रुसी तेल आयात नहुँदा अभाव हुन नदिन रणनीतिक पेट्रोलियम भण्डारणबाट ६ महिनासम्म दैनिक १० लाख ब्यारेल पेट्रोलिम निकालिने बाइडेनले बताएको वासिङ्टन पोष्टले जनाएको छ ।

अमेरिकाले ४६ वर्षपछि भण्डारणबाट यतिधेरै परिमाणमा पेट्रोलियम बाहिर निकाल्न लागेको हो । रुसबाट तेल र ग्यास आयात बन्द गरेपछि मूल्य बढ्दा राष्ट्रपति बाइडेनको आलोचना भइरहेको थियो । बिहीबार भएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति वाइडेनले केही अमेरिकी कम्पनीले मौकाको फाइदा उठाउँदै पेट्रोलियममा उच्च नाफा कमाइरहेको तर यो नाफा कमाउने नभई सरकारसँग उभिएर समस्याको समाधान गर्ने समय भएको बताएका छन् ।

तेलको भाउ ठूलो अन्तरले तलमाथि हुन नदिन उपयुक्त कानुन बनाउन संसदले सहयोग गर्नुपर्ने पनि वाइडेनले बताए ।

वाइडेनको घोषणासँगै अमेरिकी बजारमा कच्चा तेलको मूल्य चार प्रतिशतले घटेको छ । अमेरिकाले दैनिक १० लाख ब्यारेल तेल भण्डारणबाट निकाल्दा अमेरिका मात्रै नभई विश्वभरको मूल्य नियन्त्रण गर्न सकिने अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्