Logo

राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने



न्युयोर्क, १० वैशाख । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएको छ ।

उनी पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनलाई दुबै देशमा राष्ट्रपतिले स्वागत गर्ने जनाइएको छ । रुसमा गएका बेला उनले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्ने भएका छन् ।

महासचिव गुटेर्रेसका सहायक प्रवक्ता एरि कानेकोले दुवै जनासँग वार्ताका लागि उनी मस्को जान लागेको पुष्टि गर्नु भएको छ । दुवै जनासँग एकै दिन भेटवार्ता हुने पनि उनले स्पष्ट पारे ।

त्यसपछि उनी युक्रेन पुगेर त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । “युक्रेन भ्रमणका लागि पनि महासचिवले तयारी गर्नु भएको छ,” सहायक प्रवक्ता कानेकोले भने । गत मङ्गलबार महासचिव गुटेर्रेसले चार दिन बिदा दिन दुबै पक्षलाई अनुरोध गरेका थिए ।

उनले शान्ति प्रक्रिया अगाडि बढाउनका दुवै देशका उच्च अधिकारीहरूलाई अनुरोध गरी वार्ता मार्फत विवाद अन्त्य गर्न पहल गर्ने भएका छन् । युक्रेनमा उनले राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीलाई र विदेश मन्त्री दिमित्रो कुलेबालाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्