Logo

‘अमेरिकाबाट आएको करोडौँ रुपैयाँ फुकुवा गरिदिन राष्ट्र बैंकका सदस्यले बार्गेनिङ गरे’



काठमाडौँ, २५ चैत । अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहको खातामा अमेरिकाबाट आएको करोडौँ रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गरेका छन् ।

शुक्रवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एन्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौँ रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर माग गरेको सूचना पाएको बताएका हुन् ।

उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाए । कुनै नागरिक समस्या परेर निवेदन दियो के रहेछ हेरिदिनुस् भन्दा मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु किन पुर्याइन्छ भनेर प्रश्न गरेका थिए । यस्ता कुराले अनुशासन हुँदैन भन्दै मन्त्री शर्माले रिपोर्ट गर्नुपर्ने सूचना रिपोर्ट नहुने तर गोप्य कुराहरु मिडियामा दिने काम भएको आरोप लगाए ।

‘राष्ट्र बैंकमा बदमासी भइराखेको छ, एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको तर आधिकारिक कुरा मलाई थाहा छैन’ उनले भने । यस्ता कुराहरु राष्ट्र बैंकका उच्च अधिकारीहरुले सच्याउनु पर्ने उनले बतए ।

प्रतिक्रिया दिनुहोस्